काठमाडौं । राष्ट्रिय सभा सांसदहरूले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमलाई कारबाही गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग आग्रह गर्नुभएको छ ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा सांसदहरूले राष्ट्रिय सभाले कानुन निर्माणमा अवरोध गरेको भन्ने मन्त्री गौतमको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उहाँमाथि कारबाहीको माग गर्नुभएको हो ।
नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले रास्वपा सभापति रवि लामिछानेले पार्टीका नेता–कार्यकर्ताले सामाजिक सञ्जाल वा भाषणमार्फत गलत तथा भ्रामक सूचना सम्प्रेषण गरे कारबाही गर्ने बताउनुभएको स्मरण गराउँदै मन्त्री गौतमलाई पनि पार्टीले कारबाही गर्नुपर्ने बताउनुभयो ।
उहाँले राष्ट्रिय सभाले कुन कानुन, कहिले र कसरी रोकेको हो भन्ने विवरण सार्वजनिक गर्न मन्त्री गौतमलाई चुनौती दिनुभयो । आफ्नो जिम्मेवारी पूरा गर्न नसके मन्त्रीले पदबाट राजीनामा दिनुपर्ने उहाँको भनाइ थियो ।
सांसद कर्णले भन्नुभयो, “राष्ट्रिय सभाले कुन दिन, कहिले कानुन रोकेको छ ? त्यसको विवरण सार्वजनिक गर्नुपर्छ । मन्त्रीले आफ्नो जिम्मेवारी पूरा गर्न सक्नुहुन्न भने पदबाट राजीनामा दिनुपर्छ ।”
यस्तै, नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले पनि मन्त्री गौतमको अभिव्यक्तिप्रति राष्ट्रिय सभाको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले सरकारले राष्ट्रिय सभामा कति कानुन दर्ता गरेको, प्रतिनिधि सभाबाट कति विधेयक प्रतिवेदनसहित राष्ट्रिय सभामा आएको र राष्ट्रिय सभाले कति कानुनमा काम गरेको भन्ने विवरण सार्वजनिक गर्न माग गर्नुभयो ।
सांसद झाँक्रीले तथ्यबिना राष्ट्रिय सभालाई दोष लगाएर सरकारको अयोग्यता ढाकछोप गर्न नमिल्ने बताउनुभयो । उहाँले मन्त्री गौतमले जनतामाझ गलत सूचना प्रवाह गरेको आरोप लगाउँदै सरकारले उहाँमाथि कारबाही गर्नुपर्ने माग गर्नुभयो ।
मन्त्री गौतमले आफ्नो अभिव्यक्तिप्रति राष्ट्रिय सभामै सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताउँदै सांसद झाँक्रीले त्यसका लागि राष्ट्रिय सभा अध्यक्षबाट रुलिङ हुनुपर्ने मागसमेत गर्नुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रिय सभामा सरकारले कति कानुन दर्ता गर्यो, प्रतिनिधि सभाबाट कति कानुन प्रतिवेदनसहित आए र हामीले कति कानुनमा काम गर्यौँ, त्यसको विवरण सार्वजनिक हुनुपर्छ । राष्ट्रिय सभालाई दोष लगाएर आफ्नो अयोग्यता छोप्ने छुट छैन ।”
जेनजी दिवसका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा मन्त्री गौतमले राष्ट्रिय सभामा आफ्नो बहुमत नभएका कारण सरकारले काम गर्न नसकेको अभिव्यक्ति दिनुभएको थियो । सोही अभिव्यक्तिलाई लिएर राष्ट्रिय सभा सांसदहरूले बिहीबारको बैठकमा आपत्ति जनाउनुभएको हो ।






भ्रष्टाचारविरुद्धको राष्ट्रसंघीय महासन्धि कार्यान्वयनबारे सबै
दीपक भट्टको मानव अधिकार संरक्षणको
५४ करोडभन्दा बढीको सुन बरामद
सार्वजनिक सवारीको भाडादर समायोजन [सूचिसहित]
राप्ती प्रतिष्ठानको ४०० शय्याको भवन
कात्तिक १३ देखि काठमाडौं फिल्म