काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय रहँदा आज पनि अधिकांश भू–भागमा मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लाग्ने र विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ।
आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
यस्तै, देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। हिमाली क्षेत्रमा वर्षासँगै हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ।
तराई क्षेत्रमा पनि वर्षाको सम्भावना कायमै छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेश प्रदेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
राति पनि वर्षाको सम्भावना
आज राति पनि देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। कोशी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्नेछ।
त्यसैगरी, देशका पहाडी तथा तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
कास्की र लमजुङमा यसअघि नै भारी वर्षा
यसैबीच, पछिल्लो २४ घण्टामा कास्की र लमजुङमा भारी वर्षा भएको छ। महाशाखाका अनुसार कास्कीको लुम्लेमा २४ घण्टामा १२५.४ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, लमजुङको फलेनीमा १०९.२ मिलिमिटर वर्षा भएको छ।
धादिङ र गोरखाको सीमा क्षेत्रमा पर्ने आरुघाटमा पनि पछिल्लो २४ घण्टामा ८७.८ मिलिमिटर वर्षा मापन भएको महाशाखाले जनाएको छ।
मौसमविद्का अनुसार २४ घण्टामा १० देखि ५० मिलिमिटरसम्म वर्षा हुँदा मध्यम, ५० देखि १०० मिलिमिटरसम्म भारी, १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा हुँदा अति भारी वर्षा मानिन्छ।
यस हिसाबले लुम्ले र फलेनीमा भएको वर्षा धेरै भारी वर्षाको श्रेणीमा परेको छ भने आरुघाटको वर्षा भारी वर्षाको श्रेणीमा पर्छ।






राप्रपा महामन्त्री शरदराज पाठकले छाडे
रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सुगतिका
परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री
न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः
जलवायु अनुसन्धानमा नीतिगत झमेला र
मदन पुरस्कार वीणा राजभण्डारी र