ललितपुर । सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार भन्ने मूल नाराका साथ ‘सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी-२०८३’ आगामी असोज १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा हुने प्रदर्शनी नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीका अवसरमा चेम्बरको सहकार्यमा गर्न लागिएको हो । आयोजकका अनुसार प्रदर्शनीमा नेपालका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतबाट समेत गरी एक सयभन्दा बढी स्टल रहनेछन् । सबै स्टल बुकिङ भइसकेका छन् । अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङ तथा फोहोर व्यवस्थापनलगायतका सामग्री तथा प्रविधि प्रदर्शनीमा राखिने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।
आयोजकका अनुसार यसपटक प्रदर्शनीलाई वातावरणमैत्री बनाउन डिजिटल स्ट्याण्डी, इलेक्ट्रोनिक कियोस्क तथा भर्चुअल रियालिटी(भिआर-एआर) प्रविधिको प्रयोग गरिनेछ । जसबाट प्रदर्शनीलाई ‘पेपरलेस’ बनाउने लक्ष्य राखिएको छ । नेपाल घरजग्गा एवं निर्माण प्रदर्शनीका संयोजक रोशन भोयध्योले सुरक्षित, व्यवस्थित तथा वैज्ञानिक बस्ती विकासमार्फत् दिगो शहरीकरण प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताउनुभयो । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले घरजग्गा व्यवसायमा देखिएको समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो । व्यवसाय क्षेत्रको सुस्तताका कारण समग्र अर्थतन्त्रमा समेत प्रभाव परेको भन्दै उहाँले घरजग्गा कारोबारमा लागू विभिन्न शुल्क तथा करका विषयमा पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । मल्होत्राले घरजग्गा क्षेत्रलाई चलायमान बनाउन लोन-टु-भ्यालु (एटिभी) अनुपात ७० प्रतिशत पुर्याउनुपर्ने, बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएको र ब्याजदर घट्दो क्रममा रहेकाले घरजग्गा क्षेत्रमा लगानीको वातावरण सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले घरजग्गा व्यवसाय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको भन्दै रियलस्टेट क्षेत्रलाई व्यवस्थित र चलायमान बनाउन निजी क्षेत्र तथा सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको थियो । नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष दिपक कुँवरले भूकम्प, कोरोना तथा आर्थिक शिथिलताबीच पनि घरजग्गा तथा निर्माण क्षेत्रले निरन्तरता पाउँदै आएको बताउनुभयो । प्रदर्शनीले घरजग्गा कारोबारमा मात्र नभई निर्माण क्षेत्रसँग प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा जोडिएका उद्योग, व्यवसाय र श्रमशक्तिलाई समेत समेट्ने उहाँको भनाइ थियो । प्रदर्शनीमार्फत् करिब एक करोड ४० लाख आसपासको मूल्यमा घर उपलब्ध हुने विकल्पसमेत उपभोक्तासमक्ष प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
बाढीपीडितलाई राहतदेखि निःशुल्क स्वास्थ्यसम्म
आयोजक संस्थाले व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिएको जनाएको छ । बाढीबाट प्रभावित परिवारका लागि खाद्यान्न, लत्ताकपडा, औषधि तथा ड्रोन उपकरणसहित राहत सामग्री पठाइसकेको र प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ३१ लाख नगद हस्तान्तरण गरिएको आयोजकले जनाएको छ । त्यस्तै रक्तदान कार्यक्रम तथा ओम हस्पिटल र ग्राण्डी इन्टरनेसनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविरका साथै बाढीपीडितका लागि निःशुल्क स्वास्थ्य उपचार प्याकेजसमेत उपलब्ध गराइने बताइएको छ ।







ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न