धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ स्थित शीतलबजार सडकखण्डमा नेपाली सेनाले ‘ब्लास्टिङ’ गरेर बाटो खोल्ने काम अघि बढाएको छ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीले कटान गर्दा सडक भासिएको थियो। भासिएको सडकखण्डमा तत्काल पर्खाल निर्माण गरेर यातायात सञ्चालन गर्न सम्भव नभएपछि नेपाली सेनाले चट्टान हटाएर नयाँ ट्र्याक निर्माण गर्ने काम अघि बढाएको हो।
सडक विभागको अनुरोधपछि नेपाली सेनाको मध्य पृतनाअन्तर्गत कालीप्रसाद गणको इन्जिनियरिङ टोली परिचालन गरिएको छ। सडकको क्षतिग्रस्त भाग हटाई नयाँ ट्र्याक निर्माण गरेर यातायात सञ्चालनमा ल्याउने उद्देश्यले सेनाको प्राविधिक टोलीले काम गरिरहेको जनाइएको छ।
सडक विभागका मेसिनरी उपकरणबाट कडा चट्टान हटाउन लामो समय लाग्ने भएपछि नेपाली सेनाको विकास निर्माण कार्यदल र कालीप्रसाद गण (इन्जिनियरिङ) का दक्ष प्राविधिकको समन्वयमा ‘ब्लास्टिङ’ गरिएको हो।
ब्लास्टिङ गरिएका तीनमध्ये सबैभन्दा ठूलो चट्टानको लम्बाइ करिब १५ मिटर र उचाइ १४ मिटर रहेको छ। अन्य दुई चट्टानको लम्बाइ क्रमशः करिब १० र १०.५ मिटर तथा उचाइ सात र ६.५ मिटर रहेको बताइएको छ।
बाढीका कारण धादिङको शीतलबजारसँगै कृष्णभीर, परेवाभीरलगायत क्षेत्रमा सडक भासिँदा काठमाडौँ–चितवन तथा काठमाडौँ–पोखरा आवागमनसमेत प्रभावित भएको छ।
पृथ्वी राजमार्गले सङ्घीय राजधानी काठमाडौँलाई देशका विभिन्न जिल्ला तथा प्रमुख व्यापारिक केन्द्रसँग जोड्ने महत्वपूर्ण सडकका रूपमा काम गर्दै आएको छ। राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन लामो समयसम्म बाटोमै रोकिने, दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित हुने र वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
सडक सञ्चालनमा ल्याउन क्षतिग्रस्त क्षेत्रमा चट्टान हटाउने तथा नयाँ ट्र्याक निर्माणको कामलाई तीव्रता दिइएको जनाइएको छ।







हुप्सेकोटको घाँगी भीरमा निरन्तर धुँवाको
त्रिभुवनराजपथ भासिएपछि एकतर्फी यातायात सञ्चालन
नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई