काठमाडौं । नेपाली साहित्यका सशक्त आख्यानकार विश्वेश्वरप्रसाद कोइरालाको ११३औं जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालले ‘आख्यानमा विश्वेश्वरप्रसाद कोइराला’ विषयक संगोष्ठी आयोजना गरेको छ । साहित्य सदन नेपालको आयोजनामा राजधानीमा सम्पन्न संगोष्ठीमा कोइरालाको आख्यानमा अभिव्यक्त समाज, नारी–पुरुष सम्बन्ध, प्रगतिशील वैचारिकता तथा दिक्काल (क्रोनोटोप)लगायतका विषयमा गहन विमर्श गरिएको थियो । सहभागी साहित्यकार तथा अध्येताहरूले नेपाली आख्यानको विकासमा कोइरालाको विशिष्ट र बहुआयामिक योगदान रहेको चर्चा गरे ।
संगोष्ठीमा प्राडा.लक्ष्मणप्रसाद गौतमले ‘विश्वेश्वरप्रसाद कोइरालाका आख्यानमा इतरजातीय नारीपुरुष सम्बन्ध’, प्राडा.नारायणप्रसाद चालिसेले ‘विश्वेश्वरप्रसाद कोइरालाका आख्यानको प्रगतिशील वैचारिक समाजदर्शन’ र डा.अनुपमा रेग्मीले ‘विश्वेश्वरप्रसाद कोइराला कथामा प्रयुक्त दिक्काल (क्रोनोटोप)’ विषयक गोष्ठीपत्र प्रस्तुत गर्नुभयो । गोष्ठीपत्र प्रस्तुत गर्दै वक्ताहरूले कोइरालाका आख्यानमा तत्कालीन नेपाली समाज, मानवीय सम्बन्ध, सामाजिक संरचना तथा व्यक्तिको मनोविज्ञानलाई विशिष्ट ढंगले प्रस्तुत गरिएको बताउनुभयो । नेपाली साहित्यको आख्यान क्षेत्रमा कोइरालाले स्थापित गरेको विशिष्ट पहिचान र योगदानमाथि पनि उहाँहरूले प्रकाश पार्नुभयो ।
कार्यक्रममा पूरक प्रस्तोताका रूपमा प्राडा.रमेशप्रसाद भट्टराई, प्राडा.ज्ञानु पाण्डे र प्राडा.गोपीन्द्र पौडेलले गोष्ठीपत्रमाथि टिप्पणी तथा सुझाव राख्दै कोइरालालाई नेपाली आख्यान क्षेत्रको धरोहरका रूपमा चित्रण गर्नुभयो । संगोष्ठीमा डा.विष्णुविभु घिमिरे, प्राडा.जीवेन्द्रदेव गिरी, प्राडा.हेमचन्द्र नेपाल, प्रा.पुरुषोत्तम दाहाल, प्राडा.रामप्रसाद ज्ञवाली, प्राडा.जगदीशचन्द्र भण्डारी, साहित्यकार नर्मदेश्वरी सत्याल, भीमानन्द ढुंगाना, देविका तिमल्सिना, रमेश खनाललगायतले पनि कोइरालाको साहित्यिक योगदानका विविध पक्षमा पूरक विचार राख्नुभएको थियो ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ६ का वडाध्यक्ष एवं विशेष अतिथि भुवन लामाले कोइरालाको लोकतन्त्रप्रतिको योगदानको चर्चा गर्दै साहित्य सदन नेपालप्रति आफ्नो साथ र सहयोग निरन्तर रहने बताउनुभयो ।
साहित्य सदन नेपालका उपाध्यक्ष मित्रलाल पंज्ञानीले संगोष्ठीको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो भने सदनका सचिव प्रह्लाद पोख्रेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
संगोष्ठीका प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा.तुलसीप्रसाद भट्टराईले कोइरालाको राजनीतिक तथा साहित्यिक योगदानमाथि प्रकाश पार्दै साहित्य सदन नेपालले कोइरालाका आख्यानमा केन्द्रित भएर आयोजना गरेको संगोष्ठी वर्तमान सन्दर्भमा अत्यन्त महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले मुलुकभरिका कार्यक्रममध्ये उक्त कार्यक्रमलाई अत्यन्त महत्त्वपूर्ण कार्यक्रमका रूपमा समेत चित्रण गरे । डा.भट्टराईले वर्तमान अवस्थामा लोकतान्त्रिक स्रष्टाहरू पुनः एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । साहित्य र लोकतन्त्रका पक्षमा स्रष्टाहरूको सामूहिक भूमिका अझ सशक्त हुनुपर्ने उहाँको भनाइ थियो ।
संगोष्ठीको अध्यक्षता गरेका साहित्य सदन नेपालका अध्यक्ष प्राडा.हेमनाथ पौडेलले विश्वेश्वरप्रसाद कोइरालाको योगदान नेपाली राजनीतिमा मात्र नभई नेपाली साहित्यमा समेत विशिष्ट रहेको बताउनुभयो । उहाँले ठूला राजनीतिक दलहरूले मुलुक र जनताको हितभन्दा पार्टी तथा व्यक्तिस्वार्थलाई प्राथमिकता दिँदा जनतामा असन्तुष्टि बढेको र त्यसकै परिणामस्वरूप वर्तमान अवस्था सिर्जना भएको धारणा राख्नुभयो ।
नेपाल अहिले राजनीतिक रूपमा दोबाटोमा रहेको उल्लेख गर्दै पौडेलले लोकतन्त्रवादी शक्तिहरूले आत्मसमीक्षा गर्दै सुधारको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै लोकतान्त्रिक शक्ति एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै त्यसको सुरुवात साहित्यकारहरूबाटै हुनथालेको बताउनुभयो । प्रमुख अतिथि डा.भट्टराईले उठाएको लोकतान्त्रिक स्रष्टाहरूको संयुक्त मञ्च निर्माणको आवश्यकतालाई समर्थन गर्दै पौडेलले त्यसका लागि पहल गर्नुपर्ने धारणा पनि राख्नुभएको थियो । उपस्थित साहित्यकार तथा सहभागीहरूलाई धन्यवाद दिँदै उहाँले संगोष्ठी समापन गर्नुभएको थियो ।
संगोष्ठीमा खगेन्द्र संग्रौला, प्राडा.कुलप्रसाद कोइराला, प्रा.प्रयागराज वाशिष्ठ, कोषराज न्यौपाने, ईश्वरीप्रसाद लामिछाने, गोविन्द घिमिरे ‘वेदमणि’, मातृका पोख्रेल, गोकुल अधिकारी, प्राडा.नन्दीश अधिकारी, मधुसूदन पाण्डेय, शान्ता मानवी, डा.बिन्दु शर्मा, डा.गीता त्रिपाठी, डा.रजनी ढकाल, डा.विदुला घिमिरे, डा.हरिप्रसाद सिलवाललगायत विशिष्ट साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।







अविरल वर्षासँगै बाजुरामा पहिरो, साँफे–मार्तडी
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
लेदुवा खोलाको पुल सात वर्षदेखि
चोरीको खसी खरिद–बिक्रीको आरोपमा चार
सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन
चितवनमा फेला परेका ३६२ शवमध्ये