काठमाडौं । खाना पकाउने एलपी ग्यास अभावले अन्ततः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको पद नै खाइदिएको छ । लामो समयदेखि बजारमा चुलिएको ग्यास अभावको समस्या समाधान गर्न नसकेपछि अन्ततः मन्त्री यादवले बिहीबार पदबाट राजीनामा दिनुभएको हो । त्यो पनि समस्या समाधान गर्न उद्योगी-व्यवसायीलाई ‘पाता कस्नुपर्ने’ विवादित अभिव्यक्ति दिएको भोलिपल्टै उहाँको मन्त्री पद गुमेको हो । विवादित बोलीको २४ घण्टा पनि नबित्दै यादवले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाउनुभएको हो । चैत २७ गते मन्त्रालय सम्हाल्नुभएकी यादव १५३ दिनमै मन्त्रालयबाट बाहिरिनुभयो । राजीनामापछि उहाँ आँखाभरी आँशु पारेर मन्त्रालयबाट बाहिरिनुभएको थियो । तत्कालीन श्रममन्त्री दीपककुमार साह विवादमा परेपछि राजीनामा दिएर रिक्त रहेको ठाउँमा मन्त्रालय साटफेर गरेर यादव नियुक्त हुनुभएको थियो । यादवको राजीनामापछि मन्त्रालयको जिम्मेवारी दीपककुमार साहलाई दिइएको हो ।
यसअघि बुधबार संसद्को उद्योग तथा वाणिज्यसम्बन्धी संसदीय समितिमा उहाँले कर्मचारी र उद्योगी-व्यवसायीले सहयोग नगर्दा केही गर्न नसकेको भन्दै निरीहता प्रकट गर्नुभएको थियो । उहाँले नेपालमा रहेका ५८ वटा ग्यास उद्योगसमेत आवश्यकताभन्दा धेरै भएको भन्दै दुईवटा उद्योग भए पुग्ने र बाँकीको लाइसेन्स खारेज गर्नुपर्ने धारणासमेत राख्नुभएको थियो । ग्यास अभाव बारेको छलफलमा संसदीय समितिमै सांसदहरूले राजीनामा मागेका थिए । रास्वपा सांसद बदनकुमार भण्डारीले ग्यास आपूर्ति सहज बनाउन नसक्ने भए राजीनामा दिन मन्त्री यादवलाई आग्रह गर्नुभएको थियो । ‘दर्जनौँ मान्छेले ग्यास भएन भनेका छन् । यस्तो लाजमर्दो स्थिति हुन्छ ? सक्नुहुन्न भने राजीनामा दिने’, उहाँले भन्नुभएको थियो । उहाँको अभिक्तिपछि उद्योगीहरू आक्रोशित भएका थिए । सरकार र नेपाल आयल निगमले ग्यास आयात भइरहेको तथ्यांक सार्वजनिक गरिरहे पनि उपभोक्ताले भने बजारमा सिलिण्डर पाउन सकेका थिएनन् र छैनन् । काठमाडौं उपत्यकामा ग्यासका लागि लाइन, चर्को मूल्य र कालोबजारीको गुनासो बढिरहेको छ । कृष्णभीरमा सडक भासिएपछि आपूर्ति झन् प्रभावित बनेको हो ।
ग्यासको समस्या समाधान गर्न उद्योग मन्त्रालयले हटलाइन नम्बरसमेत सार्वजनिक गरेको थियो । तर, हटलाइन, अनुगमन र अन्य प्रयासका बाबजुद ग्यास अभावको समस्या कायमै रह्यो । गत साउनमा ग्यास अभावको समस्या झन् बल्झिँदै गएपछि मन्त्रालयले विभिन्न ठाउँमा अनुगमनसमेत बढाएको थियो । त्यसक्रममा मन्त्री यादवको सचिवालयले काठमाडौंको र्याडिसन होटलमा अनुगमन गरी ठूलो संख्यामा ग्यास सिलिण्डर राखिएको विवरण सार्वजनिक गरेको थियो । त्यतिबेला होटलहरूमा छापा मारेको भन्दै उद्योगमन्त्रीको विरोध भएको थियो ।
ग्यास अभावकै बीच जिल्ला प्रशासन कार्यालयमार्फत नागरिकता हेरेर उपभोक्तालाई ग्यास वितरण गर्ने व्यवस्था पनि गरिएको थियो । तर, यी प्रयासले पनि अभावको समस्या पूर्णरूपमा समाधान हुन सकेन । अन्ततः ग्यास अभावलाई लिएर सरकारमाथि बढ्दो दबाब, संसदीय समितिमा मन्त्री यादवकै विवादास्पद अभिव्यक्ति र कर्मचारी तथा उद्योगीमाथि लगाएको आरोपबीच उहाँले बिहीबार पदबाट राजीनामा दिनुभएको हो ।
स्वैच्छिक राजीनामा कि बर्खास्ती ?
उहाँ निकटकाहरूले स्वेच्छाले पदत्याग राजीनामा गरेको दाबी गरे पनि प्रधानमन्त्रीको सचिवालयबाटै दबाब आएपछि राजीनामा दिन बाध्य भएको सिंहदरबार स्रोत बताउँछ । स्वयं रास्वपा सांसद अमरेशकुमार सिंहले भने यादवको राजीनामा नभई बर्खास्ती भएको दाबी गर्नुभएको छ । प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीबाट बर्खास्त हुने अवस्था आएपछि यादवले राजीनामा दिएको संकेत गर्नुभयो । ‘गौरीकुमारी यादवले त्यो दिन राजीनामा दिनुपर्थ्यो, जुन दिन रातमा प्रहरी परिचालन गरेको थियो । प्रधानमन्त्रीले जतिबेला पनि मन्त्रीलाई बर्खास्त गर्न सक्छन् चित्त बुझेन भने । तर, प्रधानमन्त्रीले पठाउँछन् मन्त्रीलाई पक्राउ गर्न या सचिवालयले पठाउँछन् । यो सचिवालयको केही साथीहरूको कुरा सुन्दा म झस्कन्छु कि म कुन देशको सांसद हुँ’, उहाँले भन्नुभयो, ‘गौरीकुमारीको राजीनामा होइन, सही रूपमा भन्ने हो भने बर्खास्ती हो । किनकि, रुँदै निस्किएको भिडियो देखेको छु ।’
यादवको मन्त्री पदबाट बहिर्गमनको पृष्ठभूमि ग्यास अभाव मात्रै थिएन । मन्त्री बनेयता उहाँ विभिन्न विवादमा तानिँदै आउनुभएको थियो । यसअघि पेट्रोलियम पदार्थको मूल्य परिवर्तनअघि व्यवसायीसँग मन्त्रालयमै भएको भेटघाट र त्यससम्बन्धी सूचना चुहिएको विषयमा पनि उहाँमाथि प्रश्न उठेको थियो । यसअघि उहाँलाई पक्राउ गर्न प्रधानमन्त्री कार्यालयबाट प्रहरी परिचालन गरिएको भन्ने समाचारसमेत सार्वजनिक भएको थियो ।
बोलीकै कारण विवादमा तानिएका मन्त्री अरू पनि छन् । गृहमन्त्री सुधन गुरुङ, पूर्वाधारमन्त्री सुनिल लम्सालदेखि कानुनमन्त्री सोविता गौतमसम्म बोलीकै कारण विवादमा तानिनुभएको थियो । गृहमन्त्री गुरुङले ‘जेन–जी’ दिवसमा केही पत्रकारलाई लक्षित गरी दिएको अभिव्यक्ति अहिले विवादमै छ । गुरुङ पनि सम्पत्ति विवरण बुझाएपछि विवादमा तानिनुभएको थियो । विवाद बढ्दै गएपछि उहाँले पनि पदबाट राजीनामा दिनुभएको थियो । उहाँका विषयमा छानविन समितिसमेत गठन भएर छानविन भएको थियो । तर, छानविन समितिले सम्पत्ति कमाएको विषयमा गुरुङको नभएर प्रणालीको समस्या देखाएर प्रतिवेदन बुझाएको भन्दै प्रधानमन्त्री शाहले उनै गुरुङलाई पुनः गृहमन्त्री नियुक्त गर्नुभएको हो । तर, प्रतिवेदन भने अझै सार्वजनिक भएको छैन । वैशाख ९ गते राजीनामा दिनुभएका गुरुङ जेठ २६ मा पुनः गृहमन्त्री नियुक्त हुनुभएको थियो । पूर्वाधारमन्त्री लम्सालले काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने चेतावनी दिनुभएको थियो । रास्वपासँग कानुन पास गर्ने दुईतिहाइ मत छ । तर, कानुनमन्त्री गौतमले उल्टै राष्ट्रियसभामा बहुमत नभएर कानुन पास गर्न नसकेको कुतर्क गर्नुभएको थियो, जसको अहिले आलोचना भइरहेको छ ।
ग्यास वितरणमा गडबडीबारे सार्वजनिक बैठक गर्न माग
रास्वपा सांसद बोधनारायण श्रेष्ठले एलपिजी ग्यासको वितरण प्रणालीमा गडबडी देखिएको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले भारतबाट ग्यास निरन्तर आइरहेको भए पनि वितरण प्रणालीमा गडबडी देखिएकाले मन्त्रालय, नेपाल आयल निगम, उद्योगी र व्यापारीहरूलाई एकै ठाउँमा राखेर सार्वजनिक बैठक गरिनुपर्ने माग गर्नुभएको हो । समस्या कहाँ र कसका कारण रोकिएको हो भन्ने कुरा आमजनताले प्रत्यक्ष थाहा पाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले हाल २० वटा गाडीले ढुवानी गरिरहेको भए त्यसलाई बढाएर १०० वटा गाडी परिचालन गरी बजारमा आपूर्ति सहज बनाउन सुझाव दिनुभयो । ग्यासमाथिको दीर्घकालीन निर्भरता कम गर्न सरकारले विद्युतीय चुल्हो विशेष छुटमा उपलब्ध गराउने योजना तत्काल ल्याउनुपर्ने उहाँले बताउनुभयो ।
उद्योग समितिबाट राजीनामा दिने सांसद भण्डारीको घोषणा
सांसद हरिमोहन भण्डारीले प्रतिनिधिसभाको उद्योग समितिको सदस्य पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उहाँले जनतालाई ग्यास दिन नसकेको विषयमा आपत्ति जनाउँदै उक्त समितिको सदस्य पदबाट राजीनामा दिने घोषणा गर्नुभएको हो । ‘अहिले राज्यमा ग्यास पनि दिन सकेका छैनौँ । बाटो बिग्रेको ठाउँमा बोकेर पनि दिनुपर्छ । डेलिभरी दिनुपर्ने हाम्रो दायित्व हो’, उहाँले भन्नुभयो, ‘सामान्य डेलिभरी पनि दिन सक्दैनौँ भने परिवर्तनको के काम ? म पनि उद्योग समितिमा छु । म राजीनामा दिन्छु । नैतिकताको आधारमा मेरो पनि जिम्मेवारी छ । म बस्न कसरी सक्छु ? मैले साथीहरूलाई पनि भनिसकेको छु ।’
को हुन् नवनियुक्त मन्त्री साह ?
दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्नुभएको छ । उहाँ बिहीबार गौरीकुमारी यादवले राजीनामा दिएपछि उक्त मन्त्रालयको जिम्मेवारीमा आउनुभएको हो । डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबाट राजनीति यात्रा थाल्नुभएका ई. साह जनमत पार्टीको उपाध्यक्षसमेत हुनुभएको थियो । पार्टीमा राउतसँग खटपट भएपछि उहाँ निस्किएर आफ्नै नेतृत्वमा पार्टी पनि खोल्नुभयो । तर, पछि उहाँले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकता गर्नुभयो । पछि उज्यालो नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्यो, यद्यपि उक्त एकता टिकेन । तर रास्वपा आइसकेका साह कुलमानतिर फर्किनुभएन । र, सुनसरी-४ बाट टिकट पाउनुभएका उहाँले प्रतिनिधिसभा निर्वाचन जित्नुभयो । पुल्चोक इन्जिनियरिङ कलेजबाट छात्रवृत्तिमा इन्जिनियरिङ उत्तीर्ण गर्नुभएका साहले विभिन्न हाइड्रोपावर कम्पनीमा लामो समय काम गर्नुभयो । बुवा मदनलाल र आमा रेखादेवी साहका जेठा सन्तान दीपकका एक बहिनी र दुई भाइ हुनुहुन्छ । बहिनी राधाकुमारीको विवाह भइसकेको छ भने भाइ पंकज गाउँमै खेतीपाती गर्नुहुन्छ । अर्का भाइ वीरेन्द्रकुमार लहानको एउटा अस्पतालमा कार्यरत हुनुहुन्छ । दीपकको विवाह भारतको फारबिसगञ्जकी शारदा सुमनसँग भएको हो र उहाँका एक छोरी तथा एक छोरा हुनुहुन्छ ।
ग्यास आपूर्ति सहज बनाउनु मेरो पहिलो प्राथमिकता : नवनियुक्त मन्त्री साह
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले आफ्नो कार्यकालको पहिलो प्राथमिकता आम नागरिकलाई आवश्यक पर्ने ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउने रहेको बताउनुभएको छ । बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुग्नुभएका नवनियुक्त मन्त्रीले पत्रकारहरूसँग कुरा गर्दै जनताको आवश्यकतालाई आफूले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । शपथग्रहणपछि ग्यासको अभावबारे सोधिएको प्रश्नमा उहाँले भन्नुभयो, ‘जनतालाई जति आवश्यक छ, त्यो दिनैपर्छ । यस विषयमा छलफल गरेर आवश्यक कदम चाल्नेछौँ ।’ उहाँले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सर्वप्रथम निवर्तमान मन्त्री गौरीकुमारी यादवसँग विगतमा भएका कामकारबाही र बाँकी रहेका कार्ययोजनाबारे जानकारी लिने र त्यसैका आधारमा अघि बढ्ने बताउनुभयो ।







फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित
भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु