हेटौँडा । सुत्केरी हुन हेटौँडा अस्पताल पुगेकी मकवानपुरगढी गाउँपालिका–२ की ३३ वर्षीया गंगा पुलामी मगरसँग उपचारको सुरुवाती प्रक्रिया पूरा गर्न आवश्यक ८० रुपैयाँसमेत नभएको समाचार सार्वजनिक भएपछि उहाँको सहयोगका लागि हातहरू बढ्न थालेका छन् ।
बिहीबार सुत्केरी हुने समय नजिकिएपछि १६ वर्षीया जेठी छोरीलाई साथमा लिएर अस्पताल पुग्नुभएकी गंगासँग उपचार सुरु गर्न आवश्यक रकम थिएन । साथमा ल्याएको थोरै रकम छोरीलाई भोक लागेपछि खानामा खर्च भएको थियो ।
आर्थिक अभावका कारण उपचार प्रक्रिया अघि बढाउन नसक्दा उहाँ तीन दिनसम्म अस्पताल परिसर वरिपरि बस्न बाध्य हुनुभएको थियो । गंगाको अवस्थाबारे समाचार सार्वजनिक भएपछि शनिबारदेखि सहयोग जुट्न थालेको हो ।
हेटौँडा–११ का स्थानीय तीर्थ रोक्काले शनिबार अस्पतालमै पुगेर गंगालाई १० हजार रुपैयाँ सहयोग गर्नुभयो । तीजमा आफ्ना दुई छोरीका लागि कपडा किन्न छुट्याएको रकम छोरीहरूले गंगालाई सहयोग गर्न आग्रह गरेपछि उहाँले उक्त रकम सहयोग गर्नुभएको हो ।
“तीजमा छोरीहरूका लागि कपडा किन्न पैसा छुट्याएको थिएँ । छोरीहरूले हामी कपडा किन्दैनौँ, त्यो पैसा गंगालाई दिनुपर्छ भने,” रोक्काले भन्नुभयो, “त्यसपछि छोरीहरूले भनेकै कुरा मानेर उहाँलाई सहयोग गर्न आएको हुँ ।”
यसअघि हेटौँडा–२ स्थित निको अस्पतालका सञ्चालक सुधिर दाहालले पनि गंगाको उपचारका लागि पाँच हजार रुपैयाँ सहयोग गर्नुभएको थियो । सञ्चारमाध्यममा गंगाको अवस्थाबारे समाचार प्रकाशित भएपछि जानकारी पाएर दाहालले उक्त रकम सहयोग गर्नुभएको हो ।
यसरी समाचार सार्वजनिक भएपछि गंगाको उपचारका लागि हालसम्म १५ हजार रुपैयाँ सहयोग जुटेको छ ।
गंगा दैनिक ज्यालादारी मजदुरी गरेर पाँच सन्तान हुर्काउँदै आउनुभएको छ । उहाँका तीन छोरा र दुई छोरी छन् । कान्छो छोरा दुई वर्षका छन् । आर्थिक अभावकै बीच गर्भावस्थामा समेत मजदुरी गरेर उहाँले परिवार चलाउँदै आउनुभएको थियो ।
गंगाका अनुसार उहाँका श्रीमान् सुरेश पुलामी गत मंसिरमा लामो समयपछि सुर्खेतबाट घर आउनुभएको थियो । त्यही समयमा गर्भ बसेको र त्यसपछि श्रीमान् पुनः सम्पर्कमा नआएको उहाँले बताउनुभयो । आफू र सन्तानको जिम्मेवारी श्रीमान्ले नलिएको उहाँको भनाइ छ ।
आर्थिक अभावका कारण अस्पतालमा तीन दिनसम्म उपचार अघि बढ्न नसकेको अवस्थामा शनिबार हेटौँडा–१० सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष प्रदीप कँडेल र उपाध्यक्ष शर्मिला श्रेष्ठले गंगाको अवस्थाबारे जानकारी पाउनुभएको थियो । उहाँहरू अस्पताल पुगेर आवश्यक समन्वय गरेपछि गंगालाई प्रसूति वार्डमा भर्ना गरिएको थियो ।
गंगाको अवस्थाबारे जानकारी पाएपछि हेटौँडा अस्पताल व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईंले उहाँको सुत्केरी उपचारमा आवश्यक पर्ने सामग्री तथा सेवाको व्यवस्था अस्पतालले नै गर्ने बताउनुभएको छ ।
उहाँका अनुसार गंगालाई सुत्केरी गराउन आवश्यक सामग्री अस्पतालले उपलब्ध गराउनेछ । सामान्य प्रसूति होस् वा शल्यक्रिया गर्नुपर्ने अवस्था आए पनि आवश्यक उपचार खर्च अस्पतालले नै बेहोर्ने उहाँले बताउनुभयो ।
“गंगाको उपचारमा आवश्यक पर्ने सबै सामग्री अस्पतालले नै बेहोर्छ । अप्रेसन गर्नुपर्ने अवस्था आए पनि उहाँको उपचार निःशुल्क हुन्छ,” चौलागाईंले भन्नुभयो, “आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था आउन दिँदैनौँ ।”
८० रुपैयाँ जुटाउन नसकेर अस्पताल परिसरमै अलमलिनुभएकी गंगाको हातमा अहिले १५ हजार रुपैयाँ सहयोग पुगेको छ । कठिन अवस्थामा प्राप्त यो सहयोगले उहाँलाई आर्थिक राहतसँगै आफू एक्लो नरहेको अनुभूति दिलाएको छ ।







भाद्र शुक्ल तृतीया : विधिपूर्वक
हरितालिका तीजमा पशुपतिनाथसहित शिवालयमा श्रद्धालुको
विद्यार्थी, शिक्षक तथा अभिभावको सुझावका
बर्दियामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको
नेपालभन्दा बाहिर गएर प्रतियोगिता जित्नु
विपद्को पीडाबीच आएको तीज, भक्तजन