बीपी कोइरालाले स्पष्ट भन्नुभएको थियो गरिबीको वितरण समाजवाद होइन । एक-एक चम्चा दूध वितरण गर्नु समाजवाद होइन । औद्योगिक पुँजीबादको विकासबाट ठूलो पैमाना (जग्गाजमिनको ठूलो मात्रालाई, विस्तारलाई सानो पार्न लिएको अनुपात) मा उत्पादन गरी न्यायोचित वितरण गरेर समाजवाद ल्याउन सकिन्छ । भूमीसुधार गरेर वास्तविक किसानलाई जग्गा वितरण गर्नुपर्छ ।’ नेपाली कांग्रेसका संस्थापक नेता, नेपालको इतिहासमै पहिलोपटक जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको विसं १९७१ साल भदौ २४ गते भारतको वनासरमा जन्म भएको हो । २०३९ साल साउन ६ गते ६८ वर्षको उमेर निधन भएको थियो ।
बुबा कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको साइला सन्तानको रूपमा जन्मनु भएका कोइरालाको सुशीला कोइरालासँग विवाह भएको थियो । उहाँका तीन छोरा एक छोरी हुन् । छोराहरू प्रकाश कोइराला, श्रीहर्ष कोइराला र शशांक कोइराला हुन् भने छोरी चेतना कोइराला हुन् । बीपी काइरालाले विसं १९८८ सालमा भारतको वनासरबाट उच्चमाध्यमिक शिक्षा पूरा गर्नुभएको थियो । वनारस हिन्दु विश्वविद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएको थियो । पछि कलकत्ता विश्वविद्यालयबाट कानुन विषयमा स्नातकोत्तर पूरा गरेपछि दार्जेलिङमा कानुन व्यावसायसमेत गर्नुभएको थियो ।
राजनीतिक जीवन (राजनीतिक नेतृत्व )
बीपी कोइरालाको सक्रियतामा २००३ साल कात्तिक १५ गते वनारसमा बस्ने नेपालीहरूलाई सङ्गठित गरी देवीप्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्थाको स्थापना भएको थियो । विसं २००३ साल माघ १२ र १३ गते प्रवासी नेपालीहरू र नेपालको कारगार तोडेर आएका गणेशमान सिंहलगायत भारतमा बसोवास गर्ने नेपाली प्रतिनिधीहरूको उपस्थितिमा प्रथम महाधिवेशन सम्पन्न भएको थियो । भारतको कलकत्ता भवानीपुरमा भएको महाधिवेशनले संगठनको नाम परिवर्तन गरी नेपाली राष्ट्रिय कांग्रेस राखेको थियो । उक्त महाधिवेशनले ३३ वर्षीय बीपी कोइराला कार्यकारी सभापतिमा चयन गरेको थियो ।
२००६ साल चैत २७ गते भारतको कलकत्तामा नेपाली राष्ट्रिय काङ्ग्रेसको चौथो महाधिवेशन सम्पन्न गरेको थियो । नेपाली राष्ट्रिय काङ्ग्रेसको चौथो महाधिवेशनमा सुवर्णशमशेर राणाको सक्रियतामा (विसं २००४ साल साउन १ गते नेपाल प्रजातन्त्र काङ्ग्रेसको स्थापना भएको) का प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो । दुवै पार्टीका सहभागी प्रतिनिधिहरूको उपस्थिति भएको बेलामा दुवै पार्टीलाई एकीकरण गरी नेपाली काङ्ग्रेस नामको लोकप्रिय संस्थाको स्थापना गरिएको थियो । यो संस्थाले नै नेपालमा राणाहरूको एकतन्त्रीय राणाशासन व्यवस्थाको अन्त्य गरी प्रजातन्त्रको स्थापना गरेको थियो ।
प्रजातन्त्र घोषणा तथा सरकार सञ्चालन :
नेपालमा १ सय ४ वर्षीय लामो शासन सत्ता सम्हालेर बसेका एकतन्त्रीय राणाहरूको शासन अन्त्य भई २००७ साल फागुन ७ गते नेपालमा प्रजातन्त्र घोषणा भयो । नेपालमा प्रजातन्त्रको घोषणापश्चात् बनेको अन्तरिम सरकारमा श्री ३ महाराज मोहनशमशेर जबरा प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बन्नुभएको थियो भने विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री । २०१५ सालमा भएको आमनिर्वाचनमा नेपाली काङ्ग्रेसको बहुमत आएपछि २०१६ साल जेठ १३ गते नेपालको २२औं तथा पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।
पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको कार्यकाल लामो समयसम्म टिक्ने दिएनन् । प्रधानमन्त्रीमा नियुक्त भएपश्चात् उहाँले सुधारका कामहरू एकपछि अर्को गर्दै गएपछि राजाले उहाँको सत्ता हत्याएका थिए । २०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकारमाथि ‘कू’ गर्नुभयो । २०१७ साल पुस १ गते राजा महेन्द्रले आफ्नो विशेषाधिकार प्रयोग गरेर तत्कालीन संविधान र बीपी कोइराला नेतृत्वको सरकार विघटन गरी बीपी कोइरालालाई बिना मुद्दा कैद गरिएको थियो । यसरी राजा महेन्द्रले जननिर्वाचित सरकारलाई अपदस्त गरी देशमा राजाको प्रत्यक्ष शासन काल (पञ्चायती व्यवस्था)को घोषणा गर्नुभएको थियो । यो शासन व्यवस्थाले नेपालमा करिब ३० वर्ष शासन गरेको इतिहास छ ।
जेलजीवन :
भारतमा चलिरहेको स्वतन्त्रता आन्दोलनमा लागेका कारण बेलायती सरकारले विसं १९८६ सालमा तीन महिना कैद गरेको थियो । बीपीलाई २०१७ साल पुसदेखि २०२४ सालसम्म बिना कुनै मुद्दा जेल हालिएको थियो । २०२४ सालमा देशनिकाला गरी भारतको वनारसमा जान दिएको थियो । २०३२ सालमा उहाँ नेपाल फर्कनुभएको बेलामा सरकारले देशद्रोहको अभियोगमा कैदमा राखेको थियो । २०३४ सालमा उहाँविरुद्ध लगाइएका सबै अभियोग सरकारले फिर्ता गरेको थियो । २०३६ सालको आन्दोलनमा उहाँलाई आफ्नै निवासमा नजरबन्द गरिएको थियो ।
साहित्यमा योगदान :
बीपी कोइरालाले राजनीतिक सामाजिक योगदान सँगसँगै साहित्यमा पनि ठूलो योगदान गर्नुभएको छ । उहाँले उपन्यास, कथा जीवनी लेख्नुभएको छ ।
उपन्यास :
तीन घुम्ती : यो उपन्यासमा महिलाका तीन रूपमा चित्रण गरिएको छ । महिलालाई प्रेमिका, पत्नी र आमाको रूपमा चित्रण गरेर तयार पारिएको ।
सुम्निमा : यो भिन्न संस्कृतिको समन्वय, समिश्रणको गाथाको रूपमा यस उपन्यासलाई लिइन्छ । यो उपन्यासमा प्रेमले मानिसलाई शारीरिक रूपले टाढा भए पनि मानसिक रूपले नजिक अनुभूत गराउँछ भन्ने यसको सार हो ।
नरेन्द्र दाइ : नरेन्द्र दाइ एक मनोवैज्ञानिक उपन्यास हो । एउटा पुरुषकी पत्नी र प्रेमिका दुई छुट्टाछुट्टै सम्बन्धको दुई स्त्रीबीचको कथा हो ।
मोदीआइन : हजारौं वर्षअघिको महाभारतीय युद्धकथा यस उपन्यासको मुख्य कथा (विषयवस्तु)हो । युद्धको परित्याग र शान्तिको स्थापना यो उपन्यासको मुख्य सन्देश हो । बीपीको वस्तविक चिन्तन र विश्लेषण यस उपन्यासमा पाउन सकिन्छ ।
हिटलर र यहुदी : जर्मन तानाशाह हिटलरले लाखौं निर्दोष यहुदीहरूलाई ग्याँस च्याम्बरमा थुनेर मारेको घट्नाको आधारमा यो उपन्यास तयार पारिएको छ । हिटलरले गरेको नरसंहार युद्ध भयङ्करता देखाएर शान्ति नै मूल धार हो भन्ने कुरा देखाइएको छ ।
बाबु, आमा र छोरा : आफ्नै छोराकी गर्भवती प्रेमीका बाबुको दोस्रो बिहे भई बाबुकी पत्नीको रूपमा स्थान लिएको यस उपन्यासमा भनिएको छ । यो उपन्यासमा भएजस्तो नेपाली समाजको त कुरै भएन युरोपेली समाजमा पनि पाच्य हुने अवस्था नरहेको विश्लेषण छ ।
कथा :
दोषी चश्मा : यो मनोवैज्ञानिक कथा हो । यसमा उच्च ओहोदामा पुगेको मानिस र सामन्य मानिसबीचको सम्बन्धको बारेमा प्रष्ट पारिएको छ । यस कथालाई दुई तरिकाबाट विश्लेषण गर्न सकिन्छ । उच्च ओहोदामा पुगेको मानिसलाई चाकरी गर्नैपर्छ नत्र सामान्य मानिसले खान नै पाउदैनन् भन्ने यो कथाको मुख्या सारजस्तो बुझिन्छ । जुन यस कथाका पात्र केशवराजले आफ्नी श्रीमतीसँग गरेको गुनासोले प्रष्ट पार्दछ । अर्को कुरा गाडीमा सवार जरसाहेबले केशवलाई नदेखी हिँड्नु, देखेर पनि नबोलाई हिँड्नु, वास्ता नगरिनुले उच्च पदमा पुगेपछि मान्छे मातिन्छन् र अरूलाई मान्छे गन्दैनन् भन्ने कथाको सार छ ।
श्वेतभैरवी : परम्परागत सामाजिक नियम र मानव मनको भित्री रहस्य (यौनभयको मनोविज्ञान)बीचको सम्बन्धलाई उजागर गर्ने उत्कृष्ट मनोवैज्ञानिक कथाको रूपमा छ ।
जेलजर्नल : २०१७ सालमा राजा महेन्द्रले ‘कू’ गरेर बीपी कोइरालालाई सुन्दरीजल जेलमा लगेर थुनिएको बेलामा तयार पारिएको किताब हो । उहाँले यस किताबमा जेलमा भएका सानासाना कुरालाई पनि गम्भीरताका उठाई प्रस्तुत गर्नुभएको छ ।
२००७ साल अगाडि विकासको अवस्था कस्तो थियो : तत्कालीन समयमा जम्मा विद्युत् उत्पादन १.४ मेगाबाट उत्पादन थियो । फर्पिङ जलविद्युत् केन्द्र ५०० किलोबाट र सुन्दरीजल जलविद्युत् केन्द्र ९०० किलाबाट मात्र उत्पादन थियो ।
सडक : काठमाडौंभित्र र तराईका केही ठाउँमा कच्ची सडक बनेका थिए । काठमाडौंमा राणाहरूका दरबार जाने ठाउँमा भने केही नगन्य रूपमा कालोपत्रे भएको तथ्याङ्क भेटिन्छन् । नेपालमा ५१ माइल रेलमार्ग (८२ किलोमिटर) रक्सौल-अमलेखगन्ज र जयनगर-जनकपुर-बिजलपुरसम्म रेलमार्ग थियो । ५० हजार हेक्टर जमिनमा सिँचाइ सुविधामात्र थियो । बाँकी रहेका ठाउँका किसानहरूले खोलाखोल्सी र आकाशे पानीको भर पर्नुपर्थ्यो । ३०० वटा टेलिफोन लाइनमात्र थिए । काठमाडौं भ्यालीभन्दा बाहिर एउटा पनि थिएनन् । काठमाडौंका मुख्य प्रशासनिक अड्डाहरू, राणाका भाइभारदार, आफन्तहरू र उनीहरूका दरबारहरूमा मात्र सीमिति थिए । १०० वटा हुलाकहरू : केन्द्रीय हुलाकको रूपमा गोश्वारा हुलाक र जिल्ला हुलाकको रूपमा छोटी हुलाक हुन्थे । एकवटा कलेज (त्रिचन्द्र कलेज) ११ वटा माध्यमिक विद्यालय र २०० प्राथमिक विद्यालय (भाषा पाठशासालसहित) थिए ।
देशैभरिका अस्पताल र डिस्पेन्सरीहरूमा ६४९ र ती अस्पतालहरूमा पचासजनामात्रै डाक्टर थिए । देशको सम्पूर्ण स्वास्थ्य क्षेत्रको प्रतिनिधित्व गरिरहेका थिए । वित्तीय संस्थाको रूपमा नेपाल बैँक लिमिटेडमात्रै थियो । नेपाली रुपैयाँको कम चलनचल्ती थियो भने तराईका जिल्लाहरूमा भारतीय रुपैयाँको बढी प्रयोग हुनेगरेको थियो । बिर्ता प्रथाको उन्मूलन गरियो । राजनीतिक, आर्थिक, धार्मिक क्षेत्रका मानिसहरूलाई पुरस्कारस्वरूप राज्यको जमिन बिर्ता दिइने चलन थियो । २५ रोपनीभन्दा बढी यस्तो जग्गा बिक्री गर्न वा धितो बन्धक राख्न नपाइने गरी हदबन्दी कायम गरियो ।
उत्पादकलाई मोहियानी हकको सुनिश्चत्ता गरियो । जमिन्दारले उत्पादनको अधाभन्दा बढी हिस्सा लिन नपाउने र साहुले १० प्रतिशत बढी ब्याज लिन नपाउने व्यवस्था कायम गरिएको थियो । नेपालमा २००७ सालभन्दा अगाडि कुने पनि बजेटको तयारी गर्ने चलन थिएन । २००७ सालको अन्तरिम सरकारका अर्थमन्त्री सुवर्णशमशेरले पहिलोपटक बजेटको व्यवस्था गरी बजेटभाषण गर्नुभएको थियो ।
बीपीको समाजवाद
बीपी कोइरालाले स्पष्ट भन्नुभएको थियो गरिबीको वितरण समाजवाद होइन । एक-एक चम्चा दूध वितरण गर्नु समाजवाद होइन । औद्योगिक पुँजीवादको विकासबाट ठूलो पैमाना (जग्गाजमिनको ठूलो मात्रालाई, विस्तारलाई सानो पार्न लिएको अनुपात) मा उत्पादन गरी न्यायोचित वितरण गरेर समाजवाद ल्याउन सकिन्छ । भूमिसुधार गरेर वास्तविक किसानलाई जग्गा वितरण गर्नुपर्छ । त्यसो गर्दा औद्योगिक विकासका लागि जगेडा श्रमशक्ति प्राप्त गर्न सकिन्छ । उत्पादनको विपुलता (विशाल उत्पादन)लाई वितरण गरेर समाजवाद ल्याउन सकिन्छ भन्ने विचार थियो तर पछिल्लो समय मानवीय श्रममा आधारित मध्यमस्तरको प्रविधिको प्रयोगद्वारा उत्पादन गर्ने नीतिमा जोड दिनुभएको थियो ।
अमेरिका र युरोपको प्रगति एसिया र अफ्रिकी देशहरूको कच्चा पदार्थहरूको उपभोगको कारणमात्र सम्भव भएको तर्क राख्दै, पूरै संसारले त्यति नै उपभोग गर्ने हो भने सन्सारको स्रोतले नपुग्ने तर्क थियो । उहाँले सादा जीवनको आवश्यकतामा जोड दिएको पाइन्छ । बीपीको समाजवाद र आजको सान्दर्भिकता नेपालको अर्थतन्त्र अझै विदेशमुखी छ । वैदेशिक रोजगारीमा गएका नेपाली युवायुवतीले पठाएको रेमिट्यान्सले देश चलेको छ । नेपाललाई उत्पादनमुखी अर्थतन्त्र बन्न अझै निकै समय लाग्ने देखिएको छ । नेपालमा धेरै नागरिकहरू भूमिहीन छन् । उहाँहरूले अरूको (साहुको) खेतबारीमै काम गरेर आफ्नो र आफ्नो परिवारको जीविका चलाउनुपर्ने अवस्था छ ।
पहाडी जिल्लाहरूमा भूमिहीनको सङ्ख्या कम भए पनि तराईका जिल्लामा भूमिहीनको सङ्ख्या धेरै भएको समचार आउने गरेका छन् । कतिपय नेपालीलाई अझै अरूकै जग्गा कमाएर खानुपर्ने अवस्था छ । आफूसँग भएको जग्गाजमिनले खान पुग्ने परिवार अझै नेपालमा कम छन् । झण्डै ५५ प्रतिशत किसान परिवारको आफ्नै जगाबाट उत्पादनले वर्षभरि खान पुग्दैन । हालको अवस्थालाई नियाल्दा बीपी कोइरालाको त्यो बेलाको समाजवाद आज उत्तिकै सान्दर्भिक छ ।
उहाँको समाजवादको मुख्य थिम भनेको हरेक नेपाली परिवारको जमिन र त्यहाँबाट उत्पादन हुने वस्तुको औद्यागिकीकरण बजारीकरणबाट आम्दानी गर्नु हो । कुनै जमिन खाली र बाँझो नराख्नु थियो । आज युवाहरू रोजगारीका लागि विदेश पलायन भएका छन् । गाउँमै बसेर कृषि गर्ने युवाहरूले उत्पादन गरेका वस्तुहरूले बजार नपाउने समस्या, बजार पाइहाले पनि उचित मूल्य नपाउने समस्याका कारण निर्वाहमुखी खेतीमै सीमित छन् ।
(लेखक कार्की नेपाल प्रेस युनियन जिल्ला शाखा ओखलढुंगाका अध्यक्ष हुनुहुन्छ ।)







कति छ आज विदेशी मुद्राको
दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक
चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर
भोटेकोशी बाढी : आठ जिल्लामा
एसिसी प्रिमियर कप : साउदीविरुद्ध
देशभर मनसुनी गतिविधि सक्रिय, यी