काठमाडौं । नेपाल दोस्रो पटक एसिया कप क्रिकेटमा छनोट भएको छ । एसिसी मेन्स प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनोट भएको हो । शनिबार मलेसियाको वायुमास ओभलमा भएको फाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (युएई)लाई ४४ रनले हराएको हो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको युएई ४९.१ ओभरमा २६९ रनमा अलआउट भयो । युएईका लागि राहुल चोपराले अविजित शतक बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । युएईका लागि तनिश सुरीले ४२ र कप्तान हरप्रित भाटियाले ३३ रन बनाउनुभयो । नेपालका लागि करण केसीले ३ विकेट लिनुभयो । ललित राजवंशीले २ तथा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट लिनुभयो ।
जितसँगै नेपालले भारत, पाकिस्तान, श्रीलंका जस्ता बलिया टेस्ट राष्ट्रसँग आगामी एसिया कप खेल्ने अवसर पनि पाएको छ । नेपाल आगामी एसिया कपमा छनोट हुने अन्तिम टोली बनेको हो । ६ टोलीको सहभागिता रहने एसिया कपमा आइसिसीको पूर्णकालीन सदस्यको हैसियतमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान यसअघि नै छनोट भइसकेका छन् । एसिया कपको आगामी संस्करण सन् २०२७ को जुन १८ देखि जुलाई ४ सम्म बंगलादेशमा आयोजना हुँदै छ । नेपाल दोस्रो पटक एकदिवसीय ढाँचाको एसिया कपमा छनोट भएको हो ।
यसअघि, नेपालले सन् २०२३ मा एसिया कप खेलेको थियो । सन् २०२३ मा घरेलु भूमिमा भएको प्रतियोगिताको फाइनलमा नेपालले युएईलाई नै ७ विकेटले पराजित गर्दै पहिलो पटक एसिया कप खेलेको थियो । जहाँ नेपालले भारत र पाकिस्तान जस्ता टोलीसँग खेलेको थियो । पाकिस्तान र श्रीलंकामा संयुक्त रूपमा आयोजित एसिया कपको त्यो संस्करण पनि एकदिवसीय ढाँचामै खेलाइएको थियो । त्यो संस्करणमा नेपाली टोली भारत र पाकिस्तानसँगै समूह ‘ए’मा परेको थियो र दुवै खेलमा पराजित भएको थियो । एसियाली क्रिकेट परिषद् (एसिसी)को आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले मात्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कपमा खेल्न पाउने प्रावधान रहेको छ ।
नेपालले समूह चरणमा खेलेका चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको थियो । यद्यपि, नेपाली टोली समूह ‘ए’को विजेताका रूपमा सेमिफाइनलमा पुगेको थियो । नेपालले आफ्नो पहिलो खेलमा बहराइनलाई सात विकेटले, दोस्रो खेलमा मलेसियालाई ६ विकेटले र तेस्रो खेलमा साउदी अरेबियालाई पाँच विकेटले हराएको थियो । समूह चरणको आफ्नो अन्तिम खेलमा भने नेपाली टोली हङकङसँग १५ रनको झिनो अन्तरले पराजित भएको थियो । युएईले अपराजित यात्राका साथ फाइनल खेलेको थियो ।
प्रिमियर कपअघि क्यानले हालै रोहित पौडेललाई एकदिवसीय टोलीको कप्तानीबाट हटाउँदै सन्दीप लामिछानेलाई जिम्मेवारी दिएको थियो । प्रिमियर कप सन्दीपका लागि नेतृत्व परीक्षण र नेपालका लागि नतिजा दुवै हिसाबले महत्त्वपूर्ण सावित भएको छ । यसअघि नेपालले पछिल्लो समय घरभन्दा बाहिर राम्रो प्रदर्शन गर्न सकिरहेको थिएन । लिग २ मा घरबाहिर नेपालले लगातार आठ खेल हारेको थियो ।
नेपाली ब्याटरको सुधारिएको प्रदर्शन
फाइनल खेलमा टस जितेर पहिले ब्याटिङको निर्णय लिएको नेपाली टोलीका ब्याट्सम्यानले अघिल्लो खेलको तुलनामा निकै सुधारिएको प्रदर्शन गरेका थिए । ओपनर ब्याट्सम्यान आसिफ शेखले उत्कृष्ट शतकीय पाली खेल्नुभयो । २५ वर्षीय विकेटकिपर ब्याट्सम्यान आसिफले जिम्मेवारीपूर्वक खेल्दै १०२ रन बनाउनुभयो । यसक्रममा उहाँले १०६ बलको सामना गरी चार छक्का र आठ चौका प्रहार गर्नुभयो । आसिफले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो दोस्रो शतक हो । यो ढाँचाको क्रिकेटमा उहाँले १५ वटा अर्धशतक पनि बनाउनुभएको छ । आसिफले अर्का ओपनर अर्जुन कुमालसँग ९७ रनको साझेदारी गर्नुभयो । अर्जुन भने सात रनका कारण अर्धशतक पूरा गर्नबाट चुक्नुभयो । उहाँ ६३ बलमा ६ चौकाको मद्दतले ४३ रन बनाउँदै पेभेलियन फर्किनुभयो ।
तेस्रो नम्बरमा क्रिज समाल्न आउनुभएका इशान पाण्डे भने लामो समय क्रिजमा टिक्न सक्नुभएन । उहाँ २० बलमा एक चौकाको मद्धतले १३ रन बनाउँदै आउट हुनुभयो । पूर्वकप्तान रोहित पौडेलले टोलीको खातामा ४० रन थप्नुभयो । यसक्रममा उहाँले ४४ बलको सामना गरी दुई चौका पनि हिर्काउनुभयो । गुल्शन झाले पनि उत्कृष्ट अर्धशतकीय पाली खेल्नुभयो । बायाँहाते ब्याट्सम्यान गुल्शनले ५२ रन बनाउनुभयो ।
गुल्शनले ३८ बलको सामना गरी चार छक्का र तीन चौका प्रहार गर्नुभयो । उहाँले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो छैटौँ अर्धशतक हो । दीपेन्द्रसिंह ऐरीले टोलीको खातामा १८ रन थप्नुभयो । उहाँले १८ बलको सामना गरी एक चौका प्रहार गर्नुभयो । सन्दीप जोरा पाँच बलमा एक चौकाको मद्धतले सात रन बनाउँदै आउट हुनुभयो । करण केसी एक रन बनाउँदै पेभेलियन फर्किउनुभयो । बसिर अहमदले केवल चार बलमा एक छक्का र दुई चौकाको मद्धतले अविजित १५ रन बनाउनुभयो । कप्तान सन्दीप लामिछाने पहिलो बलमै हुँदा ललित राजवंशी एक रनमा अविजित रहनुभयो । युएईका बलर इबरार अहमदले चार विकेट लिनुभयो ।
सन्दीप प्लेयर अफ द टुर्नामेन्ट, आसिफ प्लेयर अफ द म्याच
एसिसी प्रिमियर कपको फाइनलमा उत्कृष्ट शतक बनाउनुभएका आसिफ शेख प्लेयर अफ द म्याच बन्नुभएको छ । उहाँले नेपाललाई गतिलो सुरुवात दिँदै १०६ बलमा १०२ रन बनाउनुभएको थियो । यस्तै, प्रतियोगितामा सर्वाधिक विकेट लिनुभएका नेपालका कप्तान सन्दीप लामिछाने प्लेयर अफ द टुर्नामेन्ट बन्नुभयो । उहाँले प्रतियोगिताभरी १७ विकेट लिनुभएको थियो । फाइनलमा भने उहाँले एक विकेट मात्रै लिनुभयो ।
गुल्शनको हजार रन पूरा
नेपाली क्रिकेट टोलीका अलराउण्डर गुल्शनकुमार झाले एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा एक हजार रन पूरा गर्नुभएको छ । शनिबार एसिसी मेन्स प्रिमियर कपको फाइनलमा युएईविरुद्ध ५२ रन बनाएसँगै उहाँले एकदिवसीयमा एक हजार रन पूरा गर्नुभएको हो । युएईविरुद्ध गुल्शन पाँचौँ नम्बरमा ब्याटिङ गर्न आउनुभएको थियो । उहाँले ३८ बलमा ५२ रन बनाएपछि ४५.५ ओभरमा इब्रार अहमदको बलमा आउट हुनुभएको थियो । उहाँले ३ चौका र ४ छक्का प्रहार गर्नुभयो । गुल्शनले ५३ खेलमा ४५ इनिङ्स खेल्दै १० पटक अविजित रहँदा एक हजार १५ रन बनाउनुभएको हो । उहाँको उच्च स्कोर नटआउट ६७ रन हो । उहाँको नाममा एकदिवसीय अन्तर्राष्ट्रियमा ६ अर्धशतक छन् । गुल्शनले एक हजार १५ रन बनाउने क्रममा ६८ चौका र ५० छक्का प्रहार गर्नुभएको छ । गुल्शनको ब्याटिङ औसत २९.०० र स्ट्राइक रेट ८१.८५ रहेको छ । उहाँको एकदिवसीय अन्तर्राष्ट्रिय करिअरमा शतक भने छैन ।







१० खेलाडीमा सीमित सिटीको शानदार
नरमायाको जीवनमा पीडाको पुनरावृत्ति :
हरितालिका पर्व : पशुपति क्षेत्रमा
‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
एक सय ८४ हप्तादेखि निरन्तर
फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित