हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ का ६ भूमिहीन सुकुमबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समिति गठनपछि कानुनी प्रक्रिया पूरा गरी मकवानपुरमा पहिलोपटक भूमिहीन परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको हो।
जिल्ला भूमि समस्या समाधान समिति मकवानपुर र मकवानपुरगढी गाउँपालिकाको संयुक्त आयोजनामा बुधबार भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या समाधान समिति मकवानपुरका अध्यक्ष वसन्त अधिकारी, गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन र समितिका सदस्यसचिव तथा नापी कार्यालय मकवानपुरका प्रमुख नापी अधिकृत महेश्वर कार्कीले लाभग्राहीलाई पुर्जा हस्तान्तरण गरेका हुन्।
पुर्जा प्राप्त गर्नेमा रामबहादुर योञ्जन, उद्धवप्रसाद लम्साल, रुद्रप्रसाद सिम्खडा, पदमबहादुर वाइबा, तीर्थप्रसाद अधिकारी र जयराम पुडासैनी रहेका छन्। पाँच परिवारलाई जनही ३०४.७२ वर्गमिटर र एक परिवारलाई ३४० वर्गमिटर जग्गा उपलब्ध गराइएको छ।
एउटा कित्तामा करिब दुई धुर बढी जग्गा परेपछि लाभग्राहीले गोला प्रथामार्फत आ–आफ्नो कित्ता छनोट गरेका थिए। वडा तथा गाउँपालिकाको सिफारिसका आधारमा जग्गा बाँडफाँट गरिएको समितिले जनाएको छ।
समितिका सदस्यसचिव कार्कीले जिल्लामा संख्यात्मक रूपमा थोरै भए पनि भूमिहीनलाई जग्गाधनी पुर्जा वितरणको काम सुरु हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँका अनुसार नयाँ व्यवस्थाबमोजिम जिल्ला समितिले गत जेठ ३० गतेदेखि आफ्नो काम सुरु गरेको हो।
भूमिहीनलाई पुर्जा वितरण गर्न निवेदन संकलन, वडास्तरीय सूचना प्रकाशन, वडा सहजीकरण समितिको सिफारिस, गाउँ कार्यपालिकाको निर्णय, जिल्ला समितिबाट प्रमाणीकरण, जग्गा पहिचान तथा नापजाँच र दाबी–विरोधसम्बन्धी सूचना प्रकाशनलगायत प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था रहेको कार्कीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार मकवानपुरमा २५ हजार ५८० अव्यवस्थित बसोबासी, ४ हजार ९०१ भूमिहीन सुकुमबासी र ५२३ भूमिहीन दलितले फाराम भरेका छन्।
त्यसमध्ये कैलाश गाउँपालिकाका ५७, बागमती गाउँपालिकाका ८८ र बकैया गाउँपालिकाका ५९ लाभग्राहीलाई समेत जग्गाधनी पुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाइएको अधिकारीले जानकारी दिनुभयो ।
मकवानपुरगढीमा आयोजित कार्यक्रममा भूमिहीन दलित तथा भूमिहीन सुकुमबासीलाई पुर्जा वितरणको कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ। कार्यक्रममा प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलगायत जनप्रतिनिधि, सरकारी अधिकारी तथा स्थानीयको सहभागिता थियो।
विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी