नेपाली लोकसंगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय नाम हो, दुर्गा गुरुङ । स्याङ्जाको वालिङमा जन्मिएर गाउँघरका मेलापात, घाँस-दाउरा र स्थानीय सांगीतिक वातावरणबाट गायन यात्रा सुरु गर्नुभएकी गुरुङले तीन हजारको हाराहारीमा गीतमा स्वर दिइसक्नुभएको छ । सालैजो, कौडा, रोधी, देउडा, तामाङ सेलो, काठे भाकालगायत विभिन्न लोकभाकामा आफ्नो स्वर दिनुभएकी उहाँले नेपालमा मात्र नभई कतार, हङकङ, बेलायत, कोरिया, जापान, युरोपका विभिन्न देश र अमेरिकासम्म पुगेर नेपाली लोकसंगीत प्रस्तुत गरिसक्नुभएको छ । २०७९ साल भदौ २९ गते एकल सांगीतिक साँझ गर्नुभएकी गुरुङले हालै तनहुँको भानुस्थित बालआश्रमको सहयोगार्थ सांगीतिक साँझ सम्पन्न गर्नुभएको छ । उक्त कार्यक्रमबाट उठेको केही रकम बाढीपीडितका लागि समेत छुट्याइएको थियो । लोकसंगीतमा मौलिकताको संरक्षण हुनुपर्नेमा जोड दिने गुरुङ अहिले गुरुङ भाषाको एउटा र नेपाली भाषाको एउटा नयाँ गीतको तयारीमा हुनुहुन्छ । मौलिक लोकगीत जोगाउन नयाँ पुस्ताले आफ्नो संस्कृतिलाई माया गर्नुपर्छ भन्नुहुने गायिका दुर्गा गुरुङसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अशःं-
तपाईंको सांगीतिक यात्राको सुरुवात कहाँबाट भयो ?
मेरो जन्म स्याङ्जा जिल्लाको वालिङ नगरपालिका-३ मा भएको हो । बाबा गंगाबहादुर गुरुङ र आमा कृष्णकुमारी गुरुङको सन्तानका रूपमा नौजना दाजुभाइ-दिदीबहिनीको परिवारमा हुर्किए । म सानैदेखि गीत गाउँथेँ । गाउँमा जन्मिए, गाउँमै हुर्किए । त्यसबेला अहिलेको जस्तो मनोरञ्जनका धेरै माध्यम थिएनन् । मेलापात, घाँस-दाउरा गर्दा होस् वा गाउँघरमा भेला हुँदा, गीत गाउने चलन थियो । त्यही वातावरणले मलाई गीतसँग नजिक बनायो । स्कुलमा पनि विभिन्न कार्यक्रम हुन्थे । त्यहाँ गीत गाउँथेँ । यसरी गाउँघर र विद्यालयका कार्यक्रमबाट सुरु भएको गायनप्रतिको रुचि विस्तारै मेरो जीवनकै यात्रामा परिणत भयो ।
परिवारबाट गायन क्षेत्रमा लाग्न कत्तिको प्रोत्साहन पाउनुभयो ?
परिवारमा सबैको सोच एउटै थिएन । मेरी आमालाई चाहिँ छोरीले गीत नगाए हुन्थ्यो भन्ने लाग्थ्यो । उहाँको चाहना छोरीले अरू कुनै क्षेत्रमा लागोस् भन्ने थियो । बाबा भने भारतीय सेनामा हुनुहुन्थ्यो । त्यसैले उहाँको जागिरका कारण पनि पारिवारिक वातावरण केही फरक थियो । तर, मेरी ठूलो दिदी गोमा गुरुङ भने गीत गाउनुहुन्थ्यो । उहाँ स्थानीय क्षेत्रमा प्रत्यक्ष दोहोरी प्रतियोगितामा सहभागी हुनुहुन्थ्यो र प्रायः पहिलो नै हुनुहुन्थ्यो । उहाँलाई देखेर पनि मलाई गीतप्रति अझै रुचि बढ्यो । यसले मेरो यात्रालाई त्यसले ठूलो प्रभाव पारेको छ ।
समय अनुसार परिवर्तन हुनुपर्छ । प्रविधि परिवर्तन भएको छ, दर्शक-श्रोताको रुचि पनि परिवर्तन भइरहेको छ । भाइरल हुने ट्रेण्ड चलेको छ, त्यसलाई पनि हामीले बुझ्नुपर्छ । तर, भाइरल हुने नाममा आफ्नो मौलिकता र पहिचान गुमाउनु हुँदैन । अहिलेका भाइबहिनीहरू धेरै राम्रो गाउनुहुन्छ । नयाँ पुस्तामा प्रतिभाको कुनै कमी छैन । मेरो आग्रह यतिमात्र हो, आधुनिकतालाई स्वीकार गरौं, तर आफ्नो रीतिरिवाज, संस्कृति, भाषा र मौलिक भाका पनि जोगाऔं । सबै कलाकारले आफ्नो संस्कृतिलाई माया गर्दै मौलिक गीतहरू गाउनुपर्छ ।
तपाईंको प्रतिभालाई व्यावसायिक रूपमा अगाडि बढाउने मोडचाहिँ कहिले आयो ?
२०५१ सालमा मैले एउटा प्रतियोगितामा गीत गाएर प्रथम भए । त्यसपछि ‘यसले राम्रो गीत गाउँछे’ भनेर मेरा दाइले मलाई काठमाडौं ल्याउनुभयो । काठमाडौं आएपछि मेरो सांगीतिक यात्राले नयाँ मोड लियो । त्यसपछि सोल्टी होटलमा भएको एउटा प्रतियोगितामा सहभागी भए र त्यहाँ दोस्रो भए । त्यस्ता प्रतियोगिताले मलाई आत्मविश्वास दियो । गाउँमा सीमित रहेको मेरो स्वर अब ठूलो सांगीतिक संसारतर्फ अघि बढ्न थालेको थियो । मैले २०५३ सालमा रेडियो नेपालबाट भ्वाइस टेष्ट पास गरेँ । त्यो मेरो सांगीतिक जीवनको महत्त्वपूर्ण उपलब्धि थियो । त्यसबेला रेडियो नेपालमा गीत गाउनु कलाकारका लागि निकै ठूलो कुरा मानिन्थ्यो । भ्वाइस टेष्ट पास गरेपछि मलाई आफ्नो गायनप्रति थप जिम्मेवारी महसुस भयो ।
पहिलोपटक रेकर्ड भएको गीत सम्झनुहुन्छ ?
अवश्य सम्झन्छु । मेरो पहिलो गीत ‘पर्खसँगै जाम’ भन्ने एल्बममा आएको हो । त्यो एल्बममा मेरा आदरणीय गुरु बलाराम पुन, नन्दश्रीस दाइ, आदरणीय दिदी बालुमाया पुन, शान्ति गुरुङलगायतका कलाकारहरूको पनि स्वर थियो । त्यो समयमा गीत रेकर्ड गर्नु अहिलेको जस्तो सहज थिएन । अहिले प्रविधिका कारण घरमै बसेर पनि गीत बनाउन सकिन्छ । तर, त्यतिबेला स्टुडियो, रेकर्डिङ, एल्बम निर्माण सबै कुरा निकै मिहिनेत र खर्चिलो हुन्थ्यो । त्यसैले पहिलो गीत रेकर्ड हुँदाको खुशी अहिले पनि विशेष लाग्छ ।
तपाईंका सांगीतिक गुरुहरू पनि धेरै हुनुहुन्छ ?
हो । मेरो सांगीतिक यात्रामा धेरै गुरु तथा अग्रजहरूको योगदान छ । बुटवलदेखि नै मेरा आदरणीय गुरु बलाराम पुन हुनुहुन्छ । उहाँले मलाई धेरै कुरा सिकाउनुभयो । त्यसपछि आदरणीय गुरु कृष्ण गुरुङको एल्बममा गाउने अवसर पाए । अग्रज कलाकारहरूबाट पाएको प्रेरणा र मार्गदर्शन मेरा लागि ठूलो सम्पत्ति हो । दाइ गोविन्द गुरुङ, दिदी विमाकुमारी दुरालगायतका कलाकारहरूसँग पनि सहकार्य गर्ने अवसर पाएँ । गुरुङ समुदायको पहिलो चलचित्रमा समेत गीत गाउने अवसर प्राप्त भयो । बीचमा केही समय गाउँमै बसेँ, फेरि काठमाडौं आए र सांगीतिक यात्रालाई निरन्तरता दिए ।
तपाईंले धेरै किसिमका लोकभाकामा गीत गाउनुभएको छ । विशेष रूपमा कुन-कुन विधाका गीत गाउनुभएको छ ?
मैले आफूलाई कुनै एउटा विधामा मात्र सीमित गरेकी छैन । सालैजो, कौडा, रोधी, देउडा, तामाङ सेलो, काठे भाकालगायत विभिन्न लोकशैलीका गीत गाएकी छु । ‘देउराली भञ्ज्याङ’, ‘डम्फु मादल’, ‘शोल्टीको जवानी ढल्क्यो’, ‘दाइ त मेरो लाहुर जाने’, ‘स्याउली पलाको छ नरोऊ निरमाया’, ‘भयो भेट कोहलपुरैमा’, ‘टिकुलै है मेरो टलटल टल्किने’, ‘माइतीको माया’, ‘घुम्दै छु म त’, ‘चेलीको वेदना’, ‘घरै कहाँ हो मायालु’लगायत धेरै गीतमा स्वर दिएकी छु । लक्ष्मी न्यौपानेसँग धेरै गीत गाएकी छु । राधिका हमाल, सीता थापा, इन्दिरा गुरुङलगायत कलाकारसँग पनि सहकार्य गर्ने अवसर पाए ।
अहिलेसम्म कति गीत गाउनुभयो होला ?
ठ्याक्कै संख्या भन्न गाह्रो छ, तर तीन हजारको हाराहारीमा गीत गाएकी छु । विभिन्न एल्बम, फिल्म, लोकगीत तथा सांगीतिक प्रस्तुतिका क्रममा धेरै गीतमा स्वर दिएकी छु । मेरो आफ्नै युट्युब च्यानल ‘दुर्गामाया गुरुङ’बाट पनि धेरै गीत सार्वजनिक भएका छन् । म र हामीजस्ता कलाकार अलिक मौलिक किसिमका गीत गाउने मान्छे हौं । हाम्रो प्राथमिकता आफ्नै संस्कृति, भाषा, भाका र पहिचानसँग जोडिएका गीतलाई अगाडि बढाउनु हो ।
पछिल्लो समय लोकसंगीतमा ‘भाइरल’ हुने प्रवृत्ति बढेको छ । यसलाई तपाईं कसरी हेर्नुहुन्छ ?
समय अनुसार परिवर्तन हुनुपर्छ । प्रविधि परिवर्तन भएको छ, दर्शक-श्रोताको रुचि पनि परिवर्तन भइरहेको छ । भाइरल हुने ट्रेण्ड चलेको छ, त्यसलाई पनि हामीले बुझ्नुपर्छ । तर, भाइरल हुने नाममा आफ्नो मौलिकता र पहिचान गुमाउनु हुँदैन । अहिलेका भाइबहिनीहरू धेरै राम्रो गाउनुहुन्छ । नयाँ पुस्तामा प्रतिभाको कुनै कमी छैन । मेरो आग्रह यतिमात्र हो, आधुनिकतालाई स्वीकार गरौं, तर आफ्नो रीतिरिवाज, संस्कृति, भाषा र मौलिक भाका पनि जोगाऔं । सबै कलाकारले आफ्नो संस्कृतिलाई माया गर्दै मौलिक गीतहरू गाउनुपर्छ । त्यसो भयो भने हाम्रो लोकसंगीत अझ समृद्ध भएर अगाडि बढ्छ ।
हालै तपाईंले सांगीतिक साँझ पनि गर्नुभयो । यसको उद्देश्य के थियो ?
केही समयअघि तनहुँको भानुमा रहेको बाल आश्रमको सहयोगार्थ सांगीतिक साँझ आयोजना गरेकी थिए । मेरो लागि गीत गाउनु केवल आफ्नो प्रस्तुति दिनुमात्र होइन, समाजसँग जोडिने माध्यम पनि हो । त्यसैले सांगीतिक कार्यक्रमलाई सामाजिक सेवासँग जोड्ने प्रयास गरें । कार्यक्रमबाट उठेको केही रकम बाढीपीडितका लागि पनि छुट्याएका छौं । बाढीपहिरोका कारण धेरै परिवार पीडित भएका बेला आफूले सकेको सहयोग गर्नुपर्छ भन्ने लाग्यो । यसअघि २०७९ साल भदौ २९ गते पनि मैले एकल सांगीतिक साँझ गरेकी थिए । त्यस्ता कार्यक्रमले कलाकार र दर्शकबीचको सम्बन्ध अझ नजिक बनाउँछ ।
अहिले नयाँ गीतको तयारी पनि गर्दै हुनुहुन्छ ?
हो । अहिले एउटा गुरुङ भाषाको गीत र एउटा नेपाली भाषाको गीतको तयारीमा छु । गीतको काम अघि बढिरहेको छ । तर, पछिल्लो समय आएको बाढीपहिरोको दुःखद् अवस्थाका कारण केही ढिलाइ भएको छ । हामी कलाकार समाजकै हिस्सा हौं । समाज दुःखमा हुँदा त्यसलाई बेवास्ता गरेर आफ्नै काममा मात्र केन्द्रित हुन मनले मान्दैन । त्यसैले परिस्थिति अनुसार केही कामहरू ढिला भएका हुन् । समय सहज भएपछि नयाँ गीत लिएर आउने तयारीमा छु ।
तपाईं विदेशमा पनि धेरै सांगीतिक यात्रामा जानुभएको छ । पहिलो विदेश यात्रा कहिले भयो ?
मेरो पहिलो विदेश सांगीतिक यात्रा सन् १९९९ मा कतारबाट सुरु भएको हो । त्यसपछि हङकङ, बेलायत, कोरिया, जापान, युरोपका विभिन्न देश र अमेरिकासम्म पुगेर नेपाली गीत प्रस्तुत गर्ने अवसर पाए । विदेशमा नेपाली दर्शक-श्रोतामाझ आफ्नै देशका लोकगीत प्रस्तुत गर्दा छुट्टै अनुभूति हुन्छ । नेपालभन्दा टाढा बसेका नेपालीहरू आफ्ना गीत, भाषा, भाका र संस्कृति सुन्न पाउँदा भावुक भएको धेरैपटक देखेकी छु । त्यसले कलाकारका रूपमा अझ ठूलो जिम्मेवारी महसुस गराउँछ ।
यति लामो सांगीतिक यात्राबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
म एकदमै सन्तुष्ट छु । गायनमा आएर मैले धेरै माया, सम्मान र अवसर पाएकी छु । थुप्रै सम्मान, पुरस्कार तथा अवार्ड प्राप्त गरेकी छु । सबैभन्दा ठूलो कुरा, मैले आफ्नो आवाजमार्फत नेपाली लोकसंगीत र संस्कृतिलाई देश–विदेशमा प्रस्तुत गर्न पाए । कलाकारका लागि दर्शक–श्रोताको माया नै सबैभन्दा ठूलो पुरस्कार हो । आज पनि मेरा गीत सुनेर सम्झिने, कार्यक्रममा बोलाउने र माया गर्ने दर्शकहरू हुनुहुन्छ । यही नै मेरो सांगीतिक यात्राको सबैभन्दा ठूलो उपलब्धि हो ।
तपाईं विभिन्न संस्थागत जिम्मेवारीमा पनि हुनुहुन्छ ?
हो । मैले गुरुङ तमु कलाकार संघ केन्द्रको सचिवका रूपमा काम गरेकी छु । गण्डकीको संस्थापक अध्यक्ष भएर पनि जिम्मेवारी निर्वाह गरेकी छु । लोकदोहोरी प्रतिष्ठानको आजीवन सदस्य छु । त्यस्तै जनजाति कलाकार संघ गण्डकी प्रदेशको महिला उपाध्यक्षका रूपमा पनि काम गरे । कलाकारिता व्यक्तिगत यात्रामात्र होइन । कलाकारको हकहित, सांस्कृतिक संरक्षण र नयाँ पुस्तालाई अवसर दिने वातावरण निर्माणमा पनि हामीले भूमिका खेल्नुपर्छ भन्ने मेरो धारणा हो ।
यदि तपाईं गायनमा नआउनुभएको भए के बन्नुहुन्थ्यो ?
सायद शिक्षिका बन्थेँ होला । म पढाइमा पनि राम्रै थिए । तर, जीवनले मलाई गीतसंगीततर्फ ल्यायो । अहिले फर्केर हेर्दा लाग्छ, त्यो पनि कुनै योजनाजस्तै रहेछ । मैले रोजेको क्षेत्रप्रति कुनै गुनासो छैन ।
अन्त्यमा ?
नयाँ पुस्तामा धेरै राम्रो प्रतिभा छ । सबै भाइबहिनीलाई हाम्रो लोकसंगीतलाई फलो गर्न, अध्ययन गर्न र आफ्नो मौलिकतालाई माया गर्न आग्रह गर्छु । समयसँगै परिवर्तन आवश्यक छ । नयाँ प्रयोग गर्नुपर्छ । तर, नयाँ बन्ने क्रममा पुरानो पहिचान मेटिनु हुँदैन । हाम्रो भाषा, भेषभूषा, रीतिरिवाज, संस्कृति र लोकभाका नै हाम्रो पहिचान हुन् । त्यसलाई जोगाउने जिम्मेवारी कलाकारको मात्र होइन, हामी सबैको हो । मलाई माया गर्ने सम्पूर्ण दर्शक-श्रोता, अग्रज कलाकार, गुरु तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । आगामी दिनमा आफ्ना मौलिक गीतसंगीतमार्फत दर्शक-श्रोतामाझ आइरहनेछु ।







हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई