काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले युनाइटेड अरब इमिरेट्स (युएई)लाई ४४ रनले पराजित गर्दै तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेटको उपाधि जितेको छ । उपाधिसँगै नेपाल सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एकदिवसीय एसिया कपका लागि छनोट भएको छ ।
मलेसियामा आज सम्पन्न फाइनलमा नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भएपछि नेपाल विजयी भएको हो । योसँगै नेपालले दोस्रोपटक प्रिमियर कपको उपाधि जितेको छ ।
युएईका राहुल चोपडाले १०५ बलमा तीन चौका र चार छक्कासहित अविजित १०० रन बनाउनुभए पनि टोलीलाई जित दिलाउन सक्नुभएन । युएईका लागि सोयब खानले ५२, तानिस सुरीले ४२, हरप्रीत सिंहले ३३ र खुजैमा तनवीरले १५ रन बनाउनुभयो ।
नेपालका लागि करण केसीले तीन तथा ललितनारायण राजवंशीले दुई विकेट लिनुभयो । कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र गुलशनकुमार झाले एक–एक विकेट लिनुभयो ।
त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३१३ रन बनाएको थियो ।
नेपालका ओपनर तथा विकेटकिपर आसिफ शेखले उत्कृष्ट शतकीय पारी खेल्नुभयो । उहाँले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रन बनाउनुभयो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उहाँको यो दोस्रो शतक हो ।
त्यस्तै, गुलशनकुमार झाले ३८ बलमा चार छक्का र तीन चौकाको मद्दतमा ५२ रन बनाउनुभयो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उहाँको यो छैटौँ अर्धशतक हो ।
नेपालका लागि अर्जुन कुमालले ४३, रोहितकुमार पौडेलले ४०, दीपेन्द्रसिंह ऐरीले १८, बसिर अहमदले अविजित १५ र ईशान पाण्डेले १३ रन बनाउनुभयो ।
युएईका इब्रार अहमदले चार तथा खुजैमा तनवीरले दुई विकेट लिनुभयो । हैदर अली र अबिद उस्मानीले एक–एक विकेट लिनुभयो ।
यो जितसँगै नेपालले दोस्रोपटक एसिया कपमा स्थान बनाएको छ । नेपालले यसअघि सन् २०२३ मा पनि युएईलाई पराजित गर्दै एसिया कपमा छनोट भएको थियो । अघिल्लो संस्करणको विजेता युएई भने यसपटक एसिया कप २०२७ मा छनोट हुनबाट वञ्चित भएको छ ।







हतुवागढीले जुटायो २४ लाख ५३
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन
बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन
म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण
भम्लु खोलामा सुख्खा पहिराले कर्णाली
भोटेकोशी बाढी : लुम्बिनीका २४८