जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले अग्रगामी मोर्चा अधिकार, आत्मसम्मान र स्वायत्तताको लडाइँका लागि निर्माण भएकाले यसलाई टिकाएर अघि बढाइने बताउनुभएको छ ।
शनिबार जनकपुरमा अग्रगामी मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले विगतका मधेस आन्दोलन, जनयुद्ध तथा अन्य राजनीतिक आन्दोलन सम्झौतामै टुंगिँदा जनताका अपेक्षा पूरा हुन नसकेको दाबी गर्नुभयो । अब अधिकार प्राप्तिका लागि निर्णायक आन्दोलन आवश्यक रहेको उहाँले बताउनुभयो ।
राउतले मोर्चालाई नेताहरूको तहमा मात्र सीमित नराखी गाउँ–गाउँ र वडा–वडासम्म संगठन विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । पाँच औँला एक ठाउँमा मिल्दा मुठ्ठी बन्ने उदाहरण दिँदै उहाँले अधिकार प्राप्तिका लागि उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायबीच एकता आवश्यक रहेको बताउनुभयो ।
मोर्चा सरकार गिराउने वा बनाउने उद्देश्यले मात्रै गठन नभएको दाबी गर्दै उहाँले जनताको अधिकार, आत्मसम्मान तथा प्राप्त उपलब्धिको रक्षा गर्नु यसको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो । संघीयता, स्वायत्तता र समानुपातिक समावेशिताजस्ता उपलब्धि गुम्न सक्ने खतरा रहेको भन्दै त्यसको रक्षाका लागि संगठित हुनुपर्ने उहाँको भनाइ थियो ।
राउतले वर्तमान सरकार मधेसको शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार, वैदेशिक रोजगारी तथा सीमावर्ती जनताको सम्मान र सुरक्षाका सवालमा असफल भएको आरोप लगाउनुभयो । सरकारको आलोचना गर्दै उहाँले मधेसका जनताले आफ्ना अधिकारका लागि आफैँ निर्णायक भूमिका खेल्नुपर्ने बताउनुभयो ।
विगतमा मधेसका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता जनाएका ठूला राजनीतिक दलहरूले पर्याप्त काम नगरेको आरोपसमेत उहाँले लगाउनुभयो । मधेसका समस्या समाधान गर्ने जिम्मेवारी अन्ततः मधेसकेन्द्रित दलहरूकै भएको भन्दै अन्य दलबाट अधिकार प्राप्त हुने भ्रममा नपर्न उहाँले आग्रह गर्नुभयो ।
अग्रगामी मोर्चामा विभिन्न राजनीतिक धार, आन्दोलनका अनुभव र नेतृत्वलाई समेटिएको उल्लेख गर्दै राउतले मोर्चा दीर्घकालसम्म टिकाएर अघि बढ्ने दाबी गर्नुभयो ।







बाढीबाट अवरुद्ध विद्युत् जडान तीव्र
सुनसान छन् सौराहाका होटल, पर्यटक
ब्याज मिनाहा गरी ऋण नविकरण
भदौ २४ को घटना नेपालको
बाजुरामा खोलाले बगाउँदा किशोर बेपत्ता
उखु बेचेको छ महिना बित्दा