काठमाडौं । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले गत फागुनमा सम्पन्न निर्वाचनको परिणामले नै विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको बताउनुभएको छ।
भक्तपुरमा बुधबार आयोजित कार्यक्रममा उहाँले निर्वाचनअघि विशेष महाधिवेशनका पक्षधरले पार्टी नेतृत्व परिवर्तन भए मात्रै निर्वाचनमा कांग्रेसले राम्रो परिणाम ल्याउने दाबी गरे पनि जनताले त्यसलाई अस्वीकार गरेको बताउनुभयो।
महतले अहिले नेपालको राष्ट्रियताको जडलाई कमजोर बनाउने प्रयास भइरहेको दाबी गर्दै विशेष महाधिवेशन त्यसैको श्रृंखलाका रूपमा आएको आरोप लगाउनुभयो। उहाँले विशेष महाधिवेशनको विवादका कारण कांग्रेस दुईतर्फबाट अधिवेशन गर्नुपर्ने अवस्थामा पुगेको बताउनुभयो।
उहाँले भन्नुभयो, “निर्वाचनभन्दा अगाडि पार्टीको नेतृत्व परिवर्तन भयो भने मात्रै परिणाम आउँछ भनिएको थियो। जनताले हामीलाई पत्याउँछन् भनिएको होइन । खै त जनताले पत्याएको ? त्यसकारण पनि विशेष महाधिवेशनको औचित्य समाप्त भइसक्यो।”
महतले विशेष महाधिवेशनसम्बन्धी विवादमा आफूहरू कानुनी बाटोबाट अघि बढेको र सर्वोच्च अदालतबाट पुनरावलोकनका लागि निस्सा समेत प्राप्त भइसकेको बताउनुभयो।
उहाँले सर्वोच्च अदालतले १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई नै १५औँ महाधिवेशन गर्न पाउने गरी न्याय दिने विश्वास व्यक्त गर्नुभयो।
“चाँडै नै सुनुवाइ होला र यदि यो देशमा न्याय छ भने, यो देशमा कानून छ भने १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले १५औँ अधिवेशन गर्न पाउँछौँ,” उहाँले भन्नुभयो।
महतले कांग्रेसको पार्टीको आत्मा आफूहरूसँगै रहेको जिकिरसमेत गर्नुभयो।







भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज