काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले वर्तमान सरकार जेन–जी पुस्ताको भावना र अपेक्षाअनुसार अघि बढ्न नसकेको आरोप लगाउनुभएको छ।
बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले सरकारमा रहेका प्रधानमन्त्री र गृहमन्त्रीलगायत जिम्मेवार पदाधिकारी नागरिक समाज तथा अन्य राजनीतिक दलसँग संवाद गर्न तयार नदेखिएको बताउनुभयो। उहाँले सरकार एक्लैले मात्र राज्य सञ्चालन गर्न सम्भव नहुने धारणा राख्नुभयो।
पुनले मुलुकको लोकतन्त्र, स्वाधीनता र संविधानमाथिको खतरा बढ्दै गएको दाबी गर्दै यस्तो अवस्थामा सरकार संवादबाट टाढिन नहुने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘एकातिर मुलुकको लोकतन्त्र, स्वाधीनता र संविधानमाथि खतरा छ भने अर्कोतिर अहिलेको सरकार पनि जेन–जी पुस्ताको भावनाअनुसार चल्न सकेको छैन। अहिलेको सरकार, प्रधानमन्त्री, गृहमन्त्री कोही पनि संवादमा छैनन्। हामी एक्लै संसार बोकेर हिँड्छौँ जस्तो गरिरहेका छन्। त्यो सम्भव छैन।’
गृहमन्त्री सुधन गुरुङले पुराना नेता तथा राजनीतिक शक्तिहरू सुध्रिनुपर्ने भन्दै दिएको अभिव्यक्तिप्रति पनि पुनले आपत्ति जनाउनुभयो। उहाँले गृहमन्त्रीको उक्त अभिव्यक्ति शासकीय अनुभवको कमीका कारण आएको जस्तो आफूलाई लागेको टिप्पणी गर्नुभयो।
पुराना राजनीतिक शक्ति र नेताहरूलाई जनताले दण्डित गरिसकेको स्वीकार गर्दै पुनले आफूहरू विगतका कमजोरी सच्याएर पुनः जनताको भावना बोकेर राज्यसत्ताको नेतृत्वमा आउने प्रतिबद्धताका साथ अघि बढिरहेको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘पुरानालाई त जनताले दण्डित गरिसक्यो नि। अहिले सडकमा छ पुरानाहरू। सच्चिएर फेरि जनताको भावना बोकेर राज्यसत्ताको नेतृत्व गर्न आउँछौँ। यो हाम्रो कमिटमेन्ट हो।’
सरकारमा रहेका व्यक्तिले आलोचनाको जवाफ दिनुपर्ने भन्दै पुनले जनतामा असन्तुष्टि बढ्दै गए त्यसको परिणाम सरकारमा रहेका व्यक्तिहरूले भोग्नुपर्ने चेतावनीसमेत दिनुभयो।
उहाँले गृहमन्त्री अहिले जनतासामु जवाफ दिने ठाउँमा रहेको उल्लेख गर्दै सरकार र जिम्मेवार पदाधिकारीले नागरिकको असन्तुष्टि तथा प्रश्नलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिनुभयो।







भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज