काठमाडौं । नेपाली साहित्यको चर्चित कृति ‘एक चिहान’ फेरि रंगमञ्चमा देखिने भएको छ । हृदयचन्द्रसिंह प्रधानको उपन्यासमा आधारित यो नाटकलाई यसपटक नयाँ प्रस्तुति शैली, कलाकार संयोजन र निर्देशकीय दृष्टिकोणसहित दर्शकमाझ ल्याउने तयारी गरिएको छ ।
पछिल्लो एक दशकयता विभिन्न समूह तथा कलाकारले मञ्चन गर्दै आएको ‘एक चिहान’ले गत वर्षको प्रस्तुतिपछि भने विशेष चर्चा पाएको थियो । नाटकमा डाक्टर गोदत्तको भूमिकामा रंगकर्मी जेबी डीसीले गरेको प्रभावशाली अभिनयले दर्शकको ध्यान तानेको थियो ।
त्यही चर्चालाई निरन्तरता दिँदै निर्देशक रामबाबु रेग्मीले ‘एक चिहान’लाई नयाँ शैलीमा पुनः मञ्चन गर्न लागेका हुन् । मण्डपिका आर्ट ग्रुपको प्रस्तुतिमा तयार हुने नाटकको निर्माण रिता थापाले गर्नेछिन् ।
हृदयचन्द्रसिंह प्रधानको कृतिमा आधारित नाटकको नाट्य रूपान्तरण बिरेन्द्र हमालले गरेका हुन् । नयाँ संस्करणमा डाक्टर गोदत्तकै भूमिकाबाट चर्चामा आएका जेबी डीसी पनि रहने निश्चित भएको स्रोतले जनाएको छ ।
जेबीको पुनरागमनले अघिल्लो प्रस्तुतिबाट बनेको दर्शकीय अपेक्षालाई नयाँ संस्करणसँग जोड्ने देखिएको छ । तर, उनीबाहेक नाटकमा सहभागी हुने अन्य कलाकार र उनीहरूले निर्वाह गर्ने पात्रबारे भने निर्माण पक्षले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन ।
निर्माणसँग जोडिएको स्रोतकाअनुसार नेपाली रंगमञ्चमा स्थापित केही दिग्गज कलाकारलाई समेत नयाँ प्रस्तुतिमा समेट्ने तयारी भइरहेको छ ।
कथा पुरानै, प्रस्तुतिको भाषा नयाँ
‘एक चिहान’को मूल कथा पुरानै भए पनि यसपटक यसको प्रस्तुति शैली, अभिनय र मञ्चीय संरचनामा नयाँपन दिने निर्देशक रेग्मीको तयारी छ ।
सामाजिक यथार्थ र मानवीय संवेदनालाई केन्द्रमा राखिएको प्रधानको कृतिलाई समकालीन रंगमञ्चको भाषामा प्रस्तुत गर्ने प्रयासका रूपमा नयाँ संस्करणलाई हेरिएको छ ।
गत वर्षको मञ्चनमा जेबी डीसीको अभिनयले बनाएको प्रभावसँगै यसपटक थपिने नयाँ कलाकार र निर्देशक रेग्मीको फरक शैलीले ‘एक चिहान’लाई पुनः रंगमञ्चीय चर्चाको केन्द्रमा ल्याउने अपेक्षा गरिएको छ ।
निर्माण पक्षले चाँडै नै कलाकार तथा पात्रहरूको औपचारिक घोषणा गर्ने तयारी गरेको छ । त्यसपछि नाटक मञ्चन हुने मिति र अन्य विवरणसमेत सार्वजनिक गरिने बताइएको छ ।






सानेपामा कांग्रेसको मतगणना, विश्वप्रकाश पार्टी
चाडपर्वको सुरक्षामा ८९६ प्रहरी परिचालन,
अरिङ्गालको गोलो पोल्ने क्रममा रुखबाट
विद्युत् निर्यातमा मात्रै भर नपरौँ,
संविधानको पूर्ण कार्यान्वयन नै राजनीतिक
सभापतिमा निर्वाचित गगन थापा सानेपा