काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतको कृषि क्षेत्रमा पनि गम्भीर क्षति पुर्याएको छ । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का अनुसार बाढीले करिब एक हजार आठ सय हेक्टर कृषियोग्य जमिन नष्ट गरेको छ भने हजारौँ पशुपन्छी मरेका छन् । एफएओकी उपमहानिर्देशक बेथ बेचडोलले बाढीले किसान र पशुपालकमा पारेको प्रभाव, तत्काल आवश्यक कृषि सहायता र आगामी खेतीको यामअघि नै उत्पादन पुनर्स्थापना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
एफएओका अनुसार बाढीले करिब एक हजार आठ सय हेक्टर कृषियोग्य जमिन नष्ट गरेको छ भने हजारौँ पशुपन्छी मरेका छन् ।
एफएओको प्रारम्भिक मूल्यांकनअनुसार कृषियोग्य जमिन, माछापोखरी, खाद्य भण्डार तथा कृषि पूर्वाधारमा पुगेको क्षतिले प्रभावित क्षेत्रका किसान परिवारको खाद्य सुरक्षा र आम्दानीमा दीर्घकालीन असर पर्ने देखिएको छ । बाढीपछि नेपाल सरकारले गरिरहेको राहत तथा उद्धार कार्यमा सहयोग गर्दै एफएओले आपत्कालीन पशु स्वास्थ्य सेवा सञ्चालन तथा कृषि र ग्रामीण जीविकोपार्जनमा परेको क्षतिको मूल्यांकनलगायतका कार्य अघि बढाइरहेको छ ।
बाढीले घर र भौतिक संरचनामात्र नष्ट नगरी धेरै परिवारको खाद्य उत्पादन र आम्दानीको मुख्य स्रोतसमेत समाप्त गरिदिएको एफएओले जनाएको छ । खेतहरू माटो र गेग्रानले पुरिएका छन्, माछापोखरी बगेका छन् । सडक, पुल तथा बजारमा क्षति पुगेका कारण खाद्यान्न, पशु आहारा, दूध तथा कृषि सामग्रीको आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ । करिब एक हजार आठ सय हेक्टर खेतीयोग्य जमिनमा क्षति पुगेकाले झण्डै सात हजार सात सय मेट्रिक टन कृषि उत्पादन गुम्ने अनुमान गरिएको छ ।
एफएओका अनुसार प्रभावित क्षेत्र नेपालका महत्त्वपूर्ण पशुपालन केन्द्रमध्ये एक हो । प्रभावित ११ पालिकामा बाढीअघि करिब तीन लाख ५० हजार गाईभैँसी, भेडा र बाख्रा तथा १६ लाखभन्दा बढी कुखुरा थिए । समग्र पशुधन र कुखुराको संख्यामा पाँचदेखि १० प्रतिशतसम्म पूर्णरूपमा क्षति भएको हुन सक्ने अनुमान गरिएको छ । एफएओले नेपाल सरकारसँग मिलेर बाली, पशुधन, मत्स्य क्षेत्र, कृषियोग्य जमिन तथा कृषि पूर्वाधारमा पुगेको वास्तविक क्षतिको विस्तृत अध्ययन गरिरहेको जनाएको छ ।







उखु बेचेको छ महिना बित्दा
अमेरिकी सेनाद्वारा थप पाँच इरानी
हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न
नेपालले अन्तर्राष्ट्रिय मञ्चमा सशक्त आवाज
रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या
जेनजी आन्दोलनका सहिदको अनुहारसँग सालिक