जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक रहेको बताउनुभएको छ ।
शनिबार जनकपुरमा अग्रगामी मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले संघीयता, स्वायत्तता र स्वशासनलाई बलियो बनाउँदै संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।
यादवले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिको क्षतिपूर्ति तथा जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा आवाज उठाउन सरकारसँग माग गर्नुभयो । औद्योगिक रूपमा शक्तिशाली राष्ट्रबाट हुने प्रदूषणका कारण नेपालजस्ता मुलुकले क्षति व्यहोर्नुपरेको उहाँको भनाइ थियो ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता र नागरिक स्वतन्त्रता विगतका आन्दोलन तथा संघर्षबाट प्राप्त उपलब्धि भएको उल्लेख गर्दै यादवले ती उपलब्धि उल्ट्याउन खोज्ने शक्तिहरू प्रतिगामी र परिवर्तनविरोधी भएको आरोप लगाउनुभयो ।
वर्तमान राजनीतिक तथा आर्थिक संकटका लागि नेकपा एमाले नेतृत्वको सरकारलाई जिम्मेवार ठहर गर्दै उहाँले सरकार भ्रष्टाचार, कमिसनतन्त्र र दलालतन्त्रमा फसेको आरोप लगाउनुभयो । युवा आन्दोलनमाथि दमन गर्न खोजिएकै कारण जनआक्रोश विस्फोट भएको उहाँको दाबी थियो ।
मधेस प्रदेशको वर्तमान संरचनाले वास्तविक स्वशासन सुनिश्चित नगरेको यादवले बताउनुभयो । “आफ्नो पुलिस, प्रशासन, न्याय, शासन र कानून नभएसम्म आफ्नो राज्य भएको अनुभूति हुँदैन,” उहाँले भन्नुभयो ।
मधेस प्रदेशलाई थप अधिकारसहितको स्वायत्त शासनको संरचनामा लैजान संविधान संशोधन आवश्यक रहेको उहाँले बताउनुभयो । जनसङ्ख्याका आधारमा प्रतिनिधित्व तथा राज्यका निकायमा पछाडि परेका, सीमान्तकृत र आर्थिक रूपमा विपन्न समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने उहाँको माग थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले समेत संविधान संशोधन र संघीयता सुदृढीकरणको कुरा गर्दै आएको स्मरण गर्दै यादवले अब त्यस विषयमा स्पष्ट रूपमा अघि बढ्नुपर्ने बताउनुभयो ।
संसद्बाट अपेक्षित अधिकार प्राप्त हुन नसके सडकबाट संघर्ष अघि बढाउनुपर्ने उहाँले बताउनुभयो । “सडकबाट अधिकार बनाइन्छ, सडकबाट इतिहास बनाइन्छ र सडकबाटै मुक्ति प्राप्त हुन्छ,” भन्दै यादवले अग्रगामी मोर्चालाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक