काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहतमा सक्रिय वाईसीएल नेपालले बाढीपीडितका लागि अस्थायी आवास निर्माण थालेको छ ।
रसुवा, धादिङ र नुवाकोटका प्रभावित क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीको युवा संगठन वाईसीएलका करिब ६ सय स्वयंसेवक परिचालन भएका छन् । उद्धार तथा राहतसँगै अस्थायी आवास निर्माणको काम अघि बढाइएको वाईसीएल बागमती प्रदेश अध्यक्ष नरेश रञ्जितले बताउनुभयो ।
रञ्जितका अनुसार पहिलो चरणमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित ठूलाखोला, लामोस्वती, रातमाटे र महादेवफाँटका प्रभावित परिवारका लागि १ सय ५० वटा अस्थायी आवास निर्माण गरिनेछ ।
बाढीका कारण क्षतिग्रस्त घरहरू अझै सरसफाइ गर्न नसकिएको अवस्थामा प्रभावित परिवारलाई तत्काल बसोबासको अस्थायी व्यवस्था गर्न वाईसीएल निर्माणमा जुटेको उहाँले बताउनुभयो ।
वाईसीएलका केन्द्रीय अध्यक्ष पुष्प ओलीले स्थानीयको इच्छा र आवश्यकताअनुसार अस्थायी आवास निर्माणको काम अघि बढाइएको बताउनुभयो । उहाँका अनुसार पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राहतसँगै पुनःस्थापनामा लाग्न निर्देशन दिनुभएको छ ।
“भूकम्पपछि अस्थायी आवास निर्माण गरेको अनुभवले पनि अहिले काम गर्न सहज भएको छ,” अध्यक्ष ओलीले भन्नुभयो । वाईसीएलले बाढी प्रभावित क्षेत्रमा राहत वितरण र सरसफाइको कामलाई समेत निरन्तरता दिएको जनाएको छ । संगठनका अनुसार रसुवाका प्रभावित क्षेत्रमा वैकल्पिक सडक हुँदै खाद्यान्न, औषधि, ग्यास, पेट्रोल, सोलार लाइट, पावर बैंक, मोबाइल सेट, सेनिटरी प्याड, म्याट्रेसलगायत अत्यावश्यक सामग्री वितरण गरिएको छ ।
नुवाकोटतर्फ त्रिशूलीपारि सडक सञ्जाल विच्छेद भएपछि धादिङको कठिन भूगोल हुँदै विदुर नगरपालिका–७, ८ र ९ का प्रभावित क्षेत्रमा समेत राहत सामग्री पुर्याइएको वाईसीएल स्वयंसेवक राजु कुटुले बताउनुभयो । प्रभावित क्षेत्रमा वाईसीएलका स्वयंसेवकले दर्जनौँ घर तथा विद्यालय सरसफाइसमेत गरेको कुटुले जानकारी दिनुभयो ।







बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी
ब्रिक्समा नेपाल नबोलाइनुको कारण भारत