काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी संरचनाको पुनर्निर्माण सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले निजी क्षेत्रले आन्दोलनका क्रममा क्षतिग्रस्त व्यापारिक केन्द्रको पुनर्निर्माण तीव्र गतिमा अघि बढाए पनि सरकारी संरचनाको पुनर्निर्माण भने सुस्त रहेको बताउनुभयो ।
सांसद आचार्यले राज्यका प्रमुख संरचना सिंहदरबार, गृह मन्त्रालय तथा संसद् भवनसमेत अझै पुनर्निर्माण हुन नसकेको उल्लेख गर्नुभयो । राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद्को पुनर्निर्माण नै सुस्त भइरहेका बेला रसुवा, नुवाकोटलगायतका विपद् प्रभावित क्षेत्रका नागरिकले आफ्नो पुनर्निर्माण प्रभावकारी रूपमा अघि बढ्नेमा कसरी विश्वास गर्ने भन्ने प्रश्न उहाँले गर्नुभयो ।
उहाँले भन्नुभयो, “भदौ २४ को विध्वंसले खरानी बनेका व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनागत रूपमा उठिसकेका छन् । निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ । तर सिंहदरबारको गेटबाट भित्र छिर्दा जलेको सिंहदरबार र गृह मन्त्रालय अझै उस्तै बेवारिसे देखिन्छ ।”
उहाँले नयाँ संसद् भवनमा बजेट अधिवेशन हुने भनिए पनि अझै अस्थायी भवनबाटै प्रतिनिधिसभा सञ्चालन भइरहेको उल्लेख गर्नुभयो ।
“राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै पुनर्निर्माणको गति यति धेरै सुस्त भइरहँदा रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?” उहाँले प्रश्न गर्नुभयो ।
सांसद आचार्यले पुनर्निर्माणमा देखिएका नीतिगत तथा व्यावहारिक कमजोरी तत्काल पहिचान गरी कामको गति बढाउन सरकारसँग आग्रह गर्नुभयो । पुनर्निर्माणमा ढिलाइ हुँदा प्रभावित नागरिकमा राज्यप्रतिको विश्वास कमजोर हुन सक्ने भन्दै उहाँले “धेरै ढिला हुनुअघि” आवश्यक कदम चाल्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।







The matter is urgency’s and essential for public.
House of Commons and Singha Darbar is running.