न्युयोर्क । काजाकिस्तानकी एलेना रायबाकिनाले दुईपटककी डिफेन्डिङ च्याम्पियन आर्यना सबालेन्कालाई पराजित गर्दै पहिलोपटक युएस ओपन टेनिसको महिला एकल उपाधि जित्नुभएको छ । शनिबार भएको फाइनलमा रायबाकिनाले बेलारुसकी सबालेन्कालाई ६-४, ५-७, ६-२ को सेटमा पराजित गर्नुभएको हो । योसँगै रायबाकिना करिअरको तेस्रो ग्राण्डस्लाम उपाधि जित्न सफल हुनुभएको छ । यसअघि उहाँले सन् २०२२ मा विम्बल्डन तथा यसै वर्षको सुरुवातमा अस्ट्रेलियन ओपनको उपाधि जित्नुभएको थियो ।
फाइनलअघि नै रायबाकिना नयाँ विश्व नम्बर एक बन्ने निश्चित भइसकेको थियो । त्यसैले खेलको नतिजाले उहाँको शीर्ष वरीयतामा कुनै असर पार्ने थिएन । अर्कोतर्फ, लगातार तेस्रोपटक युएस ओपन उपाधि जित्दै शीर्ष वरीयता गुमाउनुको पीडा कम गर्ने लक्ष्यमा रहनुभएकी सबालेन्का भने निर्णायक खेलमा चुक्नुभयो ।
फ्लसिङ मेडोजमा भएको फाइनलमा रायबाकिनाको शान्त र संयमित खेल निर्णायक बन्यो । सबालेन्का आक्रामक शैलीमा प्रस्तुत भए पनि रायबाकिनाले धैर्यपूर्वक खेल्दै विपक्षीलाई दबाबमा राख्नुभयो ।
पहिलो सेटमा आफ्नो प्रमुख हतियारका रूपमा रहेको पहिलो सर्भिसले अपेक्षाअनुसार साथ नदिए पनि रायबाकिनाले उत्कृष्ट रिटर्नमार्फत् सबालेन्कालाई निरन्तर समस्यामा पार्नुभयो र ६-४ ले सेट आफ्नो पक्षमा पार्नुभयो ।
दोस्रो सेटमा भने रायबाकिनाको प्रदर्शन केही कमजोर भयो । त्यसको फाइदा उठाउँदै सबालेन्काले खेलमा पुनरागमन गर्नुभयो । १२औँ गेममा रायबाकिनाको दोस्रो सर्भिसमा दबाब सिर्जना गर्दै सबालेन्काले तेस्रो सेटमा खेल पुर्याउनुभयो । तर, निर्णायक सेटमा सबालेन्काका कमजोर सट र बढ्दो निराशाले उहाँलाई पुनः समस्यामा पार्यो । रायबाकिनाले गहिरा रिटर्नमार्फत् सबालेन्कालाई बेसलाइनमै सीमित राख्नुभयो र दुई-एकको अग्रता बनाउँदै सर्भिस ब्रेक गर्नुभयो ।
उपाधि जित्ने पहिलो च्याम्पियनसिप प्वाइन्टमा डबल फल्ट गरे पनि रायबाकिनाले तत्काल सम्हाल्नुभयो । त्यसपछि सानदार एस प्रहार गर्दै उहाँले खेल आफ्नो पक्षमा पार्नुभयो र नयाँ विश्व नम्बर एकका रूपमा ग्राण्डस्लाम उपाधिसमेत आफ्नो नाममा लेखाउनुभयो । यो जित रायबाकिनाका लागि युएस ओपनमा पहिलो उपाधि हो । एजेन्सी






राप्रपा महामन्त्री शरदराज पाठकले छाडे
रसुवा बाढीमा ज्यान गुमाएकाहरूको सुगतिका
परराष्ट्रमन्त्री खनाल र कोरियाली विदेशमन्त्री
न्यायाधीश नियुक्तिको अधिकार प्रधानन्यायाधीशलाई दिनुपर्छः
जलवायु अनुसन्धानमा नीतिगत झमेला र
मदन पुरस्कार वीणा राजभण्डारी र