काठमाडौं । देशभरका तीन सयभन्दा बढी विद्यालयको सहभागितामा ‘एसियन पेन्ट्स च्याम्पियनसिप अन्तर-विद्यालय यू-१८ छात्र तथा छात्रा राष्ट्रिय फुटबल प्रतियोगिता २०२६’ आज (बुधबार) भदौ २५ गतेदेखि सञ्चालन हुने भएको छ । नेपाल राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृतिमा हुने प्रतियोगिता सातै प्रदेशका विभिन्न खेल मैदानमा आयोजना गरिने आयोजकले जनाएको छ । विद्यालयस्तरमा रहेका उदीयमान फुटबल प्रतिभालाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रदेशस्तरीय छनोट खेल भदौ २५ गतेदेखि एकैसाथ सुरु हुनेछन् । आयोजकका अनुसार कोशी प्रदेशमा विराटनगर र इटहरी, मधेस प्रदेशमा लालबन्दी, सिमरा र रौतहट, बागमतीमा चितवन र काठमाडौं तथा गण्डकीमा पोखरा र गोरखामा खेल सञ्चालन हुनेछ ।
त्यस्तै, लुम्बिनी प्रदेशमा घोराही, नेपालगञ्ज र बुटवल तथा सुदूरपश्चिममा धनगढीमा छनोट खेल हुनेछन् । कर्णाली प्रदेशमा सहभागी विद्यालयको संख्या कम रहेकाले त्यहाँका टोलीले धनगढी पुगेर छनोट खेल खेल्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।
प्रदेशस्तरीय छनोटबाट छात्र र छात्रातर्फ समान ६-६ टोली राष्ट्रिय च्याम्पियनसिपका लागि छनोट हुनेछन् । राष्ट्रिय चरणको फाइनल असोज १६ गते काठमाडौंमा आयोजना गरिनेछ ।
प्रतियोगिताको कुल पुरस्कार राशि १६ लाख रुपैयाँभन्दा बढी रहेको छ । छात्र र छात्रा दुवैतर्फका विजेता टोलीले समान एक–एक लाख रुपैयाँ तथा उपविजेता टोलीले ५०-५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताका लागि विशेष ट्रफीसमेत तयार गरिएको छ । ट्रफी टुरअन्तर्गत नेपालगञ्ज र धनगढीमा प्रदर्शन सम्पन्न भइसकेको आयोजकले जनाएको छ । स्थगित भएका पोखरा र विराटनगरमा भने असोज ३० र ३१ गते ट्रफी टुर आयोजना गरिनेछ ।
प्रतियोगितालाई वातावरण संरक्षणसँग जोड्दै ‘एक गोल, एक रुख’ अभियानसमेत सञ्चालन गरिने भएको छ । प्रतियोगिताभरि खेलमा हुने प्रत्येक गोल बराबर एउटा बिरुवा रोपिने आयोजकले जनाएको छ ।
यसैबीच, प्रतियोगिताअघि आयोजकले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । आयोजकले बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ । प्रतियोगितामा एसियन पेन्ट्स मुख्य प्रायोजक रहेको छ । बिवाइडी, एनसेल, सूर्यज्योति लाइफ इन्स्योरेन्स र मेघा इन्भेस्टमेन्ट बैंक सहप्रायोजक तथा साझेदारका रूपमा रहेका छन् ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा