काठमाडौं । जापानको आइची-नागोयामा आगामी भदौ ३१ देखि सुरु हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा नेपालबाट २११ सदस्यीय जम्बो टोलीले सहभागिता जनाउने भएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले एसियाडमा सहभागी हुने नेपाली टोलीको औपचारिक विवरण सार्वजनिक गर्नुभएको हो । उद्घाटन समारोह १९ सेप्टेम्बरमा हुने भए पनि केही खेलहरू भने १६ सेप्टेम्बरदेखि नै सुरु हुने तालिका छ ।
एसियाडमा जम्बो टोली पठाएपछि फेरि पुरानै प्रवृत्ति दोहोरिएको भन्दै आलोचना सुरु भएको छ । एकातर्फ खेलाडीहरूले देशका लागि पदक जित्ने लक्ष्यसहित कडा प्रशिक्षण गरिरहेका छन् भने अर्कातर्फ खेलाडीको तुलनामा खेल पदाधिकारी, मन्त्रालयका कर्मचारी र अतिथिका रूपमा जापान उड्नेहरूको लामो सूचीलाई लिएर चर्को आलोचना सुरु भएको हो ।
एसियाडमा नेपालबाट २१ खेलका कुल १३५ जना खेलाडीहरूले विभिन्न स्पर्धामा सहभागिता जनाउनेछन् । जसमा ५७ महिला र ७८ पुरुष खेलाडी रहेका छन् । नेपालले सहभागिता जनाउने खेलहरूमा आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बक्सिङ, क्रिकेट, साइक्लिङ, गल्फ, जुडो, कबड्डी, कराते, र्याफ्टिङ एण्ड क्यानोइङ, स्केट एण्ड स्केट बोर्डिङ, सफ्ट टेनिस, स्क्वास, पौडी, टेबलटेनिस, तेक्वान्दो, टेनिस, भलिबल, कुस्ती र उसु रहेका छन् । सुरुमा २२ वटा खेलमा सहभागिता जनाउने भनिए पनि ब्रेकिङ एण्ड डान्स स्पोर्ट्स र स्वास्थ्य तथा प्राविधिक कारणले केही खेलाडीहरू अन्तिम समयमा बाहिरिएका हुन् । यसअघि नेपालले ई-स्पोर्ट्समा समेत छनोट चरण पार गरे पनि दुई संघबीचको विवाद र प्रशासनिक कमजोरीका कारण खेलाडीहरू अवसरबाट वञ्चित हुनुपरेको छ ।
नेपाली खेल टोलीको नेतृत्व राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव रामचरित्र मेहताले ‘सेफ द मिसन’ का रूपमा गर्नुहुनेछ भने नेपाल ओलम्पिक कमिटीका कोषाध्यक्ष टासी घले ‘डेपुटी सेफ द मिसन’ को भूमिकामा रहनुहुनेछ । यसबाहेक २९ जना प्रशिक्षक, १७ जना व्यवस्थापक र २ जना खेल प्राविधिकहरूलाई टोलीमा समेटिएको छ । खेलाडीहरूको स्वास्थ्य र उपचारका लागि भने सीमित जनशक्तिसहितको ६ सदस्यीय मेडिकल टिमको मात्र व्यवस्था गरिएको छ, जसमा क्रिकेटका लागि छुट्टै एक फिजियोसहित चार जना फिजियोथेरापिस्ट र चिकित्सकहरू रहेका छन् ।
खेलाडीको स्वास्थ्य उपचारका लागि पर्याप्त फिजियोथेरापिस्टको माग बारम्बार उठ्दै आए पनि राज्यले त्यसमा कन्जुस्याइँ गरेको तर मन्त्रालयदेखि राखेपसम्मका अधिकारी र कर्मचारीहरूको जम्बो टोली जापान भ्रमणमा जाने सूची तयार भएपछि पारदर्शिता र सुशासनमाथि गम्भीर प्रश्न उठेको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल आफैं यो टोलीको नेतृत्व गर्दै जापान जाँदै हुनुहुन्छ भने मन्त्रालयका सचिव चूडामणि पौडेल, मन्त्रीका स्वकीय सचिव तथा अर्थ मन्त्रालयका उपसचिवस्तरका कर्मचारीहरूसमेत अतिथिका रूपमा सूचीमा समेटिएका छन् । राखेपका उपाध्यक्ष, बोर्ड सदस्यहरू तथा विभिन्न विभाग र शाखाका प्रमुखहरू ‘हेडक्वार्टर अफिसियल’को नाममा जापान भ्रमणमा निस्कने तयारीमा छन् । यसैगरी, नेपाल ओलम्पिक कमिटी (एनओसी) बाट पनि अध्यक्ष र महासचिवसहितका १७ जना पदाधिकारीहरूको छुट्टै लर्को जापान जाने तयारीमा छ ।
सन् १९५१ मा आयोजित पहिलो संस्करणदेखि नै एसियाली खेलकुदमा निरन्तर सहभागिता जनाउँदै आएको नेपालले ७५ वर्षको यस लामो इतिहासमा अहिलेसम्म कुनै पनि स्वर्ण पदक जित्न सकेको छैन । नेपालको हालसम्मको सर्वोत्कृष्ट उपलब्धि भनेको तीनवटा रजत पदक हो, जुन तेक्वान्दो, प्याराग्लाइडिङ र गत वर्ष चीनको हाङझोउ एसियाडमा कराते खेलाडी एरिका गुरुङले जित्नुभएको थियो । यसका अतिरिक्त नेपालले विभिन्न विधामा २३ वटा कांस्य पदक हात पारेको छ । यसपटक स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने महत्त्वाकांक्षी लक्ष्यसहित खेलाडीहरू लामो समयदेखि बन्द प्रशिक्षणमा जुटेका छन् ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न