काठमाडौं । नेपाली फाइट खेलाडी युगीन शर्माले श्रीलंकाको कोलम्बोमा आयोजित ‘कर्मा फाइट लिग-९’ मा भारतकी खुसी सिंहलाई पराजित गर्दै अन्तर्राष्ट्रिय फाइटमा नेपाललाई जित दिलाउनुभएको छ । नेपाल र भारतबीच भएको प्रतिस्पर्धामा युगीनले उत्कृष्ट प्रदर्शन गर्दै खुसीमाथि जित हात पार्नुभएको हो । उहाँले आत्मविश्वास, साहस र दृढताका साथ प्रतिस्पर्धा गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाली खेलाडीको क्षमता प्रस्तुत गर्नुभयो ।
विदेशी भूमिमा नेपालका लागि प्रतिस्पर्धा गर्दै हासिल गरेको युगीनको यो सफलतालाई नेपाली खेलकुदका लागि महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ । उहाँको जितसँगै अन्तर्राष्ट्रिय फाइटको मञ्चमा नेपालको उपस्थिति थप बलियो बनेको छ ।
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीले सफलता हासिल गरिरहेका बेला युगीनको यो जितले नेपाली खेलप्रेमीमा थप उत्साह जगाएको छ । कोलम्बोमा भारतकी खेलाडीलाई पराजित गर्दै नेपालका लागि सफलता हासिल गरेपछि युगीनलाई नेपाली खेलप्रेमी तथा शुभेच्छुकहरूले बधाई तथा आगामी प्रतिस्पर्धाका लागि शुभकामना दिएका छन् ।
रेज फाइट टिमबाट प्रतिनिधित्व गर्दै रिङमा उत्रिएकी युगीनले के-१ किकबक्सिङ नियमअनुसार खेलाइएको भिडन्तमा तीनै राउण्डमा उत्कृष्ट प्रदर्शन गर्दै अंकका आधारमा जित दर्ता गर्नुभएको थियो । जितपछि उत्साहित युगीनले अब आफ्नो लक्ष्य कर्मा फाइट लिगको च्याम्पियनसिप बेल्ट रहेको बताउनुभयो । ‘अब मलाई च्याम्पियनसिप बेल्ट चाहियो । म जस्तोसुकै चुनौतीका लागि तयार छु,’ उहाँले भन्नुभयो ।
मिक्स मार्सल आर्ट्स, किकबक्सिङ र बक्सिङमा प्रशिक्षण लिनुभएकी युगीनले १७ वर्षको उमेरदेखि व्यावसायिक प्रशिक्षण सुरु गर्नुभएको हो । नियमित अभ्यास, अनुशासन र कडा परिश्रमका कारण उहाँले छोटो समयमै दक्षिण एसियाली फाइट स्पोर्ट्समा आफूलाई सशक्त दाबेदारका रूपमा स्थापित गर्नुभएको छ ।
युगीनको यो जित नेपाली महिला फाइटरका लागि पनि महत्त्वपूर्ण उपलब्धि बनेको छ । कम्ब्याट स्पोर्ट्सजस्तो चुनौतीपूर्ण विधामा अन्तर्राष्ट्रियस्तरमा नेपाली महिलाले पनि सफलता हासिल गर्न सक्छन् भन्ने उदाहरण उहाँले प्रस्तुत गर्नुभएको छ । अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै जित हासिल गर्न पाउनु गर्वको क्षण भएको युगीनले बताउनुभयो । उहाँले यो जित आफ्ना प्रशिक्षक, रेज फाइट टिम र सम्पूर्ण नेपालीको भएको बताउँदै खेलकुदमा आउन चाहने नेपाली युवतीलाई अघि बढ्न आग्रह गर्नुभयो ।







भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु
बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद
तीजको दिन घट्यो सुनचाँदीको मूल्य,
कृष्णभीर असोज १ देखि दुईतर्फी
प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका
बाढीपछि त्रिशूलीका सहायक खोलामा बालुवा