काठमाडौं । आशुतोष इनर्जी लिमिटेडले सेयरधनीलाई नौ करोड नौ लाख ४७ हजार ४० रुपैयाँ नगद लाभांश दिने भएको छ । कम्पनीको काठमाडौंमा सम्पन्न नवौं वार्षिक साधारणसभाले चुक्ता पुँजी ४८ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट करसहित १८.९४७३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
आशुतोष इनर्जीले लमजुङको दूधपोखरी गाउँपालिका-१ र २ स्थित चेपे खोलामा ५.८३ मेगावाटको चेपे खोला साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । आयोजनाबाट आर्थिक वर्ष २०८२/८३ मा चार करोड ४३ लाख २९ हजार चार सय तीन युनिट विद्युत् उत्पादन भएको कम्पनीले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणसँगको विद्युत् खरिद सम्झौतामा उल्लेखित वार्षिक कुल ऊर्जाको ८५.९५ प्रतिशत हो । कम्पनीका अनुसार आयोजनाले पूर्ण क्षमतामा उत्पादन गर्न नसक्नुमा वैकल्पिक विद्युत् प्रसारणको असुविधा मुख्य कारण रहेको उल्लेख गर्दै आगामी दिनमा पिपिएमा उल्लेखित वार्षिक ऊर्जाको शतप्रतिशत विद्युत् उत्पादन गर्ने गरी स्रोत-साधनको उचित व्यवस्थापन तथा परिचालन गर्ने योजना बनाइएको छ । साथै कम्पनीले दुई मेगावाट चेपे खोला क्यास्केड जलविद्युत् आयोजना निर्धारित समयमै निर्माण सम्पन्न गर्ने योजना पनि अघि सारेको छ ।
कीर्तिपुर-उदीपुर-मार्कीचोक-भरतपुर २२० केभी प्रसारण लाइन समयमा निर्माण हुन नसक्दा आशुतोष इनर्जीले पछिल्ला चार आर्थिक वर्षमा करिब २५ करोड रुपैयाँ बराबरको नोक्सानी बेहोर्नुपरेको जनाएको छ । कम्पनीका अध्यक्ष मोहनविक्रम कार्कीले नवौं वार्षिक साधारणसभामा उक्त जानकारी दिनुभएको हो । साथै कम्पनीले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको जनाएको छ ।







आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा
भोटेकोशी बाढी : चिन्तित छन्
प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै
उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट
आज ऋषिपञ्चमी : ऋषेश्वर मन्दिरमा
बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल