न्युयोर्क । युएस ओपनको पुरुष एकल (मेन्स सिंगल्स) को फाइनलमा जर्मनीका विश्व नम्बर-१ खेलाडी अलेक्जेन्डर ज्वेरेव र अमेरिकाका बेन शेल्टनबीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार राती सम्पन्न सेमिफाइनल खेलमा ज्वेरेवले रुसका करेन खाचानोवलाई पराजित गर्दा शेल्टनले आफ्नै देशका फ्रान्सिस टियाफोलाई हराउँदै फाइनलमा स्थान पक्का गर्नुभएको हो । दुई खेलाडीबीचको यो रोमाञ्चक खिताबी भिडन्त आइतबार न्युयोर्कस्थित आर्थर ऐश स्टेडियममा हुनेछ ।
सेमिफाइनल खेलमा ज्वेरेवले खाचानोवलाई ६-३, ७-६, ७-६ को सोझो सेटमा पराजित गर्नुभयो । यस सिजन ग्राण्डस्लाम खेलहरूमा ज्वेरेवको प्रदर्शन उत्कृष्ट रहँदै आएको छ- जहाँ उहाँको रेकर्ड २४-२ को रहेको छ । वर्ष फ्रेन्च ओपनको उपाधि जित्नुभएका ज्वेरेव विम्बल्डनको फाइनलसम्म पुग्नुभएको थियो भने अब युएस ओपनको खिताबी भिडन्तमा उत्रिन लाग्नुभएको हो । ज्वेरेव आफ्नो करियरमा लगातार तीनवटा ग्राण्ड लामको फाइनलमा पुगेको यो पहिलोपटक हो ।
अर्को सेमिफाइनल खेलमा बेन शेल्टनले फ्रान्सिस टियाफोलाई ४-६, ६-३, ६-३, ७-५ को सेटमा पराजित गर्नुभयो । जितसँगै शेल्टन पहिलोपटक कुनै पनि ग्राण्डस्लामको फाइनलमा प्रवेश गर्नुभएको हो । उहाँसँगै सन् २००३ माएण्डी रोडिक च्याम्पियन बनेयता युएस ओपनको फाइनल खेल्ने पहिलो अमेरिकी पुरुष खेलाडी बन्ने दुर्लभ सफलता प्राप्त भएको छ । यसअघि क्वाटरफाइनलमा स्पेनका कार्लोस अल्काराजलाई पाँच सेटको रोमाञ्चक र लामो संघर्षमा हराएर शेल्टन सेमिफाइनलमा पुग्नुभएको थियो । २०२३ को युएस ओपनमा नोभाक जोकोभिच र २०२५ को अस्ट्रेलियन ओपनमा यानिक सिनरविरुद्ध सेमिफाइनलमा पराजित हुनुभएका शेल्टनले यसपटक भने तेस्रो प्रयासमा सफलता हासिल गर्नुभएको हो ।
यसैबीच, प्रतियोगिताको महिला डबल्सतर्फ चेक गणराज्यकी कातेरिना सिनियाकोवा र अमेरिकाकी टेलर टाउनसेन्डको जोडीले उपाधि जितेको छ । शीर्ष वरीयताको यो जोडीले न्युयोर्कमा आयोजित फाइनलमा अमेरिकी वाइल्ड कार्ड जोडी एशलिन क्रूगर र रा‘बिन मोंटगोमरीलाई ५-७, ६-०, ६-२ को सेटमा पराजित गर्यो । एजेन्सी







कति छ आज विदेशी मुद्राको
बाजुराका आमाको व्यथा : बाटामै
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण
देशभर मनसुनी वायुको प्रभाव, अधिकांश
भोटेकोशी बाढी : ‘डिएनए’ परीक्षण
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक