काठमाडौँ । भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि नेपाल प्रहरीले डिएनए परीक्षण, औँठाछाप र फोटो भिडान गरी तीनवटा विधि अपनाएको छ ।
बाढीमा फेला परेका शवबाट सङ्कलित नमुनाका आधारमा नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को प्रयोगशालामा डिएनए परीक्षण भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिनुभयो ।
शव पहिचानका लागि सङ्कलित डिएनए नमुनामा कुनै त्रुटि नहोस् भनेर सूक्ष्म रूपमा परीक्षण अघि बढाइएको छ । नेपाल प्रहरीको विशेषज्ञ टोलीलाई सहयोग गर्न भारत, चीन, दक्षिण कोरिया र सिङ्गापुरका विज्ञसमेत नेपाल आएका छन् । प्रहरीको विधिविज्ञान प्रयोगशालामा भारतीय र कोरियाली तथा खुमलटारस्थित प्रयोगशालामा भारतीय र चिनियाँ विज्ञले सहयोग गरिरहेका छन् ।
डिएनए परीक्षणका लागि चारवटा मेसिन सञ्चालनमा छन् । आवश्यक तयारीपछि एउटा मेसिनले करिब ९० मिनेटमा एउटा नमुनाको नतिजा निकाल्ने भए पनि अर्को नमुना परीक्षण गर्नुअघि मेसिनलाई पूर्ण रूपमा निर्मलीकरण गर्नुपर्ने हुन्छ ।
विशेषज्ञका अनुसार मृतकको हड्डी र दाँतबाट डिएनए परीक्षण गर्दा चार दिनसम्म लाग्न सक्छ । दाँत र हड्डीबाट डिएनए निकाल्दा ती अङ्गलाई धुलो बनाएर विशेष रसायनमा राखिन्छ । त्यसपछि करिब ७२ घण्टापछि मात्रै थप परीक्षण प्रक्रिया अघि बढाइन्छ ।
शनिबार अपराह्नसम्म फेला परेका शवको पहिचानका लागि आवश्यक प्रक्रिया पूरा गरी एक हजार २३० वटा शव माटोमुनि व्यवस्थापन गरिएको छ । शव पहिचानका लागि मृतकका एक हजार २८६ र आफन्तका एक हजार ७७९ गरी कुल तीन हजार ६५ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।
प्रहरीको विधिविज्ञान प्रयोगशालाको वार्षिक क्षमता करिब ४०० वटा डिएनए परीक्षण गर्ने रहेको छ । अहिले दैनिक २५ देखि ३० वटा नमुना परीक्षण भइरहेको प्रवक्ता काफ्लेले बताउनुभयो । प्रहरीले भदौ १३ गतेदेखि डिएनए नमुना सङ्कलन सुरु गरेको हो । हालसम्म करिब ४०० भन्दा बढी नमुनाको परीक्षण भइसकेको छ ।
कतिपय नमुनाको पुनःपरीक्षण गर्नुपर्ने अवस्था आउने विज्ञले बताएका छन् । विशेषगरी हड्डी र दाँतबाट निकालिएका डिएनए नमुनामध्ये करिब ३० प्रतिशतसम्मको नतिजा दोहोर्याएर परीक्षण गर्नुपर्ने हुनसक्ने बताइएको छ ।
फेला परेका शवका नमुनाको जतिसक्दो छिटो डिएनए परीक्षण गर्नेगरी काम भइरहेको प्रवक्ता काफ्लेले बताउनुभयो । परीक्षणलाई तीव्रता दिन बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा समेत प्रयोगशाला सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
“हेटौँडास्थित प्रदेश प्रहरी कार्यालयमा पनि चाँडोभन्दा चाँडो अर्को प्रयोगशाला सञ्चालन गर्दैछौँ । मेसिन ल्याइसकेका छौँ, ‘सेटअप’ भइरहेको छ, एक हप्ताभित्र सञ्चालनमा आउँछ,” उहाँले भन्नुभयो ।
भोटेकोशी विपद्पछिको खोज, उद्धार, शव पहिचान तथा व्यवस्थापनलाई प्राथमिकतामा राखेर प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आवश्यक पहल गरिरहनुभएको छ ।
डिएनए ‘म्याचिङ’ गर्न ‘कोडिस’ सफ्टवेयर
फेला परेका शव र हराइरहेका व्यक्तिका नजिकका आफन्तको नमुना सङ्कलन गरी डिएनए ‘म्याचिङ’ गर्न ‘कम्बाइन्ड डिएनए इन्डेक्स सिस्टम’ (कोडिस) सफ्टवेयर प्रयोगमा ल्याइएको छ ।
“मृतक र आफन्तको डिएनए निकालेर सफ्टवेयरमा हालेपछि त्यसले ‘म्याचिङ’ गर्ने हो,” प्रवक्ता काफ्लेले भन्नुभयो ।
उहाँका अनुसार कोडिस अन्तर्राष्ट्रिय सफ्टवेयर हो । “यो सफ्टवेयरमा मृतक र आफन्तको डिएनए रिपोर्ट राखेपछि सिस्टमले ‘म्याचिङ’ भएको देखाउँछ,” उहाँले भन्नुभयो, “त्यसपछि सम्बन्धित व्यक्तिलाई आवश्यक कागजातका आधारमा उक्त शव निकालेर अन्तर्राष्ट्रिय अभ्यास र कानूनबमोजिम हस्तान्तरण गर्छौं ।”
डिएनए परीक्षणको काम जतिसक्दो छिटो सम्पन्न गर्न प्रहरीका सम्बन्धित सम्पूर्ण जनशक्ति परिचालन गरिएको छ । प्रहरीका जनशक्तिलाई बिदासमेत नदिई २४सै घण्टा ड्युटीमा खटाइएको छ ।
“डिएनए प्रोफाइलिङमा स्वदेशी तथा विदेशी जनशक्तिको सहयोग लिइएको छ । विदेशी जनशक्ति पनि नेपालमा आएका छन्,” उहाँले भन्नुभयो ।
डिएनए परीक्षण खर्चिलो र समय लाग्ने प्रक्रिया भएकाले सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गरेको छ । तर, मृतकको शव फेला पर्ने क्रम बढिरहेको तथा आवश्यक उपकरण र जनशक्तिको अभाव हुँदा प्रहरीलाई चुनौती थपिएको छ ।
सातै प्रदेशमा विधिविज्ञान प्रयोगशाला सञ्चालनमा ल्याउन सके अहिले देखिएको चुनौती कम गर्न सकिने प्रहरीको भनाइ छ ।
नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुसीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालले बाढी प्रभावित क्षेत्रबाट मृतक तथा आफन्तबाट सङ्कलित नमुना आउने क्रम जारी रहेको बताउनुभयो ।
“सङ्कलित नमुनालाई सुरक्षित भण्डारण गर्नुका साथै परीक्षणसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी डिएनए परीक्षणमा अहोरात्र खटिएर कार्य गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।
कुनै पनि व्यक्तिको पहिचान गर्नुका साथै व्यक्तिहरूबीचको जैविक सम्बन्ध स्थापित गर्न डिएनए प्रोफाइलिङ सबैभन्दा प्रभावकारी साधन मानिन्छ ।
शव पहिचानमा तीन विधि
फेला परेका शव पहिचानका लागि प्रहरीले डिएनए परीक्षणसँगै औँठाछाप र फोटो भिडानको विधिसमेत अपनाएको छ ।
प्रवक्ता काफ्लेका अनुसार हराएका व्यक्ति र फेला परेका शवको फोटो भिडान गर्न प्रहरीले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन’ सफ्टवेयरसमेत विकास गरेको छ ।
“केही शवको औँठाछाप निकालेका छौँ । त्यसलाई प्राविधिक रूपान्तरण गरेर कहाँकहाँ हुन सक्छन् भनेर खोजी गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।
औँठाछाप ‘भेरिफाइ’ गर्न प्रहरीले राष्ट्रिय परिचयपत्रलगायतका प्रणालीबाट जैविक विवरण लिइरहेको छ । यो विधि तुलनात्मक रूपमा कम खर्चिलो र छरितो मानिएको छ । यद्यपि, हात नभएका तथा गलेका शवबाट औँठाछाप लिन नसकिने प्रहरीले जनाएको छ ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न