सोलुखुम्बु । सोलुखुम्बुको दूधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको ‘एभरेष्ट भ्यु ट्रेल रेस’ ले अन्तर्राष्ट्रिय पहिचान पाएको छ । पर्यटन प्रवर्द्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड दिँदै आयोजना हुँदै आएको यो साहसिक दौडले फ्रान्सको विश्वप्रसिद्ध ‘अल्ट्रा ट्रेल’ संस्थाबाट आधिकारिक मान्यता पाएको छ । साथै, अन्तर्राष्ट्रिय ट्रेल धावक संघले यस दौडलाई तीन अंक प्रदान गरेको छ । मान्यता प्राप्त दौड पूरा गरेपछि धावकहरूले दूरी र उचाइको कठिनाइका आधारमा अंक पाउँछन्, जसले विश्वप्रसिद्ध अन्य ठूला अन्तर्राष्ट्रिय दौडहरूमा छनोट हुन सहयोग पुर्याउँछ । नेपालमा आयोजना हुने मञ्जुश्री, सिन्धुपाल्चोक र रन उकु जस्ता दौड प्रतियोगिताहरूले पनि यस्तो मान्यता पाइसकेका छन् ।
अन्तर्राष्ट्रिय मान्यता प्राप्त भएपछि गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले खेलकुदलाई पर्यटन, प्रकृति, संस्कृति र साहसिक यात्रासँग जोड्ने अभियानले सार्थकता पाएको बताउनुभएको छ । यसबाट स्थानीय प्राकृतिक तथा सांस्कृतिक सम्पदालाई विश्वसामु पुर्याउन सहज हुने विश्वास लिइएको छ । करिब ४८ किलोमिटर लामो यो दौडको उचाइ दुई हजार ९१४ मिटर रहेको छ । दौड पूरा गर्नका लागि अधिकतम सात घण्टा ४५ मिनेटको समयसीमा निर्धारण गरिएको छ । भौगोलिक रूपमा चुनौतीपूर्ण मानिएको यो दौडले धावकहरूको सहनशीलता र क्षमताको वास्तविक परीक्षा लिनेछ ।
यो दौडको सुरुवात समुद्री सतहबाट एक हजार ८०३ मिटर उचाइमा रहेको निर्माणाधीन कोर्कु रंगशालाबाट भई महभीरतर्फ अघि बढ्नेछ । महभीर नेपालकै उत्कृष्ट चट्टान आरोहण र डोरीको सहारामा ओर्लिने गन्तव्यका रूपमा परिचित छ । त्यसपछि सिलगुडी पुगेर धावकहरूले विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै कञ्चनजंघा, नुम्बुर, थामसेर्कु र मेरा पिक जस्ता हिमशिखरहरूको दृश्यावलोकन गर्न पाउनेछन् ।
दौडको सबैभन्दा उच्च बिन्दु तीन हजार १८१ मिटरमा रहेको कुधम उच्च शिविर हो, जहाँ यात्राका क्रममा धावकहरूले मनमोहक ब्लास झरनाको समेत अनुभव गर्नेछन् । ट्रेलको मुख्य धार्मिक स्थल कैलाशनाथ महादेव मन्दिर हो, जहाँ पौराणिक मान्यताअनुसार हलेसीबाट फर्कने क्रममा भगवान् महादेवले विश्राम गरेको जनविश्वास छ । कैलाशनाथ हुँदै दौड पुनः कोर्कु रंगशालामा पुगेर समापन हुनेछ ।







१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा
सडक भासिएपछि कलंकीमा मालवाहक सवारीसाधन
पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको
लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना
भारतीय युट्युबर ध्रुव राठी पक्राउ