काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विधानअनुसार विशेष महाधिवेशन बोलाउनुअघि सदस्यहरूको सनाखत अनिवार्य रहेको बताउनुभएको छ।
बुधबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै देउवाले पार्टीका सदस्यहरूको आधिकारिक पहिचानबिना नामावलीकै आधारमा विशेष महाधिवेशन बोलाउन नमिल्ने जिकिर गर्नुभयो। पार्टी सभापतिलाई जानकारी नै नदिई विशेष महाधिवेशन बोलाउन नसकिने उहाँको भनाइ थियो।
देउवाले कांग्रेसको विधानमा विशेष महाधिवेशन बोलाउने व्यवस्था रहेको उल्लेख गर्दै विगतमा सुवर्णशमशेर पार्टी सभापति हुँदा पनि विशेष महाधिवेशन बोलाइएको स्मरण गर्नुभयो। त्यतिबेला पार्टी एकताबद्ध रहेको र सदस्य तथा प्रतिनिधिको पहिचान खुला रूपमा गरेर विशेष महाधिवेशन गरिएको उहाँले बताउनुभयो।
गगन थापाले विशेष महाधिवेशन बोलाउने विषय उठाएपछि आफूले पनि विशेष महाधिवेशन बोलाउने अधिकार पार्टीलाई रहेको तर त्यसअघि पार्टीका आधिकारिक सदस्य को–को हुन् भन्ने विषयमा सनाखत हुनुपर्ने बताएको देउवाले स्मरण गर्नुभयो।
आफू पार्टी सभापति रहेको अवस्थामा विशेष महाधिवेशन बोलाउने विधिबारे आफूलाई जानकारी नभएजस्तो र गगन थापालाई मात्रै जानकारी भएजस्तो गरी प्रक्रिया अघि बढाइएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभयो।
देउवाले भन्नुभयो, ‘पहिले सनाखत गराउनुप¥यो। त्यो मेम्बर छ कि छैन पार्टीको भनेर खल्तीबाट हालेको नामावलीले विशेष महाधिवेशन बोलाउन पाइन्छ ?’
कांग्रेसभित्रको विवाद सर्वोच्च अदालतमा पुगेको प्रसङ्ग उल्लेख गर्दै देउवाले अदालतबाट आफूहरूले न्याय पाउनेमा विश्वास व्यक्त गर्नुभयो। उहाँले सर्वोच्च अदालतले पुनरावलोकनको निस्सा दिएको उल्लेख गर्दै त्यसबाट कांग्रेसको पक्षमा आधाभन्दा बढी जित भइसकेको दाबीसमेत गर्नुभयो।
पञ्चायतकालमा अदालत नियन्त्रणमा रहेको अवस्थामा समेत आफूहरूले मुद्दा जितेको तथा राजा ज्ञानेन्द्रको शासनकालमा आफू जेल पर्ने अवस्थामा समेत अदालतबाट न्याय पाएको देउवाले स्मरण गर्नुभयो।
अदालतमा जस्तोसुकै दाउपेच भए पनि सर्वोच्च अदालतले निष्पक्ष न्याय दिनेमा आफ्नो विश्वास कायम रहेको उहाँले बताउनुभयो। अन्ततः नेपाली कांग्रेसले नै रुख चुनाव चिह्न र चारतारे झण्डा पाउने विश्वाससमेत देउवाले व्यक्त गर्नुभयो।







सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी