काठमाडौं । ‘सन्तनेता कृष्णप्रसाद भट्टराई केन्द्र’को तेस्रो वार्षिक साधारण सभा शनिबार काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट महलमा सम्पन्न भएको छ । सन्तनेता भट्टराईको तस्वीरमा माल्यार्पणगरी सुरु भएको कार्यक्रममा पूर्वमन्त्री एवं केन्द्रका आजीवन सदस्य लक्ष्मणप्रसाद घिमिरेले किसुनजीसँग जोडिएका विभिन्न प्रसंग स्मरण गर्दै केन्द्रलाई दीर्घकालीन तथा अल्पकालीन योजना बनाएर अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
संघीय संसदका पूर्वमहासचिव मनोहर भट्टराईले २०४८ सालको आमनिर्वाचन र २०५० सालको उपनिर्वाचनमा कृष्णप्रसाद भट्टराईको पराजयपछि सिंगो देश दुःखी भएको प्रसंग स्मरण गर्दै केन्द्रको स्थापना र यसले गर्दै आएका गतिविधिको प्रशंसा गर्नुभयो ।
योगमाया विश्वविद्यालयका पूर्वउपकुलपति एवं सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानका अध्यक्ष प्रा.डा. रमेशकुमार ढुंगेलले कृष्णप्रसाद भट्टराईले अघि सारेको शान्ति, एकता र मेलमिलापको बाटो नै नेपाली राजनीतिका लागि सही मार्ग भएको धारणा राख्नुभयो । आफ्नो पार्टी गणतन्त्रमा जाने निर्णय गरेपछि किसुनजीले पार्टी परित्याग गरेपनि आफ्नो राजनीतिक अडान नछाडेको उहाँको भनाइ थियो ।
राजनीतिक विचारक, विश्लेषक एवं उद्यमी अरुणकुमार सुवेदीले २०५० सालको उपनिर्वाचनमा किसुनजीलाई पराजित गर्न भएको षड्यन्त्र आफूले नजिकबाट देखेको उल्लेख गर्दै केन्द्रका गतिविधिलाई थप विस्तार गर्नुपर्ने बताउनुभयो ।
पत्रकार एवं लेखक कृष्णराज कँडेलले केन्द्रका गतिविधि काठमाडौं उपत्यकाबाहिर पनि विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । केन्द्रका आजीवन सदस्य इन्जिनियर दीपकराज जोशीले केन्द्रको वेबसाइट निर्माण तथा सूचना प्रविधिसम्बन्धी काममा आफूले सहयोग गर्न सक्ने बताउनुभयो । उहाँले विद्यार्थी जीवनमा किसुनजीसँग जोडिएका प्रेरणादायी प्रसंगसमेत सुनाउनुभयो ।
केन्द्रका अध्यक्ष लोकेश ढकालको अध्यक्षतामा सम्पन्न साधारण सभामा राष्ट्रिय सभा सदस्य विष्णुकुमारी सापकोटा, वरिष्ठ कलाकार प्रभाकरदेव शर्मा, राजनीतिज्ञ खेमराज सेढाईंलगायत दर्जनौं आजीवन सदस्यले धारणा राख्नुभएको थियो ।
सभाले लेखापरीक्षण प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदनलगायतका प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । प्रतिवेदन पारित गरेसँगै केन्द्रको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।







भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज