काठमाडौं । भोटेकोशी बाढीका कारण पूर्वनिर्धारित मितिमा प्रदर्शन हुन नसकेको चलचित्र ‘बाः एक योद्धा’ले नयाँ प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर चलचित्रलाई आगामी असोज ९ गतेदेखि देशव्यापी प्रदर्शनमा ल्याउने घोषणा गरेको हो ।
यसअघि बाढी प्रभावितका लागि दुई लाख रुपैयाँ सहयोग गर्दै चलचित्रको प्रदर्शन मिति पछि सारिएको थियो । निर्माता वसन्त लम्सालका अनुसार वितरक तथा प्रदर्शकसँगको छलफलपछि असोज ९ गतेलाई नयाँ प्रदर्शन मिति तय गरिएको हो ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापालगायत कलाकारको अभिनय छ । फिचर फिल्मतर्फ लम्सालको यो पहिलो निर्देशन हो ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्मित चलचित्रका निर्माता वसन्त लम्साल, कार्यकारी निर्माता अनिल बुढाथोकी र सहनिर्माता कृष्ण काफ्ले हुुनुहुन्छ । शिवराम श्रेष्ठको छायांकन र मित्र डि. गुरुङको सम्पादन रहेको चलचित्रलाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।
सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई कथाको केन्द्रमा राखिएको ‘बाः एक योद्धा’ले असोज ९ गतेदेखि भने अन्य दुई नेपाली चलचित्रसँग प्रतिस्पर्धा गर्नेछ ।
सोही मितिमा ‘आचार्य’ र ‘जदौ’ पनि प्रदर्शनमा आउनेछन् । निखिल उप्रेतीको अभिनय तथा निर्देशन रहेको ‘आचार्य’ एक्सन–ड्रामा चलचित्र हो ।
त्यस्तै, ऋचा शर्मा, मुकुन भुसाल, नीति शाह र प्रभातपाल ठकुरीको मुख्य अभिनय रहेको ‘जदौ’ प्रेम, जातीय भेदभाव र पारिवारिक द्वन्द्वमा आधारित फ्यामिली ड्रामा हो ।







देशभर मनसुनी गतिविधि सक्रिय, यी
पहिराले खस्दा रोल्पाको सहिदमार्ग अवरुद्ध
अविरल वर्षासँगै बाजुरामा पहिरो, साँफे–मार्तडी
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
लेदुवा खोलाको पुल सात वर्षदेखि
चोरीको खसी खरिद–बिक्रीको आरोपमा चार