मेरो सानो हात समाएर हिँडाएको
मलाई सम्झना छैन।‘को खाइ... को खाइ...’ भन्दै
आफ्नो गाँस छोडेर
मेरो मुखमा गाँस हालेको पनि
सम्झना छैन।
तर,
काँधमा बोकेर
गाउँका उकाली–ओराली डुलाएको
अझै सम्झन्छु।
मै छोरी सुन्दरी
कसरी भरौँ पानी.... भन्दै
काखमा हल्लाएको अझै ताजै छ ।
आजपनि,
बुवाको त्यो झुत्रिएको लुगा,
घामले डढेको अनुहार,
निधारबाट बग्ने पसिना
र थकाइ लुकाएर मुस्कुराएको त्यो अनुहार
आज पनि मेरो आँखाअगाडि आउँछ।
त्यो बेला लाग्थ्यो—
बुवा कहिल्यै बूढो हुनुहुन्न।
तर समयले
बुवाको कपालमा सेतो रङ भरिदियो,
हातका नसाहरू बाहिर निकालिदियो,
घुँडामा पीडा थुपारिदियो
र आँखामा
हाम्रो बाटो कुर्ने बानी बसालिदियो।
बुवा रात–साँझ नभनी
हाम्रै लागि खेतबारीमा पसिना बगाउनुहुन्थ्यो।
आफूले पढ्न पाउनुभएन,
तर हाम्रो हातमा किताब देख्न चाहनुभयो।
हाम्रो रहर पूरा गर्न
आफ्ना रहरहरू मार्नुभयो।
आफ्नो पेट आधा राखेर
हाम्रो पेट भर्नुभयो।
आफ्नो शरीर घाममा डढाएर
हाम्रो भविष्य उज्यालो बनाउनुभयो।
त्यो बेला लाग्थ्यो—
‘बुवा त बुवा हुन् नि, उहाँलाई के हुन्छ र?’
तर बुवा पनि थाक्नुहुँदो रहेछ,
बुवा पनि बूढो हुनुहुँदो रहेछ।
त्यो थाहा पाउन
आफू पनि बुवा हुनु पर्दो रहेछ।
हो बुवा,
म पनि आज बुवा भएको छु।
बल्ल बुझ्दैछु
बुवाका इच्छा र चाहनाहरू।
आज सन्तानका लागि
मैले पनि मेरा व्यक्तिगत इच्छा मार्दैछु।
उनीहरूकै खुसीका लागि
हिजो बुवाले गरेझैँ
म पनि गरिरहेको छु।
मलाई थाहा छ, बुवा—
हिजो घरमा
‘आज के पकाऊँ?’ भन्ने चिन्ता थियो।
आज
‘पकाएर दिने को होला?’
भन्ने पीडा छ।
हिजो घरका सबै काम
परिवार मिलेर हुन्थे।
आज
दुई बूढा काँधले
सम्पूर्ण घर धानिरहेका छन्।
एक गिलास पानी सारेर खान नसक्ने अवस्थामा हुनुहुन्छ।
तर पनि
छोराको फोन आउँदा
दुःख लुकाएर भन्नुहुन्छ—
‘म त ठीकै छु बाबु...
तिमी आफ्नो ख्याल गर।’
कति ठूलो झूट बोल्नुहुन्छ, बुवा!
तपाईं ठीक हुनुहुन्न।
तपाईंको शरीर दुखेको छ,
तर त्योभन्दा बढी
तपाईंको मन दुखेको छ।
पैसाभन्दा बढी
छोराको उपस्थिति चाहिएको छ।
आज घरभन्दा बढी
छोराको काँध चाहिएको छ।
तर छोरा कहाँ छ?
परदेशमा
वा कुनै स्वदेशी सहरमा।
विडम्बना यही हो—
बुवाले मेरो भविष्यका लागि
आफ्नो वर्तमान दिनुभयो।
र म
मेरो सन्तानको भविष्यका लागि
बुवाको वर्तमान छोडेर हिँडिरहेको छु।
बुवा भएपछि मात्र
बुवाको मन बुझिँदो रहेछ।
छोराछोरीले खाना खाए कि खाएनन् भन्ने चिन्ता,
बिरामी हुँदा निद्रा नलाग्ने रात,
आफूले सबै दुःख सहेर पनि
सन्तानको चाहना पूरा गर्न पाउँदाको खुसी—
आज बल्ल बुझ्दैछु,
बुवा हुनु भनेको
आफूलाई बिर्सिएर
सन्तानमा बाँच्नु रहेछ।
तर एउटा प्रश्नले
हरेक रात मलाई पोल्छ—
बुवा,
तपाईंले मेरो बाल्यकाल कुर्नुभयो,
के म तपाईंको बुढेसकाल कुर्न सक्छु?
हो बुवा,
मलाई राम्रोसँग थाहा छ—
जीवनको अन्तिम क्षणमा
तपाईंको मुखमा दुई थोपा जल राखिदिने हात हुनु मात्र
छोरा हुनुको सार्थकता होइन।
कतै यस्तो नहोस्,
तपाईंले मेरो बाटो हेर्दाहेर्दै
आँखा बन्द गर्नुपरोस्।
कतै यस्तो नहोस्,
‘छोरा आउँछ’ भन्ने आशामा
तपाईंको अन्तिम सास रोकिरहोस्।
कतै यस्तो नहोस्—
छोरा पैसा गन्दै बसिरहोस्
र आर्यघाटमा
बुवाको चिता जलिरहोस्।
कतै यस्तो नहोस्—
बुवाको अन्तिम यात्रा सुरु हुँदा
छोरासँग बुवाको काँध समाउने
समयसमेत नहोस्।
आर्यघाटमा
छोरा कुर्दाकुर्दै
आँखा बन्द गरेको बुवाको
अन्तिम प्रतीक्षाभन्दा
दुःखद दृश्य
सायद यो संसारमा अर्को हुने छैन।
बुवाको मुख हेर्ने दिन २०८३ भदौ २६ गते, शुक्रबार
काठमाडौं ।







त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक