काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार छापा सञ्चारमाध्यमलाई कमजोर बनाउने गरी प्रस्तुत भएको आरोप लगाउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ, उपत्यका प्रदेश कमिटीको तर्फबाट गठित छापा सञ्चारमाध्यम बचाउ सुझाव कार्यदलका प्रतिनिधिले आज एमाले केन्द्रीय कार्यालय, च्यासलमा अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाएका थिए । सो क्रममा कार्यदलले छापा सञ्चारमाध्यमले भोगिरहेका आर्थिक तथा नीतिगत समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।
कार्यदलले आर्थिक अवस्था कमजोर बन्दै गएको अवस्थामा लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने रकम कटौती गर्दा छापा सञ्चारमाध्यमको नियमित प्रकाशन तथा पत्रकारको रोजगारीमा प्रत्यक्ष असर पर्ने बताएको थियो । त्यसैले राज्यबाट उपलब्ध हुँदै आएको लोककल्याणकारी विज्ञापनलाई निरन्तरता दिन तथा यसको रकम कटौती नगर्न सरकारसँग आग्रह गरिएको थियो ।
कार्यदलका संयोजक दामोदर दवाडीसहितका प्रतिनिधिले छापा सञ्चारमाध्यमको वर्तमान अवस्था, आर्थिक सङ्कट तथा सञ्चार क्षेत्रको दिगोपनाका लागि आवश्यक नीतिगत व्यवस्थाबारे अध्यक्ष ओलीसँग छलफल गर्नुभएको थियो ।
ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष ओलीले सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै आफूलाई वर्तमान सरकार ‘छापा-मार’ जस्तो लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “मैले देख्दा त अहिलेको सरकार ‘छापा-मार’ सरकार जस्तो देखिन्छ । ‘छापामार’ एकै ठाउँमा होइन–छापा, मार् सरकार । त्यसो भएपछि सञ्चारमाध्यमलाई अप्ठ्यारो त हुने नै भयो ।”
अध्यक्ष ओलीले आफूहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र लोककल्याणकारी विज्ञापनको पक्षमा रहेको स्पष्ट पार्नुभयो । उहाँले सञ्चारमाध्यमको संरक्षण र प्रवर्द्धनका विषयमा आफूहरू सकारात्मक रहेको बताउनुभएको थियो ।







नयाँ कोष थप्ने होइन, एकीकृत
बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक
मकवानपुरमा ट्राफिक कारबाही बढ्दा पनि
संक्रामक पशु रोगबाट प्रभावित किसानलाई
त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईँ समर्थक
त्रिभुवन राजपथको सडक भासियो, एकतर्फी