हाम्रा शास्त्रमा कुनै विशेष कार्य गर्दा के फल मिल्छ ? भन्ने कुराको महिमा वर्णन विशेष गरेको पाइन्छ । चाहे शास्त्रीय ग्रन्थ हुन् चाहे स्तुति पाठ नै किन नहुन् हरेकमा फलश्रुति अर्थात् उक्त पाठ गर्नाले के फल मिल्छ भन्ने विशेष उल्लेख हुन्छ । यस्ता ग्रन्थ, स्तोत्र पाठका आखिरमा प्राय फलश्रुतिसंरचित पाइन्छन् । हरेक स्तोत्रमा फलश्रुतिवर्णन पाइनु हाम्रा शास्त्रको शास्त्रीय विशेषता पनि हो । उक्त कार्य वा पाठ गर्न प्रवृत्त गराउनका निम्ति पनि यस्तो फलश्रुतिको विशेष महिमा रहेको पाइन्छ । यदि फलश्रुति नहुने हो भने ती विषयवस्तुमा हाम्रो प्रवृत्ति नै हुने थिएन ।
यसैगरी हाम्रा धार्मिक एवं सांस्कृतिक गौरवका विषय पनि यति समृद्ध हुने थिएनन् । हाम्रा व्रतपर्व पनि यही फलश्रुतिमा नै निरन्तर चलिरहेका छन् । हरेक कार्यको प्रतिफल हामीलाई अवश्यमेव चाहिन्छ । फलविनाको कार्य पनि हुँदैन । कार्यकारण सम्बन्ध हुनै पर्दछ । सनातन समाजलाई मिहिन अध्ययन गरेर हाम्रा ऋषि महर्षिले यस्ता फश्रुतिको व्यवस्था गरेका हुन् । यसैले शास्त्रीय मर्यादाको अभिन्न अङ्गका रूपमा फलश्रुति वर्णन पाइन्छ ।
चाहे कनकधारा स्तोत्र पाठ होस्, चाहे सरस्वती प्रार्थना, चाहे शिवमासपूजा, चाहे श्रीसूक्त, चाहे अथर्वशीर्ष नै किन नहुन् सूक्त, हेरक मन्त्रको फलश्रुति कतै प्रत्यक्ष त कतै अप्रत्यक्ष रूपमा भए पनि व्यक्त भएको पाइन्छ । वेद स्वयं श्रुति नै हुन् । वेदाङ्गका हरेक ग्रन्थमा यस्ता फलश्रुति विद्यमान पाइन्छन् । अनुसन्धानमा पनि कार्यप्रयोजन बताउनु पनि एक प्रकारको फलश्रुति नै हो ।
दुर्गासप्तशती पाठ किन गर्ने भन्दा ‘यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम् ।।’ (चण्डी, देव्याकवच, ४४) अर्थात् दुर्गाकवचको पाठ गर्नाले जे चितायो त्यो निश्चय नै प्राप्त हुन्छ । यसैले कार्यसिद्धिका निम्ति प्रवृत्त गराउन यस्ता विषयले विशेष महिमा राख्ने गर्दछन् । हरेक पाठमा फलश्रुतिको वर्णन पाइन्छ । किनकि हरेक पाठको आआफ्नै महिमा रहेको छ । यसरी फलश्रुतिका दुई पाटालाई पनि साथसाथै वर्णन गरिएको पाइन्छ । गर्दा के हुन्छ र नगर्दा के हुन्छ ? यसका साथै विधिपूर्वक नभए पनि फल नमिल्ने, अनिष्ट हुने भएकाले विधिलाई पनि ध्यान दिनुपर्ने कुराको उठान गरिएको शापोद्धार विधिमा यसरी बताइएको छ : ‘एवं मन्त्रं नजानाति चण्डी पाठं करोति यः । आत्मनं चैव दातारं क्षीणं कुर्यान्न संशयः ।।’
यसरी मन्त्र नजानी यदि चण्डी पाठ गर्दछन् भने निश्चय नै आफैंलाई क्षय गर्नेवाला हुन्छ भन्ने कुराबाट पनि सचेत हुँदै फल श्रवण गराउँदै विधिविधानलाई पनि विचार गरी कार्यमा लाग्नुपर्दछ भन्ने निर्देश पाइन्छ । यसैगरी श्रीमद्भागवतामा पनि गोकर्णले लगाएको पहिलो सप्ताहबाट धुन्धुकारीको मात्र उद्धार भएको । फल श्रवणका भेदले अरूको उद्धार हुन नसकेका कारण पुनः सप्ताह लगाएर मुक्त गराएका प्रसङ्ग पनि यसमा विद्यमान पाइन्छन् । हरेक व्यवस्थालाई व्यवस्थित गर्न पनि यस्ता विषयवस्तुको आवश्यकता हुने गर्दछ । जसरी घोडालाई लगामको आवश्यकता हुन्छ, गाडी चलाउनेलाई हेन्डिल सही परिचालनजस्तै जीवन र जगत्लाई सही गति दिन शास्त्रीय फलश्रुतिको व्यवस्था भएको हो ।
देवीका रहस्य पनि यस्तै फश्रुतियुक्त छन् । रहस्य पाठ नगरे अङ्ग नपुग्ने विधान पनि यसअन्तर्गत नै पाइन्छ । यसका साथै दुर्गामानस पूजा, कुञ्जिकास्तोत्रमा पनि फलश्रुतिको वर्णन छ । किनकि फलश्रुतिविना यस्ता कार्य पूरा पनि हुँदैनन् । यसैले फलश्रुति पनि पाठको अङ्ग नै हुन् भनिएको छ र हुनुपनि पर्दछ । श्रीमद्भगवद्गीता पाठमा पनि यस्तो फलश्रुति पाइन्छ । श्रीविष्णुसहस्रनाममा पनि १२० श्लोक पछिका फलश्रुति हुन् । जसको श्रवण गर्नुपर्ने विधान छ । फलश्रवणले नै हाम्रा शास्त्रपरम्परालाई जीवित राखेका छन् ।
हाम्रो कल्याणका निम्ति नै यस्ता फलश्रुतिको व्यवस्था गरिएको पाइन्छ । जसका निम्ति प्रवृत्त गराउनु, सक्रिय र जागृत बनाउन पनि फलश्रुतिले विशेष महत्त्व राखेका छन् । सत्यनारायणको व्रतकथा, लक्षवर्तिका प्रज्वलनको कथा, तीज, पञ्चमीका व्रतकथा पनि यही फलश्रूतिले निरन्तर प्रचलनमा रहेका छन् । चाहे कनकधारा स्तोत्र पाठ होस्, चाहे सरस्वती प्रार्थना, चाहे शिवमासपूजा, चाहे श्रीसूक्त, चाहे अथर्वशीर्ष नै किन नहुन् सूक्त, हेरक मन्त्रको फलश्रुति कतै प्रत्यक्ष त कतै अप्रत्यक्ष रूपमा भए पनि व्यक्त भएको पाइन्छ । वेद स्वयं श्रुति नै हुन् । वेदाङ्गका हरेक ग्रन्थमा यस्ता फलश्रुति विद्यमान पाइन्छन् । अनुसन्धानमा पनि कार्यप्रयोजन बताउनु पनि एक प्रकारको फलश्रुति नै हो ।
प्रयत्नपूर्वक प्राप्त भएको फल नै वास्तवमा उपभोग गर्दा पनि आनन्ददायक हुन्छ । यसका निम्ति प्रवृत्ति आवश्यक हुन्छ । त्यो प्रवृत्तिका निम्ति फलश्रुति गरिन्छ । ग्रह विशेष जप पाठादिले शान्ति मिल्छ भन्ने फलश्रुति छ । यही फलश्रुतिकै आधारमा हामी यस्ता धार्मिक अनुष्ठान गर्दछौँ । यदि यस्तो व्यवस्था नभए न त हामी कुनै जप पाठ नै गर्दछौँ, न त सूक्त पाठ, न कुनै यज्ञ अनुष्ठान नै । यज्ञमा प्रवृत्त गराउने मूल आधार नै फलश्रुति हुन् । जसले हाम्रा कल्याका कार्य हुने गर्दछन् ।
मुक्तिका निम्ति श्रीमद्भागवत पाठ पारायण गराउनुपर्दछ । पद्मपुराणमा भागवतको महिमा नभएको भए, स्वयं भागवतमै फल र त्यो फल वर्णनमा आख्यान उपाख्यान नहुने हो भने भागवतको महिमा यसरी रहने थिएन । हामीलाई नै कार्य गर्दा के फल मिल्छ ? भन्ने प्रश्न सुरुमै आउने गर्दछ । हामी पनि अप्रत्यक्ष रूपले फाइदाकै विषय उठान गरिरहेका हुन्छौँ । जब यस्ता कल्याणका विषयको ज्ञान हुन्छ तबमात्र हामी तत् कार्यमा प्रवृत्त हुने गर्दछौँ । मूलतः श्रीमद्भागवतको वास्तविक तत्त्व ज्ञान के हो त ? यदि चतुःश्लोकी भागवत नै मूल हो भने अरू किन पाठ गर्ने त भन्ने प्रश्न पनि रहन्छ । यहाँ पनि उही तत्त्वज्ञानका निम्ति फलश्रुति नै अनुस्यूत पाइन्छ ।
गर्भमा रहने ज्ञानलाई सामान्य बुझाउन कठिन हुन्छ । अनेकौँ दृष्टान्त चाहिन्छन्, समय अनुसारको व्याख्या चाहिन्छ, देश कालले पनि फरक पार्ने गर्दछ । बच्चालाई फकाएर माम खुवाएजस्तै नै फलश्रुतिले पनि कार्य गरिरहेका हुन्छन् । ढुङ्गाभित्र सुन छ भनेपछि मात्र हामी ढुङ्काका पत्र फोड्न थाल्छौँ । समुद्रमा अमृत छ भनेकै कारण देवता र दानव मिलेर समुद्र मन्थन गरेका हुन् । हुन त सबै कुरा यहीँ छन् । यहीँ देखे भोगेका पनि छौँ तर तिनै कुरा फिलिमले व्यवस्थित कथामा गुथेर देखाउँदा हामी आकर्षित हुन्छौँ । यसैगरी भागवती ज्ञानको गर्भमा पुग्नाका निम्ति नै फलश्रुतिको मार्ग अवलम्बन गरिएको हो । कथा त केवल तत् ज्ञानमा प्रवृत्त गराउने माध्यममात्र हुन् । मूलतः तत्त्व ज्ञान नै हो ।
कल्याणका निम्ति फलश्रुति हरेक विषय र क्षेत्रमा रहने गर्दछ । महत्त्वहीन विषय र क्षेत्र हाम्रो प्रयोग र अभ्यासबाट हराउँदै जाने गर्दछन् । यसैले पुनःताजकी गराउन पनि फलश्रुति आवश्यक हुने गर्दछ । दान गर्नाले अक्षय पुण्य प्राप्ति हुन्छ । यो लोकका साथै परलोकमा पनि उपभोग गर्न पाइन्छ । दान दिएका वस्तु हाम्रा पितृले प्राप्त गर्दछन् ।
सुनलाई पनि चम्काएपछि मात्र सुन्दर देखिन्छ । गहना लगाएरमात्र हुँदैन । प्रशंसक नै भएनन् भने त्यो गहनाको कुनै महत्त्व रहँदैन । अनि त्यही गहना लगाउँदा कसैले नराम्रो भने भने हामी स्वयं त्यो लगाउन रुचाउँदैनौ । किनकि प्रशंसकले नै हामीलाई गहना लगाउन प्रवृत्त गराएका छन् । यसैगरी हाम्रा शास्त्रको अभ्यासमा पनि यही फलश्रुतिले प्रवृत्त गराएका छन् । यसैले हामी तत् यज्ञ यागादिमा सक्रितायपूर्वक लाग्ने गर्दछौँ । ज्योतिष किन पढ्ने भन्दा धर्म, अर्थ र काम प्राप्तिका निम्ति भनी भास्कराचार्यले बताएका छन् । यसैले हामी ज्योतिषकोअध्ययन गर्दछौँ ।
यदि यहाँ कसैले ज्योतिषीय विषयलाई नमान्ने, विश्वास नगर्ने हो भने हामी त्यो अध्ययनमा प्रवृत्त रहँदैनौँ । यसैगरी हरेक विषयक्षेत्रमा पनि यस्तै फलश्रुतिले महत्त्व राख्ने गर्दछन् । जुन विषयको अधिक फलश्रुति मिल्छ मान्छे त्यही विषय र क्षेत्रमा प्रवृत्त हुने गर्दछन् । अनावश्यक विषय र क्षेत्रमा हामी प्रवृत्त हुन चाहँदैनौँ । यो मानवीय स्वभाव नै हो । नरिवलभित्र पानी हुन्छ । त्यो पानी खानुहोस् तपाईंको कल्याण हुन्छ भनेर कसैले भनेपछि नै तपाईं नरिवलका जटा फोर्न थाल्नुहुन्छ । यदि त्यो ज्ञान भएन भने तपाईं त्यो कठिन कार्यमा उद्यत हुनुहुन्न ।
यसैले कल्याणका निम्ति फलश्रुति हरेक विषय र क्षेत्रमा रहने गर्दछ । महत्त्वहीन विषय र क्षेत्र हाम्रो प्रयोग र अभ्यासबाट हराउँदै जाने गर्दछन् । यसैले पुनःताजकी गराउन पनि फलश्रुति आवश्यक हुने गर्दछ । दान गर्नाले अक्षय पुण्य प्राप्ति हुन्छ । यो लोकका साथै परलोकमा पनि उपभोग गर्न पाइन्छ । दान दिएका वस्तु हाम्रा पितृले प्राप्त गर्दछन् । यी यस्तै विषय तत् कार्य प्रवृत्तिका निम्ति फलश्रुति हुन् । कार्यको महिमा नहुने भए तत् विषय, क्षेत्र र कार्य अर्थहीन रहन्छन् । श्रीमद्भागवतले कुलको उद्धार हुने भएकाले नै सप्ताह यज्ञ गरिन्छन् । अन्यथा कसैले भागवत लगाउने थिएनन् ।
जसरी आज अन्य पुराण गौण छन् । वास्तवमा त्यो तत्त्वज्ञान भएपछि नै उद्धारका, मुक्तिका बाटा खुल्नेहुन् । सम्पूर्ण हाम्रा पुराण, यज्ञ यागादि कर्म यही फलश्रुतिमा नै अडिएका छन् । जसको अस्तित्व छ त्यो यही फलश्रुतिकै प्रभाव हो । इतिहासलाई साथमा लिएर हाम्रा संस्कृति र सभ्यतालाई पुस्तान्तरण गराउन पनि यस्ता विषय अपरिहार्य रहने गर्दछन् । यसैले हरेक विषय क्षेत्र र विधामा फलश्रुति छ । यही कल्याणका निम्ति हाम्रा फलश्रुतिको उल्लेख गरिएको हो ।







विपद्को पीडाबीच आएको तीज, भक्तजन
चीनले इरानलाई सूचना दिएको खबर
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी