काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्बु ओलीले विपत्तिको समयमा राजनीतिक पक्ष–विपक्षभन्दा नागरिकको जीवनरक्षा र उद्धारलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले भोटेकोशीमा आएको विपत्तिपछि उद्धार तथा राहत वितरणलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद ओलीले सुरुङभित्र फसेकाहरूको उद्धार अपेक्षाअनुसार अघि बढ्न नसकेको भन्दै उपलब्ध सबै सम्भावित प्रविधि, उद्धारका उपाय तथा दक्ष जनशक्ति तत्काल परिचालन गर्न सरकारसँग आग्रह गर्नुभयो ।
उद्धार गरी अस्थायी आश्रयस्थलमा राखिएका नागरिकमध्ये महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीको अवस्था थप संवेदनशील रहेको उहाँले बताउनुभयो । मधुमेह, उच्च रक्तचाप, क्यान्सरलगायत दीर्घरोगका बिरामीको नियमित औषधि अवरुद्ध हुन नदिन स्वास्थ्य मन्त्रालयले विशेष स्वास्थ्य टोली परिचालन गर्नुका साथै आवश्यक औषधिको व्यवस्था तत्काल गर्नुपर्ने उहाँको भनाइ छ ।
“भोटेकोशीको यो भीषण विपत्तिको घडीमा हामी सत्ता पक्ष र प्रतिपक्ष होइनौँ, हामी एउटै राज्य हौँ, एउटै पीडामा उभिएका नेपाली हौँ । शवको प्रतीक्षामा रहेका परिवारको पीडा होस् वा सम्पर्कविहीन आफन्त फर्किने आशामा टोलाइरहेका आँखाहरू, यो पीडा सबैको साझा पीडा हो,” उहाँले भन्नुभयो ।
उहाँले विपत्तिको समयमा राजनीति गर्नुभन्दा जीवनरक्षा र नागरिकको उद्धारलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
सांसद ओलीले जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रियस्तरमा जलवायु न्यायका लागि पहल गर्दा सरकारले तथ्य र स्पष्ट योजनासहित अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
अर्थमन्त्री र कृषिमन्त्रीले ‘लस एन्ड ड्यामेज’ कोषका लागि पत्राचार गरेको भनिए पनि त्यसमा माग गरिएको रकम, प्रभावित क्षेत्र तथा समयसीमा स्पष्ट नभएको उहाँले बताउनुभयो । नेपालको पुनर्निर्माण लागत अर्बौँ डलर पुग्न सक्ने उल्लेख गर्दै उहाँले सीमित अन्तर्राष्ट्रिय कोषबाट प्राप्त हुने रकममा मात्रै निर्भर हुन नहुने धारणा राख्नुभयो ।
प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन लागेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको जलवायु न्यायको मुद्दा स्पष्ट रूपमा उठाउन आग्रह गर्नुभयो ।
सांसद ओलीले जलवायु परिवर्तनले विपद्को जोखिम बढाए पनि त्यसलाई घरेलु कमजोरी ढाकछोप गर्ने आधार बनाउन नहुने बताउनुभयो ।
“जलवायु परिवर्तनले जोखिम बढाउँछ तर विगतका कैयौँ दशकलाई हेरौँ । नदीको प्राकृतिक बहाव मास्ने निर्णय कसले गर्यो ? अव्यवस्थित सहरीकरणलाई अनुमति कसले दियो ? वातावरणीय मापदण्डको उल्लङ्घनमा आँखा कसले चिम्ल्यो ? विपद् पूर्वतयारी, पूर्वसूचना, उद्धार र समन्वयमा कमजोरी कहाँ भयो ?” उहाँले प्रश्न गर्नुभयो ।
उहाँले जलवायु न्यायको अर्थ बाह्य दोषी खोज्नु मात्र नभई आफ्नो जिम्मेवारी र कमजोरीका विषयमा समेत जवाफदेहिता सुनिश्चित गर्नु भएको बताउनुभयो ।
“नेपालले अब सहायता माग्ने मात्र होइन, न्याय माग्ने आवाज उठाउनुपर्छ । तर त्यो आवाज आफ्नै घरभित्रको जवाफदेहिताबाट सुरु हुनुपर्छ,” उहाँले भन्नुभयो ।
सांसद ओलीले विगतका विपद्बाट पाठ सिक्दै सरकारले आगामी दिनमा विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी, पूर्वसूचना, उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।






सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल
नेपथ्यको कन्सर्टले तताउनेछ दसैँको माहोल,
एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णयबारे
नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि,
‘आ बाट आमा २’ को
‘टनेल २६ः द कर्स बिनिथ