१. पृष्ठभूमि
खेमनाथ दाहाललाई मैले सर्वप्रथम बानेश्वरको एक मिठाई पसलमा भेटेको हूँ । उनीसँगको भेटको सन्दर्भ थियो नकुल सिलवालमार्फत ‘समालोचना वृत्तमा खेमनाथ दाहाल’ ग्रन्थको लागि सामग्री सङ्कलनमा मेरो सहभागिता र दौडधूप । दाहालका कृतिका समोलोचनात्मक लेख सङ्कलन गर्न मसँग सहयोग मागेका थिए नकुलले । बानेश्वरको त्यो भेटपछि दाहालको र मेरो भेटघाट क्रमशः बाक्लिएको थियो । त्यसपछि मैले दाहाललाई उनको स्थायी निवास सनराइज होम्स कोलोनी बालकुमारीमा भेटेँ, भलाकुसारी गरेँ । सन् २०१८ मा खेमनाथ दाहाल कोलोराडो आएका बेला स्मोकी हिलस्थित मेरो अपार्टमेन्टको डेरामा अतिथि सत्कार गर्न पाएको थिएँ । उनले भेट्न आउनु ठूलो कुरा भएको थियो मलाई । एक घण्टा साहित्यिक भलाकुसारी भयो । दिउँसोको समय थियो चियाखाजाले उनको सत्कार गर्न खोज्दाखोज्दै दाहालले समयाभाव भनेर हतार गरेँ । उनीसँग लामै समय बिताउने इच्छा भए पनि समय अभावका कारण स्याउसुन्तला खाँदै केही समय साहित्यिक चर्चा गर्यौ । अन्ततः उनी नेपालदेखि बोकेर ल्याएको ग्रन्थ ‘समालोचना वृत्तमा खेमनाथ दाहाल’ उपहारस्वरूप दिँएर केही तस्वीर खिचे/खिचाएर मसँग बिदा भएँ । उक्त तस्वीर मेरो पुरानो (ह्याक) फेसबुकमा होला खोजी सुरक्षित गर्ने सोचमा छु ।
दाहालको ‘अहोरात्र पृथक् स्वादको छ, रोचक र कौतूहलपूर्ण छ, पृथक् चिन्तनमात्र होइन, खोज-अनुसन्धानमूलक भएकाले आधिकारिक छ तथ्य सत्यमा आधारित छ । अमेरिका प्राप्तिको सपना, भिसा प्राप्तिको अभिलाषा, महत्त्वाकाङ्क्षा, विद्यार्थी भिसा, डिभी लोटरी र हिँडेर आउने (तल्लो बाटो) कागजपत्रविहीन नेपालीहरूको मनोद्वन्द्वावस्था, हीनता एवं धर्म-दर्शनको यथार्थ बिम्बलाई उजागर गर्ने उद्देश्यले यो संस्मरण खाले आख्यानात्मक कृति दाहालले लेखेको देखिन्छ ।
आठ वर्षको अन्तरालमा २०२४को अन्तिम हाप्ता म नेपाल गएको थिएँ । त्यसबेला मैले बालकुमारीस्थित स्रष्टा दाहालको निवास (निजी आपार्टमेन्ट)मा उनलाई भेटेँ । मैले उनलाई भेट्न जानुको खास उद्देश्य ब्राजाकी पत्नी ज्ञानु सिहं भण्डारीको अन्तर्वार्ता दाहालको प्रस्तुतिमा तयार पारेर प्रकाशोन्मुख कृतिमा समावेश गर्नु थियो । दाहाललाई भेटेर मेरो आशय भनेपछि त्यहीबाट उनले फोन गरे र श्रीमती ज्ञानु भण्डारीसँग समय मिलाए । त्यसको केही दिनपछि ब्राजाकी निवास गएर हामीले अन्तर्वार्ता लियौँ । दाहालका निवासमा बसेर चिया पिउँदै गर्दा भलाकुसारीका क्रममा हामीले नेपाली साहित्य जगतमा नकुल सिलवालको देनको स्मरण गर्यौँ र पटक–पटक बगरलाई सम्झियौँ । अतीतका कुरा समेटेर डायस्पोरिक चिन्तन बोलेको नियात्रा लेख्नुपयो भन्ने मेरो सुझाउ सुनेर दाहालले उनको कृति ‘अहोरात्र’ दराजबाट निकाले र यो एकपटक पढी हेर्नोस् न विमलाजी ! सायद यसले तपाईंको जिज्ञाषाको केही अंशलाई समेट्छ कि ? भनेँ । मैले यहाँ पढ्न नभ्याए पनि अमेरिका लिएर गएर पढने छु भनेँ । उपहार स्वरूप भन्दै सहीछाप गरेर दिएपछि पढने र समीक्षा लेखिदिने वचन दिइहालेँ मैले । सुटकेसमा त बोकेर ल्याएँ तर पढ्ने समय मिलेन । सम्पूर्ण कृति पढ्नै सकिनँ । मुलतबीमा राखें । वचन सम्झिएँ । वचन पूरा गर्न कोसिस गरेँ २०२५ र २०२६ मध्यसम्म । तर असमर्थ भएँ म ।
सन् २०२६ जुनको अन्तिम हप्ता गणेश सुवेदीद्वारा वाचित युट्युब सामग्री खेममाथले पठाए । श्रव्यसामग्री प्राप्त भएपछि मलाई ढुङ्गा खोज्दा द्यौता मिलेझैँ भयो । एक आइतबार दुइटा काममै उक्त सामग्री गोजीमा राखेर सुनेँ । दिनभर सुनेँ । सायद दश घण्टा बढी होला समग्र श्रव्यसामग्री । सुनिसकेपछि पाठक प्रतिक्रिया या सटिक समीक्षा लेखिदिउँ भन्ने सोच आयो । अतः ‘अहोरात्र’को समग्र श्रव्यसामग्री श्रवण गरेको आधारमा स्तम्भकारले आफ्नो विचारसहितको टिप्पणी गर्ने कोसिस गरेको छ ।
सन् २०१८ पूर्वका समयावधिमा स्रष्टा/सर्जक खेमनाथ दाहाल अमेरिका बस्थे । अमेरिका बसाइ अवधिमा उनले आफूले घण्टा हान्ने काम गरेका विभिन्न कृतिमार्फत स्वयम् उजागर गरेका छन् । अमेरिकामा घण्टा हान्ने काम भन्नुको मतलब ग्यास स्टेसन, सेभेन इलेभन वा होटल रेष्टुरेन्टको काम भन्ने सामान्य अर्थमा बुझिन्छ । दाहालका कृति पढ्दा विशेषतः ग्यास स्टेशनको क्यासियरमा काम गरेको पाइन्छ । त्यही क्यासियरको काम गर्दा दाहालले देखेका/भोगेका घटना–परिवेशमा ‘अहोरात्र’ आरम्भ भएको छ । त्यहीँ टुङ्गिएको छ । हार्वडको चौतारीमा’ नामक डायस्पोरिक चिन्तन बोकेको कविता सङ्ग्रहमार्फत परदेश अर्थात् सात समुद्रपारिको पीडा र प्रवासी नेपालीहरूको वास्तविकता देखाएका थिए खेमनाथले ! ग्यास स्टेसन अर्थात् पेट्रोल पप्प, स्टोरमा केही वर्ष काम गरेर दाहालले पकेट खर्च बनाए होलान्, केही हरिया नोट जम्मा पनि गरे होलान् । तर ती कुराहरू त उनको प्राथमिकतामा परेन जस्तो बन्यो । ग्यास स्टेसनको परिवेशलाई त दाहालले ‘प्लट’ निर्माणको मुख्य आधार बनाए छन् । घण्टा हान्ने कामसँग कथानक बटुलेर ! दिमागको डायरीमा भएका कथानकलाई लिपिबद्ध गरी उपलब्धिमूलक बनाएछन् । त्यही संयोग हो ‘अहोरात्र’ आख्यानात्मक गद्यकृति ।
यो स्तम्भकार अमेरिकामा घण्टा हानेर जीविकोपार्जन गर्छ । घण्टा हान्छको मतलब ग्यास स्टेसनको क्यासियरको काम गर्छ । ज्यान जोखिममा राखेर काम गर्न आदतजस्तो बनेको छ । बाध्यता–विवशताजस्तो बनेको छ । अन्य, काम (जागिर)तिर फिट नहुने भएकाले त्यहीँ/त्यसैमा आजसम्म रत्तिएको छ यो स्तम्भकार । समयले त्यही कर्म गर् भन्यो त्यही गरिएको छ । कामप्रति उच्च सम्मान छ । दाहालको कृति अहोरात्र सुनिसकेपछि मलाई छोयो किनभने मेरो जीवन भोगाइ, परिवेश ठ्याक्कै मिल्यो । नर्थइष्ट डीसीको क्षेत्र र न्यूयोर्कको वेसोर क्षेत्र दाहालले भोगे सायद । मैलेचाहिँ कोलोराडोको स्मोकी हिल र एभान्स (इष्ट इभेन्स) एरियामा भोगिरहेको छु । डायस्पोरिक विषयक तल्लोबाटो अमेरिका छिरी भविष्य देख्नेहरूको कथा पढेको छु- पदम विश्वकर्माको ‘पाताल’ र खेमराज पोखरेलको नागफणी’ उपन्यास । धरावासीको तल्लो बाटो’ उपन्यास चाहिँ आजसम्म पढ्ने मौका नजुरेकाले पढिएको छैन ।
दाहालको ‘अहोरात्र पृथक् स्वादको छ, रोचक र कौतूहलपूर्ण छ, पृथक् चिन्तनमात्र होइन, खोज-अनुसन्धानमूलक भएकाले आधिकारिक छ तथ्य सत्यमा आधारित छ । अमेरिका प्राप्तिको सपना, भिसा प्राप्तिको अभिलाषा, महत्त्वाकाङ्क्षा, विद्यार्थी भिसा, डिभी लोटरी र हिँडेर आउने (तल्लो बाटो) कागजपत्रविहीन नेपालीहरूको मनोद्वन्द्वावस्था, हीनता एवं धर्म-दर्शनको यथार्थ बिम्बलाई उजागर गर्ने उद्देश्यले यो संस्मरण खाले आख्यानात्मक कृति दाहालले लेखेको देखिन्छ । फिल्डमै गएर कथानक बटुल्ने एक इमानदार एक भुक्तभोगी (भोक्ता) साहित्यकारका रूपमा खेमनाथले आफूलाई प्रस्तुत गरेका छन् ‘अहोरात्र’मार्फत । आजको व्यस्त समयमा पुस्तक पढ्छु अवश्यै लेख्छु भने पनि मेरो लेखन–पठनकार्य ठप्पै बनेको थियो । अतः अडियो सुनेरमात्र केही लेख्न सम्भव भएको हो ।
२. ‘अहोरात्र’ कृतिको विशेषता
२.१ डायस्पोरिक चिन्तन
सात समुद्रपारि पुगी सपना देख्नेको वास्तविकता यस कृतिमा भेट्न सकिन्छ । उज्ज्वल भविष्य देख्ने, ग्रीनकार्डको सपना देख्ने सपनाको देशमा रमाउन खोज्ने महवाकाङ्क्षीहरूले ग्लानि, पश्चात्ताप र कुण्ठामा बाँच्नुपरिरहेको भन्ने मूल विषय उठान भएको छ कृतिमा । पाकिस्तानी फराज पात्र या ‘म’ पात्र या अन्य पात्रपात्रा होस् । सबैचरित्रहरू हीनग्रन्थिले ग्रस्त छन् । पीडाको आँसुमा जीवन कटाइरहेका छन् ।
२.२ मनोद्वन्द्वावस्था
अहोरात्र’ का प्रायः पात्रहरू मनोद्वन्द्वावस्थामा फसेको पाइन्छ । सोचेजस्तो हुन्न सात समुद्रपारि अर्थात् पाश्चात्य मुलुक भन्छन् दाहाल । सुखद् सपना हो विपना त दुःखद् छ पीडाको भारी छ भन्छन् स्रष्टा । अमेरिकामा पाइला टेकिइसकेपछि सोचेजस्तो जीवन नहुँदा घर न घाटको भएका छन् प्रायः पात्रहरू । मूलतः विद्यार्थीले त्यो अवस्था भोगेका छन् । जुनसुकै प्रक्रियाबाट आए पनि प्रवासीहरूको पीडा लगभग उस्तै छ । अधकल्चो अवस्थामा पुगेका पात्र ग्लानि-कुण्ठा र मनोद्वन्द्वावस्थामा पुगेका छन् । पाकिस्तानी फराजको पनि त्यही हाल छ ।
२.३ विद्वत्ता प्रदर्शन : विद्वान् ज्योतिष पण्डितका छोरा खेमनाथ तेह्रथुमको लावृमा जन्मिए, बाल्यकाल पहाडको वातावरणमा बिताए, धरानबाट प्रवेशिका परीक्षा पास गरे, कमर्समा स्नातकोत्तर पूरा गरे । शिक्षा कार्यालयमा जागिर खाए, निर्माण व्यवशायी भएर ठेक्कापट्टाको समेत काम गरे । पछि थोक व्यापार पनि गरे । तर उनले कुनै व्यवसाय पनि आफ्ना लागि निर्माण भएका भन्ने महसुस गरेनन् र उनी कुनै पेशाबाट सन्तुष्ट भएनन् । सबैतिरबाट पार नलाग्ने निचोड निकाले । त्यसपछि साहित्य-साधनामा एकोहोरिए । पाण्डित्यपूर्ण संस्कारमा हुर्किएका दाहालले पूर्वीय धर्मदर्शन एवं शास्त्र आदिलाई ‘अहोरात्र’मार्फत प्रस्तुत गरेका छन् । संवादात्मक शैलीमार्फत दाहलले पूवीर्य धर्मग्रन्थ, पुराण, नीति पढाएका छन् । ज्ञानको प्रकटीकरण गरेका छन् । गीता दर्शन, बौद्ध दर्शनमात्र होइन, फराज पात्रमार्फत समन्वयवादी चिन्तन प्रस्तुत गरेका छन् । हिन्दु, बौद्ध, क्रिस्चियनका मूलग्रन्थको सहारा लिएर धर्मको इतिहास बताएका छन् । गीताको दर्शन-कर्म गर फलको आश नगरजस्ता बौद्ध दर्शनको ‘अहिंसा परमो धर्मः’ भनी संस्कृत सूक्ति र श्लोकमार्फत मान्छेलाई नीतिवान् बन्न प्रेरित गरेका छन् दाहालले । जनुसुकै धर्म-आस्था भए पनि ईश्वर एक हो । प्रकृतिको सृष्टिलाई उच्च सम्मान गर्न सुझाउँछन् । दर्शन-तर्क ज्ञान प्रस्तुतिले दाहालको पूर्वीय ज्ञान छरपष्ट हुन्छ । यो प्रकटीकरणमा नै दाहालको वैशिष्ट्यता झल्किएको आभास पाइन्छ ।
२.४ राष्ट्रियता : खेमनाथ दाहालका प्रायः कृतिहरू राष्ट्रिय भावनाले ओतप्रोत हुन्छन् । ‘अहोरात्र’ आख्यानात्मक गद्यकृति पनि राष्ट्रप्रति गम्भीर चिन्ता प्रकट गरी लेखिएको पाइन्छ । विदेशमा रहेर पनि पलपल नेपालको विकास, समृद्धि, सुशासनमा चिन्ता लिएको छ । दाहालले माटोप्रति औधि गर्व गर्छन् भन्ने कुरा कृतिका मुख्यपात्र फराजलाई नेपालको भ्रमण गरी संस्कृति-सम्पदा र इतिहास-भूगोल जान्न अभिप्रेरित गरेको प्रसङ्गले पुष्टि गर्छ । नेपालमै केही गर्न सकिन्छ ऋणको भारी बोकीबोकी सात समुद्रपारि पुगी भविष्य उज्ज्वल बनाउँछु भन्ने भ्रममात्र हो भन्दै नेपालकै माटोमा रमाउन आह्वान गर्छन् ‘अहोरात्र’मार्फत । नेपालको इतिहास संस्कृतिप्रति गौरव गरिएको पाइन्छ । अतः दाहाल एक राष्ट्रवादी स्रष्टासर्जकका रूपमा आफूलाई प्रस्तुत गर्छन् यस कृतिमार्फत ।
२.५ राजनीतिक चिन्ता : खेमनाथ दाहाल एक प्रगतिशील, साहित्यकार हुन् । एक सामाजिक नेता पनि हुन् । निकै आशावादी भएर देशको चिन्ता गर्ने दाहालमा निराशा पनि छाएको देखिन्छ । नेताहरूको अकर्मण्यताले बेरोजगारी बढेको दिनप्रतिदिन युवाहरू विदेशिन बाध्य हुनुपरेको तर्क देखिन्छ । बाध्यता, विवशता, रहर र महत्त्वाकाङ्क्षाले यस्तो हुनपुगेको भन्ने खेमनाथको तर्क देखिन्छ । यस्ता परिवेश खेमनाथको निर्माण गराउने लोकतन्त्रवादी/गणतन्त्रवादी सरकार हो भनी आक्रोश पोख्छन् । विश्वका वाद–सिद्धान्तको कुरा गर्दै दाहाल साम्यवाद, पुँजीवाद, विकास–समृद्धि र करको कुरा उठाउँछन् । उद्योग–धन्दा–रोजगारी सिर्जना गर्दै जनतालाई करको दायरामा ल्याउनसके देशको अर्थतन्त्र मजबुद हुने तर्क राख्छन् ।
२.६ बौद्ध दर्शनको सौम्यता र शालीनता : फराज पात्रसँगको संवादमा बौद्ध धर्म-दर्शन, बुद्धको उपदेश, लुम्बिनीको ऐतिहासिकता उल्लेख भएको छ । नेपाल बुद्धको देश हो । (Buddha was Born in Nepal) भन्ने वास्तविकतालाई छर्लङ्ग पार्दै भ्रमको खेती गर्नेप्रति आक्रोश पोख्छन् । बुद्धको इतिहास केलाउँदै बुद्धको वाणी पाठकलाई सुनाउँदै शान्तिप्रिय र अहिंसावादी बन्न प्रेरित गर्छन् । कटु वचन पनि हिंसा हो यस्तो नगर्न सुझाउँछन् ।
२.७ समन्वयवादी चिन्तन : ‘अहोरात्र’ कृतिमा फराज जस्तो कट्टर पात्रमार्फत समन्वयवादी सन्देश प्रवाह भएको छ । धर्म जे भए पनि आस्था जे भए पनि मानवकल्याण धर्म हो । एकअर्काको आस्था-धर्म र संस्कारलाई सम्मान गर्न सिकौँ भनिएको छ । हिन्दु, इस्लाम, क्रिस्चियन धर्मग्रन्थको उत्पत्ति, इतिहास र मूलमर्म केलाउँदै, तुलना गर्दै वसुधैव कुटुम्बकम् ‘धर्मो रक्षति रक्षितः’ भन्छन दाहाल । मेरे सनातनी धर्मग्रन्थ सही हो अरू बेसही हो, भन्ने पक्षमा दाहाल छैनन् । फराज जस्तो पात्रलाई समेत समन्वयवादी बनाउन सक्नु दाहालको खुबी हो ।
२.८ विशिष्ट सिर्जनक्षमता : खेमनाथ दाहाल ५० को दशकबाट मात्र प्रकाशन क्षेत्रमा देखिएका हुन् कविका रूपमा । उनको पहिलो कृति श्रद्धाञ्जलि कवितासङ्ग्रह २०५४ सालमा प्रकाशन भएको देखिन्छ । नकुल सिलवालको सङ्गत विसं २०५५/५६ देखि गर्न थालेपछि दाहालको साहित्यिक क्षमतामा अझ उर्जा थपियो । त्यही उर्जाको शक्तिले खण्डकाव्यदेखि महाकाव्यसम्म लेख्न भ्याए । ‘श्वेतपत्र’ जस्तो गतिलो महाकाव्य लेख्नसक्नु चानचुने कुरा थिएन । छन्दमा सशक्त कलम चलाउनसक्ने दाहाल गद्यलेखनमा समेत तिखारिएर देखा परे । सशक्त रूपमा नियात्राकृति समीक्षा कृति र अन्य कृति लेखे । कृति ’अहोरात्र’ पनि गद्यकृतिको गतिलो प्रमाण हो । खेमनाथ दाहालको लेखनको कसी पूर्वीय दर्शन चिन्तन हो । पुराण, पुराकथा आदिलाई आधार बनाएर लेख्छन् उनी विशद् ज्ञान भएकै कारण श्लोक, सूक्ति, पात्रपात्रा र विषय बनाउँछन् ।
२.९ सामाजिक विभेदका विरुद्ध आवाज : दाहाल स्वयम् जातपातका विरोधी हुन् । पूर्वीय धर्मदर्शन र ग्रन्थहरूमा बिलकुल विभेद नगरिएको तर अद्यापि सामाजिक विभेद भइरहेकोप्रति गम्भीर चिन्ता प्रकट गर्छन् ‘अहोरात्र’ मार्फत । मानवजाति ईश्वरको सृष्टि हो, विभेद गरिनु पाप हो मानवअधिकारको हनन हो भन्छन् दाहाल ।
२.१० सेवादात्मक/संस्मरणात्मक प्रथम पुरुष दृष्टिबिन्दु शैली : ‘अहोरात्र’मा घटनावर्णन गर्न, विषयको उठान गर्न र कथानक निर्माण गर्न खेमनाथले संवादलाई माध्यम बनाई घटना प्रस्तुत गरेका छन् । त्यस्तै खेमनाथ अर्थात् म’ पात्र अर्थात् अङ्कलजी पात्रको प्रयोग गरी प्रथम पुरुष दृष्टिबिन्दुमा रुचि देखाउँछन् । कृतिमा प्रथम र तृतीय पुरुष दृष्टिबिन्दु दुवै प्रयोग भएका छन् ।
खेमनाथ दाहालको ‘अहोरात्र’ले धर्म-दर्शन-चिन्तन र ब्रेनड्रेनको विषय उठाउनुका साथै राष्ट्रियता-स्वाभिमानको विषयलाई बेजोडसँग उठाएको छ । आफ्नै माटोमा रमाउनू भन्ने सन्देश दिएको छ । कृति जीवन्त छ, पाठकलाई दीर्घकालीन प्रभाव पार्ने खालेछ ।
२.११ सन्देश
दाहाल लगभग आठवर्ष जति समय अमेरिका बसे । उनका छोरी र छोरा अमेरिकामै उच्चशिक्षाका सिलसिलामा थिए । घरजम गरी बसेका छोरीज्वाइँ र विद्यार्थी छोरा भेट्न गए अमेरिका । हार्वर्डको चौतारीमा पुगेर कविताकृति लेखे । अमेरिका बसाइका क्रममा ग्यास स्टेसन अर्थात् पेट्रोल पम्प अर्थात् स्टोरमा केही वर्ष काम गर्न पुगे । त्यहाँ काम गर्दा प्रवासीहरूको सङ्घर्ष-पीडा देखे । आफैंले वास्तविकता भोगे देखे । त्यही याथार्थिक घटनाको प्रस्तुत गर्ने र धर्मबारे भइरहेको फाँटो, चिर्ने उद्देश्यले यो कृति तयार गरेको देखिन्छ । नेपालमै केही गरौँ भन्नु र दाहालीय दर्शन छाट्ने उद्देश्यले अहोरात्र लेखेको देखिन्छ । नैतिक, सदाचार र शालीन बन्नुपर्छ भन्ने सन्देशप्रवाहको उद्देश्य पनि खेमनाथको देखिन्छ ।
२.१२ पात्र पात्राको महत्त्वाकाङ्क्षा
‘अहोरात्र’ का पात्रपात्रा महत्त्वाकाङ्क्षी छन्, ग्रीनकार्ड होल्डर नेपाली केटीसँग विवाह गरेपछि धोका पाएको । कयौँ पैसा स्वाहा भएको प्रसङ्ग आएको छ । विद्यार्थीहरू महत्त्वाकाङ्क्षी छन् स्टाटस लिगल राख्नका लागि केटी खोज्ने प्रसङ्ग डिभोर्स प्रसङ्ग सबै कसैका लागि स्वार्थ र कसैका लागि विवशताको विषय बनेको छ ।
२.१३ परिवेशीय चित्रण
ग्यास स्टेसनकै परिवेशमा कथानक ढुङ्गिएको पाइन्छ ‘अहोरात्र’मा । घण्टा हान्ने, रजिष्ट्रर, ओभर सर्ट, कफी, डलर, मालिक, ग्राहक, सेमेन इलाभेन, रातको परिवेश, चुरोट पिउँदै फराज–‘म’ पात्रबीचको संवाद–तर्क बहस, फराजको पारिवारिक जीवनको प्रसङ्ग पाकिस्तान आदि परिवेशका रूपमा चित्रित छन् । एक ग्यास स्टेसन र त्यहाँको गतिविधिको स्थानीय रङ्ग भरेको छ । दाहालले आफूलाई आञ्चलिक सृष्टाको परिचय दिन खोजेका छन् ।
२. १४ अध्ययन-अनुसन्धानमूलक कृति
खेमनाथले गहिरो अध्ययन गरेर, फिल्डमा गएर भ्रमण–अवलोकन गरेर, आफैँ भोक्ता बनेर खोजमूलक रुपमा अहोरात्र’ तयार गरेको पाइन्छ । एक इतिहास र समाज/मानव शास्त्र को शोध विद्यार्थीजसरी सामग्रीका सत्यतथ्य प्रस्तुत गरेका छन् दाहालले । लेखलाई आधिकारिक र तथ्यपरक बनाउन उनी खप्पिस छन् ।
३. शक्ति र सीमा
अहोरात्र’ विचार, तर्कदर्शन र राष्ट्रवादी चिन्तन बोकेको आख्यानात्मक कृति हो । कतिपय लेखकले तल्लो वाटो अमेरिका प्रवेश गर्नेहरूको कथा लेखेका पनि छन् । तर खेमनाथको यो कृति पृथक लाग्छ । उच्चकोटिको यस कृतिमार्फत दाहाल नेपाललाई स्वर्ग बनाउन सकिने तर्क राख्छन । सकारात्मक सोच राखी माटोको सेवामा रमाउँदाको आनन्द अरू कहीँ पाइँदैन भन्छन । तपोभूमि, देवभूमि नेपाललाई छोडेर पलायन हुनु घातमात्र हो भन्छन् । बुबाआमाका सपना छोराछोरीको उज्ज्वल भविष्यतर्फ छ तर यहाँ ऋणको भारी बोके पनि उपलब्धि हुन नसक्ने तर्क राख्छन । सपना त विपनामा परिणत भए पनि ऋणको भारले थिचिएपछि ग्लानि पहुतो मात्र हुन्छ । पढेका विद्वान डाक्टर–इन्जिनियर सन्तुष्ट हुन नसकी मनोद्वन्द्वावस्थामा रहेको उदाहरण दिछन् ।
जग्गाजमिन बैङ्कमा राखेर, घरघडेरी बेचेर बच्चाको खुशी भविष्य भन्दै विदेश पठायो तर सोचेजस्तो नभएपछि एकाकीपन–चरम निराशामात्र हात पर्छ । थुप्रै पात्रपात्राहरूको उदाहरण दिएर दाहाल विदेशी सपना नदेख्न आग्रह गर्छन ‘अहोरात्र’मार्फत । यो कृति पृथक छ, अर्ती उपदेश दिने खाले छ । पूर्वीय चिन्तन, उत्कृष्ट विचार र संस्कृतनिष्ठ शब्दचयन, बौद्धिकता, शालीनता कृतिको विशेषता बनेको छ । पूर्वीय धर्मग्रन्थ, गीता, श्रीमद्भागवत र नीति श्लोकका सूक्ति र टीकामार्फत दाहालले आफ्ना तर्कहरू पुष्टि गर्न खोजेका छन् । यो कृतिको मुख्य भाषिक विशेषता यही बनेको छ ।
'अहोरात्र’लाई उपन्यास भन्ने कि आख्यानात्मक गद्यकृति ? पाठक/ समीक्षक द्विविधामा पर्न सक्छन् । दाहालले समग्र जीवनको, धेरैपात्र, नायक-नायिकाको प्रस्तुति नगराएकाले, संस्मरण-जस्तो लेखेकाले औपन्यासिक कृतिले पूर्णता नपाएका भनी आरोप लगाउन सक्छन् । जे होस एक से एक विद्वान्ले यसलाई उपन्यासकै स्थानमा राखी लेखहरू प्रकाशन गरिसकेपछि थप टीकाटिप्पणी गर्नू उचित हुन्न् । थोरै पात्र र आत्मवृत्तान्तखाले लेखन यो कृतिको कमजोर पक्ष हो । मूलतः तर्कदर्शन, बौद्धिकता कृतिको मूल विशेषता भए पनि संवाद पक्ष कमजोर लाग्छ, जीवन्त नबनेकै लाग्छ । फराज र माइकलको संवाद हिन्दी र अंग्रेजीमा जस्ताको तस्तै राखिदिएको भए कृति मान रोचक बन्ने थियो । यो स्तम्भकार अहोरात्रलाई संस्मरणात्मक आख्यानात्मक गद्यकृति भन्न रुचाउँछ । आगामी दिनहरूमा डायस्पोरिक नियात्रा, उपन्यास मार्फत दाहाल पुनः देखा पर्ने अपेक्षाका साथ शुभकामना ।
(लेखक अधिकारी हाल कोलोराडो, अमेरिकामा बस्नुहुन्छ ।)







भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी
प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका
बाढीपछि त्रिशूलीका सहायक खोलामा बालुवा