काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले बाढी प्रभावित जनताका लागि तत्काल उद्धार तथा राहतसँगै अस्थायी पुनःस्थापना र दीर्घकालीन पुनर्निर्माणका लागि स्पष्ट योजना तथा कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा उहाँले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट जनधनको अपूरणीय क्षति भएको तथा रसुवा, नुवाकोट र धादिङका नदी आसपासका बासिन्दाले घर, खेत तथा सम्पत्तिसमेत गुमाएर सुकुम्वासीको अवस्थामा पुगेको बताउनुभयो ।
बाढीबाट क्षतिग्रस्त सडक, पुल, विद्यालय, स्वास्थ्य संस्था, खानेपानी आयोजना तथा विद्युत् संरचनाको पुनर्निर्माणका लागि समयसीमा तोकेर काम अघि बढाउन उहाँले सरकारसँग आग्रह गर्नुभयो ।
“२०७२ को गोर्खा भूकम्पका बेलाजस्तो प्रभावित परिवारको घर पुनर्निर्माण गरेर मात्र पुग्ने अवस्था छैन,” उहाँले भन्नुभयो, “बाढी प्रभावितको घर उभ्याउने र सुरक्षित जमिनको व्यवस्थापन गर्ने दायित्व पनि राज्यकै हो ।”
विस्थापित परिवारका लागि तत्काल सुरक्षित अस्थायी आवासको व्यवस्था गर्न तथा जोखिममुक्त बस्ती पहिचान गरी दीर्घकालीन रूपमा सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना बनाउन पनि उहाँले आग्रह गर्नुभयो ।
सांसद पुनले विपद् आउनुअघि जोखिम पहिचान गरी नागरिकलाई समयमै पूर्वसूचना दिने प्रभावकारी प्रणाली विकास गर्नुपर्नेमा जोड दिनुभयो । हिमताल, हिमपहिरो, नदी तथा जलवायु परिवर्तनबाट उत्पन्न जोखिमको नियमित अध्ययन र निगरानी गर्नुपर्ने उहाँको भनाइ थियो ।
पूर्वमन्त्रीसमेत रहनुभएका पुनले जलवायु परिवर्तनका कारण नेपालले ठूलो क्षति व्यहोर्दै आएको उल्लेख गर्दै जलवायु न्याय र क्षतिपूर्तिको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्ने बताउनुभयो । जलवायु सङ्कट निम्त्याउन नेपालको योगदान न्यून भए पनि त्यसको असरबाट नेपालजस्ता हिमाली मुलुक बढी प्रभावित भइरहेकाले अन्तर्राष्ट्रिय सहयोग र क्षतिपूर्तिका लागि थप पहल गर्नुपर्ने उहाँको धारणा थियो ।
हरेक वर्ष विपद् आएपछि मात्र उद्धार र राहतमा केन्द्रित हुने प्रवृत्तिबाट माथि उठेर पूर्वतयारी, जोखिम न्यूनीकरण, वैज्ञानिक निगरानी तथा संस्थागत विपद् व्यवस्थापनमा आधारित राष्ट्रिय प्रणाली निर्माण गर्नुपर्नेमा पनि सांसद पुनले जोड दिनुभयो ।







भारतले नेपाललाई दैनिक ६५४ मेगावाट
प्रधानमन्त्री राहत कोषमा रु १३
छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई