काठमाडौं । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी हिमबाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाको पर्यटन क्षेत्रमा मात्रै ५२ अर्ब १३ करोड ६५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको क्षति पुर्याएको प्रारम्भिक अध्ययनले देखाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित ‘भोटेकोशी हिमबाढी क्षति मूल्यांकन समिति’ले तयार पारेको प्रारम्भिक अध्ययन प्रतिवेदनअनुसार हिमचट्टान सहितको पहिरो हिमतालमा खसेर अत्यधिक वेगमा आएको बाढीले होटल, रेस्टुरेन्ट, सवारीसाधन, पदमार्ग, सम्पदा तथा पर्यटकीय पूर्वाधार, राफ्टिङ तथा क्याम्पिङ साइटलगायत क्षेत्रमा ठूलो क्षति पुर्याएको हो ।
अध्ययन समितिमा नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य सहदेव धमलाको संयोजकत्वमा निजी क्षेत्रका प्रतिनिधिसमेत सहभागी थिए । बाढीबाट भएको वास्तविक क्षतिको प्रारम्भिक विवरण संकलन गर्न समितिले स्थलगत अध्ययनसमेत गरेको जनाएको छ ।
प्रतिवेदनअनुसार भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रमा रहेका होटल व्यवसायमा मात्रै १९ अर्ब ५६ करोड रुपैयाँ बराबरको क्षति भएको छ । होटल व्यवसायी महासंघबाट प्राप्त तथ्यांकअनुसार बाढीका कारण उक्त क्षेत्रमा २०७ वटा होटल तथा रेस्टुरेन्ट क्षतिग्रस्त भएका छन् ।
होटलपछि रेस्टुरेन्ट र सवारीसाधनमा ठूलो क्षति
प्रतिवेदनअनुसार रेस्टुरेन्ट क्षेत्रमा मात्रै एक अर्ब ३८ करोड रुपैयाँ बराबरको क्षति भएको छ । त्यस्तै, पर्यटक ओसारपसार तथा पर्यटनसँग सम्बन्धित सवारीसाधनमा एक अर्ब ५१ करोड रुपैयाँ बराबरको नोक्सानी भएको प्रारम्भिक अनुमान छ ।
बाढीले पदमार्ग तथा ट्रेकिङ रुटमा समेत क्षति पुर्याएको छ । यस क्षेत्रमा पाँच करोड रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, सम्पदा तथा पर्यटकीय पूर्वाधारमा एक अर्ब १२ करोड रुपैयाँ र राफ्टिङ तथा क्याम्पिङ साइटमा १५ करोड ५० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ ।
हिमबाढीका कारण भौतिक संरचनामा मात्रै नभई पर्यटन व्यवसायबाट हुने आम्दानीमा समेत ठूलो असर परेको समितिको निष्कर्ष छ । बाढी प्रभावित होटल तथा रेस्टुरेन्टमा विदेशी पर्यटकबाट हुने आम्दानीतर्फ मात्रै १४ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ । त्यस्तै, लाङटाङ क्षेत्रको व्यावसायिक कारोबारमा एक अर्ब २७ करोड रुपैयाँ र आन्तरिक पर्यटन आयतर्फ १९ करोड ८७ लाख रुपैयाँ बराबरको असर परेको प्रतिवेदनले देखाएको छ ।
पर्यटन पुनरुत्थानको योजना बनाउनुपर्नेमा व्यवसायीको जोड
पर्यटन क्षेत्रका व्यवसायीले अब क्षतिको विवरण संकलनसँगै पुनरुत्थानको ठोस योजना बनाएर अघि बढ्नुपर्ने बताएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले बाढी प्रभावित क्षेत्र तथा सम्बन्धित समूहबाट तथ्यांक संकलन गरेर क्षतिको मूल्यांकन भइसकेपछि अब पर्यटन रिकभरीको योजना बनाउनुपर्ने बताउनुभयो । ‘अहिले तिब्बतको गेटवेमा असर परेको छ र त्यसको प्रभाव विस्तारै नेपालतर्फको ट्रेकिङ रुटमा पनि परेको छ,’ पाण्डेले भन्नुभयो, ‘रिकभरी गर्ने भनेको गतिविधि बढाएर अघि बढ्नु हो ।’
उहाँका अनुसार बाढीले प्रत्यक्ष क्षति पुर्याएका क्षेत्रमा पर्यटकीय पूर्वाधार पुनर्निर्माण गर्न समय लाग्ने भएकाले तत्कालका लागि वैकल्पिक गन्तव्य तथा रुट पहिचान गरेर पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।
भोटेकोशी हिमबाढीले भौतिक पूर्वाधारमा क्षति पुर्याउनुका साथै विदेशी पर्यटकसमेत प्रभावित भएकाले अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटनबारे नकारात्मक सन्देश गएको पर्यटन व्यवसायीहरूको भनाइ छ ।
‘अरूको भर परेर होइन, आफैँ उठ्नुपर्छ’
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष भरतजंग पाण्डेले विपद्को समयमा पर्यटन क्षेत्रलाई पुनः चलायमान बनाउन निजी क्षेत्रले आफ्नो ठाउँबाट सहयोग जुटाइरहेको बताउनुभयो । उहाँले संकटका बेला अरूको भर पर्नुभन्दा पर्यटन क्षेत्रसँग सम्बन्धित सबै व्यवसायी, संघसंस्था तथा सरोकारवाला मिलेर पुनरुत्थानमा जुट्नुपर्नेमा जोड दिनुभयो ।
भोटेकोशी तथा त्रिशूली करिडोर नेपालको महत्त्वपूर्ण पर्यटकीय क्षेत्र भएकाले बाढीबाट भएको क्षतिको पुनर्निर्माणसँगै प्रभावित क्षेत्रबाहिरका पर्यटकीय गन्तव्यलाई सुरक्षित र नियमित रूपमा सञ्चालनमा रहेको सन्देश प्रवाह गर्नुपर्ने व्यवसायीहरूको भनाइ छ ।







हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई