काठमाडाैं । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरी र सडक विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न सडकमा यातायात प्रभावित भएको छ ।
कोशी प्रदेशअन्तर्गत पाँचथरको फालेलुङ गाउँपालिका–४ आसपास फिदिम–फालेलुङ सडकखण्ड पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ ।
बागमती प्रदेशमा सबैभन्दा बढी सडकखण्ड प्रभावित भएका छन् । काभ्रेको बीपी राजमार्गअन्तर्गत कुर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालनमा समयगत प्रतिबन्ध लगाइएको छ । उक्त सडकखण्डमा १० टनसम्मका मालवाहक सवारी रातिको समयमा सञ्चालन गर्न दिइने तथा मिनी र साना सार्वजनिक यात्रुवाहक सवारीलाई तोकिएको समयमा सञ्चालन गर्न दिने व्यवस्था गरिएको छ ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध भएको छ । नुवाकोटका विभिन्न स्थानमा समेत बाढी तथा पहिरोका कारण सडक अवरुद्ध भएका छन्। मुख्य राजमार्ग तथा पासाङल्हामु सडकखण्डमा पनि यातायात प्रभावित भएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका क्षेत्रमा टोखा–छहरे सडकखण्डमा पहिरोको जोखिमका कारण राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ ।
धादिङमा पृथ्वी राजमार्गका विभिन्न खण्ड पनि पहिरोका कारण प्रभावित भएका छन् । बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ । सोही गाउँपालिकाका अन्य स्थानमा पहिरोका कारण सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइनखोला क्षेत्रमा सडक मर्मत भइरहेकाले सवारीको चापअनुसार एकतर्फी रूपमा यातायात सञ्चालन भइरहेको छ ।
त्यस्तै, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा अरनिको राजमार्ग पहिरोका कारण पूर्णरूपमा अवरुद्ध भएको छ ।
गण्डकी प्रदेशअन्तर्गत मनाङको नासों गाउँपालिका–३ धारापानीमा चामे–बेँसीसहर सडकखण्डमा निर्माण कार्यका कारण यातायात प्रभावित भएको छ । सडक विभागका अनुसार उक्त खण्डमा साना सवारीसाधन सञ्चालन बन्द रहनेछन् भने ठूला सवारीका लागि समेत तोकिएको समयअनुसार सडक बन्द रहने व्यवस्था गरिएको छ ।
लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढिरहेकाले सडक यात्रा गर्दा आवश्यक सावधानी अपनाउन तथा सम्बन्धित निकायबाट जारी सूचना हेरेर मात्र यात्रा गर्न आग्रह गरिएको छ ।







जलवायु अनुसन्धानमा नीतिगत झमेला र
मदन पुरस्कार वीणा राजभण्डारी र
संविधान कार्यान्वयन नै नगरी संशोधनको
भूकम्पले रोकिएको हनुमानढोकाको नित्य प्रवचन
गृहमन्त्री गुरुङद्वारा जेन–जी शहीद स्मारक
दिक्तेल बजारको बेसक्याम्पमा द्वन्द्वकालीन विस्फोटक