लण्डन । वर्ष २०२६ को प्रतिष्ठित बालोन डी’ओर पुरस्कारका लागि ३० सदस्यीय मनोनयन सूची सार्वजनिक भएको छ । आयोजक फ्रान्स फुटबलले मंगलबार सार्वजनिक गरेको सूचीमा विश्व फुटबलका चर्चित खेलाडीहरू ह्यारी केन, एर्लिङ हालान्ड, लियोनल मेसी, जुड बेलिंगहम, किलियन एमबाप्पे, औसमाने डेम्बेले, लामिन यामल र रोड्रीलगायत समेटिएका छन् । यस वर्ष बालोन डी’ओरको ७०औँ संस्करण आयोजना हुँदैछ । पहिलो बालोन डी’ओर विजेता स्टेनली म्याथ्युजको सम्मानमा अक्टोबर २६ मा पहिलोपटक लण्डनमा विशेष समारोह आयोजना गर्न लागिएको हो ।
मनोनयनमा परेका ह्यारी केनले बायर्न म्युनिख र इंग्ल्याण्डका लागि ६५ खेलमा ७३ गोल गर्नुभएको छ । उहाँको उत्कृष्ट प्रदर्शनमा बायर्नले बुन्डेसलिगा, जर्मन कप र जर्मन सुपर कप जित्दै घरेलु त्रिमुकुट पूरा गरेको थियो । इंग्ल्याण्डलाई विश्वकपको सेमिफाइनलसम्म पुर्याउन पनि केनको महत्त्वपूर्ण भूमिका रह्यो । म्यानचेस्टर सिटी तथा नर्वेका स्ट्राइकर एर्लिङ हालान्डले ६४ खेलमा ५८ गोल गर्नुभएको छ । यता आठपटकको बालोन डी’ओर विजेता लियोनल मेसीले इन्टर मियामी र अर्जेन्टिनाका लागि उत्कृष्ट प्रदर्शन गर्दै ४९ खेलमा ७५ गोल योगदान दिनुभएको छ । उहाँले अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्याउनुका साथै प्रतियोगितामा आठ गोल र चार असिस्ट गर्नुभएको थियो । ३९ वर्षीय मेसीकै नेतृत्वमा इन्टर मियामीले मेजर लिग सकरको उपाधि पनि जितेको थियो ।
३० सदस्यीय सूचीमा जुड बेलिंगहम, किलियन एमबाप्पे, औसमाने डेम्बेले, लामिन यामाल, लाउटारो मार्टिनेज, रोड्री, भिनिसियस जुनियर, अच्राफ हाकिमी, ब्रुनो फर्नान्डेस, नुनो मेन्डेस, भिटिन्हा, विलियम सालिबा र माइकल ओलिसेलगायत खेलाडी पनि परेका छन् । तर, यसपटकको सबैभन्दा ठूलो चर्चामध्ये एक क्रिस्टियानो रोनाल्डोको अनुपस्थिति रहेको छ । साउदी प्रो लिगमा अल–नासरलाई उपाधि दिलाए पनि पोर्चुगिज स्टार ३० सदस्यीय सूचीमा अटाउन सक्नुभएन । उहाँका अल–नासरका सहकर्मी सादियो माने भने मनोनयनमा पर्नुभएको छ ।
त्यस्तै, आर्सनलका मार्टिन ओडेगार्ड, बार्सिलोनाका राफिन्हा, एट्लेटिको मड्रिडका जुलियन अल्भारेज, चेल्सी तथा अर्जेन्टिनाका इन्जो फर्नान्डेस, बार्सिलोनाका पेड्री र पेरिस सेन्ट जर्मेनका देसिरे डोउ पनि मुख्य दाबेदारका रूपमा चर्चा भए पनि अन्तिम ३० मा स्थान बनाउन असफल हुनुभएको छ ।
आर्सनललाई २२ वर्षपछि प्रिमियर लिगको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएका ओडेगार्ड र नर्वेलाई विश्वकपको क्वाटरफाइनलसम्म पुर्याउन योगदान दिएका खेलाडीमध्ये एक हुनुहुन्छ । त्यस्तै, चोटका बाबजुद बार्सिलोनाका लागि ३३ खेलमा २१ गोल गर्नुभएका राफिन्हा पनि सूचीबाहिर हुनुहुन्छ । एट्लेटिको मड्रिडका अल्भारेजले २० गोल र नौ असिस्ट गरे पनि विश्वकपअघि लागेको चोटका कारण उहाँको दाबेदारी कमजोर बनेको बताइएको छ ।
अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्याउने क्रममा महत्त्वपूर्ण भूमिका खेल्नुभएका इन्जो फर्नान्डेस पनि सूचीमा पर्न सक्नुभएन । फाइनलमा पाएको रातो कार्डले उहाँको दाबेदारीमा असर पारेको बताइएको छ । बार्सिलोनाका मिडफिल्डर पेड्री र पिएसजीको च्याम्पियन्स लिग तथा लिग वान जित्ने अभियानमा १३ गोल र आठ असिस्ट गर्नुभएका देसिरे डोउ पनि ३० जनाको सूचीमा अटाउन असफल हुनुभएको छ ।
यस वर्षको ३० सदस्यीय सूचीमा जुड बेलिंगहम, पाउ कुबर्सी, मार्क कुकुरेल्ला, औसमाने डेम्बेले, लुइस डायज, ब्रुनो फर्नान्डेस, ग्याब्रियल, एर्लिङ हालान्ड, अच्राफ हाकिमी, ह्यारी केन, ख्विचा क्वारात्स्खेलिया, लामिन यामाल, सादियो माने, मार्क्विनहोस, लाउटारो मार्टिनेज, किलियन एमबाप्पे, नुनो मेन्डेस, लियोनल मेसी, जोआओ नेभेस, माइकल ओलिसे, विलियम पाचो, जुलियन क्विनोनेस, डेक्लान राइस, रोड्री, फाबियन रुइज, विलियम सालिबा, फेर्रान टोरेस, डायोट उपमेकानो, भिनिसियस जुनियर र भिटिन्हा रहनुभएको छ ।
अन्य विधामा पनि मनोनयन सार्वजनिक गरिएको छ । गोलकिपर अफ द इयरतर्फ विश्वकपमा केप भर्डेलाई समूह चरण पार गराउन महत्त्वपूर्ण भूमिका खेल्नुभएका भोजिन्हासहित स्पेनका उनइ सिमोन, अर्जेन्टिनाका इमी मार्टिनेज, यासिन बोउनौ, इडुआर्ड मेन्डी, थिबाउट कोर्टुवा, जोआन गार्सिया, ग्रेगोर कोबेल, डेभिड राय र मात्भे साफोन मनोनयनमा पर्नुभएको छ । कोच अफ द इयरका लागि लुइस एनरिक, भिन्सेन्ट कोम्पानी, मिकेल आर्टेटा, लुइस डे ला फुएन्ते र उनाइ एमरी मनोनयनमा हुनुहुन्छ । क्लब अफ द इयरको दाबेदारमा पेरिस सेन्ट जर्मेन, बायर्न म्युनिख, आर्सनल, फ्लेमेङ्गो र बोडो रहनुभएको छ । युवा प्रतिभातर्फ लामिन यामाल, पाउ कुबर्सी, केरिम अलाजबेगोभिक, अयुब बौद्दी, यान डिओमान्डे, लेनार्ट कार्ल, इली जुनियर क्रुपि, जोहान मान्जाम्बी, इब्राहिम माजा र वारेन जाइरे-इएमरी मनोनयनमा पर्नुभएको छ । महिला बालोन डी’ओरका लागि पनि मनोनयन सार्वजनिक भएको छ । इभा पाजोर, एलेक्सिया पुटेल्लास, खाडिजा ‘बनी’ शा र आलेसिया रुसोलगायत खेलाडीले सूचीमा स्थान बनाउनुभएको छ । यसपटकको पुरुष बालोन डी’ओरमा भने मेसी, केन, हालान्ड, एमबाप्पे, डेम्बेले, यामाल र रोड्रीजस्ता स्थापित तथा नयाँ पुस्ताका स्टारबीच प्रतिस्पर्धा हुने देखिएको छ । एजेन्सी







कांग्रेसको मतगणना दिउँसो १ बजेपछि
१३ वर्षअघिको रक्तचन्दन तस्करी मुद्दामा
सडक भासिएपछि कलंकीमा मालवाहक सवारीसाधन
पृथ्वी राजमार्ग अवरुद्ध, बसपार्कभित्रै रोकिए
दूरसञ्चार प्राधिकरणले भन्याे : इन्टरनेटको
लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना