धादिङ । भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले धादिङको गजुरी गाउँपालिका-५ गलौदीका बाढीपीडितहरु जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य छन् । बाढीले घरबारविहीन भएपछी अहिले त्यहाँका बाढीपीडितहरु जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य भएका हुन् ।
भदौ १० गते आएको बाढीले गलौदीका अधिकांश घर डुबानमा परेपछि गलौदीमाथिको वन सवडिभिजन क्षेत्रको जंगलमा त्रिपाल र टेन्ट टाँगेर अस्थायी होल्डिङ सेन्टर बनाइएको हो । होल्डिङ सेन्टरमा अहिले ४२ परिवारका कम्तीमा २ सय जना बसिरहेका छन् । गलौदीका ७४ घर बस्न नसक्ने अवस्थामा पुगेका छन् ।
होल्डिङ सेन्टरमा ४ जना अपांगता भएका व्यक्ति, कम्तीमा ३० जना बालबालिका र ७० वर्षभन्दा माथिका २ जना ज्येष्ठ नागरिक महिला छन् । जंगलमा बस्नुपर्दा उनीहरूलाई थप कठिनाइ भइरहेको छ । रात परेपछि होल्डिङ सेन्टर अँध्यारो हुन्छ । विजुलीको पर्याप्त व्यवस्था नहुँदा बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई रातको समयमा हिँड्डुल गर्नसमेत समस्या भएको छ ।
बाढीले घरसँगै घरभित्र रहेका अन्न, लत्ताकपडा, भाँडाकुँडा र दैनिक प्रयोगका सामानसमेत बगाएको छ । कतिपय परिवारसँग लगाउने कपडासमेत छैन । अन्न र भाँडाकुँडा नभएपछि प्रभावितहरू सामूहिक रूपमा खाना बनाएर खाने गरेका छन् । गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले होल्डिङ सेन्टरमा रहेका प्रभावितका समस्या समाधानका लागि आवश्यक सामग्रीको व्यवस्था गर्न लागिएको बताउनु भयो ।
बाढीपहिरोका कारण सडक तथा राजमार्गसँगको सम्पर्क टुटेपछि सिद्धलेक गाउँपालिका-७ का बासिन्दाले आफूहरू राज्यका सेवा र सुविधाबाट टाढिएको महसुस गर्न थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय धादिङको विवरणअनुसार बाढीपहिरोका कारण जिल्लामा ६ वटा पक्की पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने एकवटा पक्की पुलमा सामान्य क्षति पुगेको छ । त्यस्तै जिल्लाका १७ वटा झोलुंगे पुलमा पूर्ण क्षति पुगेको छ भने ७ वटा झोलुंगे पुलमा आंशिक क्षति भएको छ । यसरी जिल्लामा कुल २४ वटा झोलुंगे पुल प्रभावित भएका छन् । बाढीका कारण जिल्लाका ५२९ घरपरिवार प्रभावित भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।







हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई