काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र देखिएको विवाद अन्त्य गर्दै निर्धारित समयमै १५औँ महाधिवेशन गर्नुपर्ने बताउनुभएको छ।
भक्तपुरमा बुधबार आयोजित कार्यक्रममा उहाँले विशेष महाधिवेशनका नाममा १५औँ महाधिवेशन गर्ने अधिकार कसैलाई नभएको जिकिर गर्नुभयो। उहाँले विशेष महाधिवेशनलाई पूर्ण महाधिवेशनका रूपमा गणना गर्ने हो भने त्यसपछि १६औँ महाधिवेशन गर्नुपर्ने अवस्था आउने बताउनुभयो।
निधिले कांग्रेसले यसअघि नै १४औँ महाधिवेशनलाई पूर्ण महाधिवेशनका रूपमा स्वीकार गरिसकेको उल्लेख गर्दै अब १५औँ महाधिवेशनको तयारीमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “यो विशेष महाधिवेशन के हो ? यो सारै हो कि, पौने हो कि, सवैय हो कि, देउडा हो कि के हो ? १४औँ महाधिवेशन पूर्ण महाधिवेशन हो। त्यसकारणले १५औँ महाधिवेशन गर्ने उनीहरूलाई अधिकार नै छैन। अब त्यसको तयारी गर्नुहोला भन्ने मेरो साथीहरूसँग अनुरोध छ।”
यसैबीच, कांग्रेससँग सम्बन्धित एक मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएको विषयलाई निधिले पार्टीका लागि ठूलो सफलता भएको बताउनुभयो। सर्वोच्चको उक्त निर्णयले न्यायपालिकाबाट न्याय पाइने विश्वास थप बलियो बनाएको उहाँको भनाइ छ।
यद्यपि, मुद्दा लामो समयसम्म नलम्बियोस् भन्दै उहाँले सर्वोच्च अदालतलाई पुनरावलोकनको प्रक्रियालाई अग्राधिकार दिएर छिटो फैसला गर्न आग्रह गर्नुभयो।
निधिले आगामी मंसिर २७ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने वैधानिक तथा संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै त्यसलाई ध्यानमा राखेर अदालतले सम्बन्धित मुद्दालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “सर्वोच्च अदालतसँग पनि हाम्रो आग्रह छ, हाम्रो माग छ कि अग्राधिकार दिएर छिटोभन्दा छिटो पुनरावलोकनको प्रक्रियालाई प्राथमिकतामा राखेर यो पुनरावलोकनको फैसला गर्ने काम सर्वोच्च अदालतले गरिदियोस्।”







हतुवागढीले जुटायो २४ लाख ५३
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण
भम्लु खोलामा सुख्खा पहिराले कर्णाली
भोटेकोशी बाढी : लुम्बिनीका २४८