म्याड्रिड । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत स्पेनिस जायन्ट रियल म्याड्रिड र इंग्लिस क्लब म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेका छन् । सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलले इटालियन क्लब इन्टर मिलानलाई २-१ गोल अन्तरले पराजित गरेको हो भने अर्को खेलमा म्यानचेस्टर सिटीले पोर्टोलाई २-० ले हरायो ।
घरेलु मैदानमा भएको खेलमा रियलले सुरुवातमै इन्टर मिलानका रक्षात्मक गल्तीहरूको भरपूर फाइदा उठाउँदै २५ मिनेट नपुग्दै दुई गोलको अग्रता बनाएको थियो । खेलको १४औँ मिनेटमा फ्रान्सेली कप्तान केलियन एमबाप्पेले उत्कृष्ट फिनिसिङ गर्दै रियललाई अग्रता दिलाउनुभएको थियो । इन्टरका यान बिसेकले पछाडि फर्काएर दिएको पास नियन्त्रणमा लिन नसकेपछि ब्राहिम डियाजले बल खोसेर एमबाप्पेलाई पास उपलब्ध गराउनुभएको थियो, जसलाई सदुपयोग गर्दै २७ वर्षीय एमबाप्पेले पेनाल्टी क्षेत्रभित्रबाट गोल गर्नुभयो ।
यो च्याम्पियन्स लिगमा उहाँको ९९ खेलमा ७१औँ गोल हो । यससँगै एमबाप्पेले प्रतियोगिताको सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचीमा पूर्वरियल खेलाडी राउल गोन्जालेज (१४२ खेलमा ७१ गोल) सँग संयुक्त रूपमा पाँचौँ स्थान हासिल गर्नुभएको छ । एमबाप्पेभन्दा बढी गोल गर्नेमा अब करिम बेन्जेमा (९०), रोबर्ट लेवान्डोस्की (१०९), लियोनल मेसी (१२९) र क्रिस्टियानो रोनाल्डो (१४०) मात्र हुनुहुन्छ । साथै, एमबाप्पे लगातार ११औँ च्याम्पियन्स लिग सिजनमा गोल गर्ने खेलाडी बन्नुभएको छ ।
त्यसको केही मिनेटमै खेलको २३औँ मिनेटमा इन्टरका स्पेनिस गोलरक्षक जोसेप मार्टिनेजको ठूलो गल्तीमा रियलले दोस्रो गोल थप्यो । बेन्जामिन पाभारको ब्याक पासपछि गोलरक्षक मार्टिनेजले आफ्नै पेनाल्टी क्षेत्रभित्र बलमाथिको नियन्त्रण गुमाउनुभयो र फेडेरिको भाल्भेर्देले बल खोसेर खाली पोस्टमा सहजै गोल गर्नुभयो ।
यद्यपि, १५ पटकको युरोपियन च्याम्पियन रियलले जित निकाले पनि समर्थकहरू टोलीको समग्र प्रदर्शनबाट पूर्ण रूपमा सन्तुष्ट देखिएका थिएनन् । खेलमा च्याम्पियन्स लिगको आफ्नो १००औँ खेल खेलिरहेका रियलका गोलरक्षक थिबो कोर्टुवाले हाकान चालनोग्लु र लौटारो मार्टिनेजका केही उत्कृष्ट प्रहारहरू बचाउँदै टोलीको अग्रता जोगाउनुभएको थियो ।
इन्टरका लागि खेलको ७७औँ मिनेटमा कार्लोस अगुस्तोले गोल गर्दै खेलमा फर्किने संकेत दिनुभएको थियो । मोरिन्होका वर्तमान र पूर्व क्लबबीचको यो खेल अन्तिमसम्म रोमाञ्चक बने पनि इन्टरले बराबरी गोल फर्काउन नसक्दा रियल २-१ को जित निकाल्न सफल भयो ।
अर्को खेलमा म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब पोर्टोलाई २-० गोल अन्तरले पराजित गरेको छ । पहिलो हाफमा पोर्टोका गोलरक्षक डिओगो कोस्टाले एर्लिङ हालान्डका प्रयासहरू लगातार विफल पारे पनि दोस्रो हाफमा हालान्डले कुनै मौका दिनुभएन । दोस्रो हाफ सुरु भएको दुई मिनेटमै नयाँ सहकर्मी एन्जो फर्नान्डेजको क्रस पोस्टमा लागेर फर्किएको बलमा हालान्डले हेडमार्फत् उत्कृष्ट गोल गर्दै सिटीलाई अग्रता दिलाउनुभयो । त्यसपछि खेलको इन्जुरी समयमा रयान ऐट-नुरीको पासमा दायाँ खुट्टाको ‘वान टच’ मार्फत् व्यक्तिगत दोस्रो गोल गर्दै उहाँले जित पक्का गर्नुभयो ।
यो दुई गोलसँगै हालान्डले च्याम्पियन्स लिगमा ५९ खेलमा ५९ गोल पूरा गर्नुभएको छ । सिटीका लागि च्याम्पियन्स लिगमा ३६ गोल पुर्याउनुभएका हालान्डले यस विधामा क्लबका सर्वाधिक गोलकर्ता सर्जियो अग्वेरोको कीर्तिमानसँग बराबरी गर्नुभएको छ । पोर्टो च्याम्पियन्स लिगमा हालान्डले गोल गरेको २२औँ फरक टोली बनेको छ । एजेन्सी






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा