काठमाडौं । नेपाली क्रिकेट टोली मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी ओमानलाई ८७ रनले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १४७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको ओमान भने नेपाली बलरको उत्कृष्ट प्रदर्शनसामु २८.१ ओभरमै ६० रनमा अलआउट भयो ।
नेपालका लागि कप्तान तथा लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिनुभयो । उहाँले ६ ओभरमा एक मेडन राख्दै केवल नौ रन खर्चिनुभयो । जारी प्रतियोगितामा सन्दीपको विकेट संख्या १६ पुगेको छ ।
दीपेन्द्रसिंह ऐरीले पनि तीन विकेट लिनुभयो । उहाँले ६ ओभरमा ११ रनमात्र खर्चिनुभयो । ललित राजवंशीले दुई विकेट लिनुभयो भने रोहित पौडेलले पनि दुई विकेट हात पार्नुभयो । ललितले पाँच ओभरमा दुई मेडन राख्दै १२ रन तथा रोहितले ४.१ ओभरमा एक मेडन राख्दै सात रनमात्र खर्चिनुभयो ।
ओमानका लागि ओपनर जतिन्दर सिंहले २५ तथा जितेन रामानन्दीले १३ रन बनाउनुभयो । उहाँहरूबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सक्नुभएन ।
यसअघि ब्याटिङतर्फ भने नेपालको सुरुआत निकै खराब रहेको थियो । ३६ रन जोड्दा चार विकेट गुमाएको नेपाललाई दीपेन्द्रसिंह ऐरी र बसिर अहमदले सम्हाल्नुभएको थियो ।
छैटौँ नम्बरमा क्रिजमा आउनुभएका दीपेन्द्रले ७२ बलमा चार चौकाको मद्दतले ५१ रन बनाउनुभयो । उहाँको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो १०औँ अर्धशतक हो । अर्धशतक पूरा गरेलगत्तै उहाँ ५१ रनमा आउट हुनुभएको थियो ।
बसिर अहमदले ८८ बलमा एक छक्का र तीन चौकासहित ४७ रन बनाउनुभयो ।
नेपालका ओपनर देव खनाल १३ तथा आसिफ शेख ११ रनमा आउट हुनुभयो । इशान पाण्डेले एक रनमात्र बनाउनुभयो भने पूर्वकप्तान रोहित पौडेल तीन रनमै पेभेलियन फर्किनुभयो । गुलसन झा सात तथा करण केसी पाँच रनमा आउट हुनुभयो ।
कप्तान सन्दीप लामिछानेले १० बलमा तीन रन बनाउनुभयो भने शेर मल्ल र ललित राजवंशीले खातासमेत खोल्न सक्नुभएन । ओमानका हसनैन शाह र जे ओडेड्राले तीन–तीन विकेट लिनुभयो ।
अब नेपालले शनिबार उपाधिका लागि संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्नेछ । यूएईले अर्को सेमिफाइनलमा हङकङलाई सात विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
एसीसी पुरुष प्रिमियर कपको उपाधि जित्ने टोली आगामी एसिया कपका लागि छनोट हुनेछ । एसिया कपको आगामी संस्करण सन् २०२७ जुन १८ देखि जुलाई ४ सम्म बंगलादेशमा आयोजना हुँदैछ ।
छ टोली सहभागी हुने प्रतियोगितामा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान यसअघि नै छनोट भइसकेका छन् ।







भारतले नेपाललाई दैनिक ६५४ मेगावाट
प्रधानमन्त्री राहत कोषमा रु १३
छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई