काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडस्थित नेपाल वायुसेवा निगम (एनएसी)को भवनलाई बहुमञ्जिला पार्किङमा परिणत गर्न सङ्घीय सरकारसँग अनुमति मागेको छ।
काठमाडौँमा बढ्दै गएको पार्किङ समस्या समाधान गर्न सीमित स्थानको अधिकतम सदुपयोग गर्ने उद्देश्यले एनएसी भवनमा बहुमञ्जिला पार्किङ निर्माणको प्रस्ताव अघि बढाइएको महानगरपालिकाले जनाएको छ।
काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आइतबार काठमाडौँ महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवका अवसरमा बोल्दै एनएसी भवनलाई बहुमञ्जिला पार्किङका रूपमा विकास गर्न अनुमति दिन सङ्घीय सरकारसँग विशेष अनुरोध गरिएको बताउनुभयो।
उहाँका अनुसार एनएसी भवनमा बहुमञ्जिला पार्किङ निर्माण हुन सकेमा विशेषगरी काठमाडौँको कोर क्षेत्रमा देखिएको पार्किङ समस्या समाधान गर्न महत्वपूर्ण सहयोग पुग्ने महानगरको विश्वास छ।
“पार्किङको समस्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। यसको व्यवस्थापन गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन,” उहाँले भन्नुभयो, “हाम्रो क्षेत्रफल सीमित भएकाले उपलब्ध ठाउँको सही सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नु आजको आवश्यकता हो। यसै सन्दर्भमा काठमाडौँ महानगरपालिकाले न्युरोडस्थित एनएसीको भवनलाई बहुस्तरीय पार्किङका रूपमा विकास गर्न अनुमति दिन सङ्घीय सरकारसँग विशेष अनुरोध गरेको छ।”
महानगरपालिकाले काठमाडौँभरको पार्किङ समस्या र त्यसको व्यवस्थापनका विषयमा समेत अध्ययन गरिरहेको उहाँले जानकारी दिनुभयो। विज्ञमार्फत भइरहेको अध्ययनको प्रतिवेदन केही समयभित्र प्राप्त हुने र त्यसमा दिइएका सुझावका आधारमा पार्किङ व्यवस्थापनको योजना अघि बढाइने उहाँले बताउनुभयो।
“एनएसीमा बहुमञ्जिला पार्किङ निर्माण हुन सकेमा विशेषगरी कोर क्षेत्रको पार्किङ समस्या समाधान गर्न महत्वपूर्ण योगदान पुग्ने हाम्रो विश्वास छ,” उहाँले भन्नुभयो, “त्यसैगरी, काठमाडौँभरि पार्किङ व्यवस्थापनका विषयमा अध्ययन भइरहेको छ। केही समयमै विज्ञबाट तयार हुने अध्ययन प्रतिवेदन प्राप्त हुनेछ। प्रतिवेदनले दिएका सुझावका आधारमा पार्किङ व्यवस्थापनलाई अझ व्यवस्थित र प्रणालीगत बनाउँदै समस्या समाधानतर्फ महानगरपालिका अघि बढ्नेछ।”
डंगोलले काठमाडौँको क्षेत्रफल सीमित रहेकाले नयाँ ठाउँ थप्नेभन्दा उपलब्ध स्थानको उचित सदुपयोग गरेर पार्किङ व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो।
बढ्दो पार्किङ समस्या समाधानका लागि महानगरपालिकाले अब थप व्यवस्थित र प्रणालीगत ढङ्गले काम गर्ने उहाँको भनाइ छ।







हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई