काठमाडौं । एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले चार सय केभी न्यु बुटवल सबस्टेसन नेपाल-भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण सम्पन्न गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट भएको अनुरोधबमोजिम एमसिए-नेपालले विद्युत् प्रसारण लाइनको यस १८ किलोमिटर खण्डको निर्माण कार्यलाई तीव्रता दिएकाले निर्धारित समयसीमाभित्रै निर्माण कार्य सम्पन्न भएको बताइएको छ । प्रसारण लाइन निर्माण सम्पन्न भएको अवसरमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लास्थित न्यु बुटवल सबस्टेसनमा आइतबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव तथा एमसिए-नेपालको सञ्चालक समिति अध्यक्ष डा. घनश्याम उपाध्यायले उक्त जानकारी दिनुभएको हो ।
एमसिसी नेपाल कम्प्याक्टअन्तर्गत एमसिए-नेपालले चार सय केभी न्यु बुटवल सबस्टेसन नेपाल-भारत सीमासँग जोड्ने सीमापार प्रसारण लाइनको १८ किलोमिटर खण्डको निर्माण सम्पन्न गरेको हो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेलले निर्माण सम्पन्नताबाट नेपालले आफ्नो विद्युतीय पूर्वाधार सुदृढ गर्न र सीमापार विद्युत् सम्पर्क विस्तार गर्न हासिल गरिरहेको प्रगति प्रतिबिम्बित भएको बताउनुभयो । नेपालले आफ्नो विद्युत् उत्पादन तथा प्रसारण क्षमतालाई निरन्तर सशक्त बनाउँदै लगेको र सीमापार विद्युत् सम्पर्क उक्त प्रयासको एक अभिन्न अंग भएको उहाँको भनाइ थियो ।
पौडेलका अनुसार उक्त प्रसारण लाइनको नेपालतर्फको खण्ड सम्पन्न भएबाट सरकार, कार्यान्वयन गर्ने निकायहरू, विकास साझेदारहरू र स्थानीय समुदायबीचको बलियो समन्वयबाट के-कस्ता उपलब्धि हासिल गर्न सकिन्छ भन्ने स्पष्ट पारेको छ । नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले उक्त उपलब्धिका लागि एमसिए-नेपाललाई बधाई दिँदै उक्त प्रसारण लाइन निर्माण नेपालको ऊर्जा क्षेत्रका लागि एक महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । नेपाल सरकारको अनुरोध सम्बोधन गर्दै समयसीमाभित्रै निर्माण कार्य पूरा गर्न एमसिए-नेपालले गरेको प्रयासको सराहनीय रहेको उहाँको भनाइ थियो ।
एमसिए-नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले उक्त उपलब्धिले नेपाल सरकारका प्राथमिकताहरू पूरा गर्ने सन्दर्भमा एमसिए–नेपालको प्रतिबद्धता उजागर गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सीमापार प्रसारण लाइनको १८ किलोमिटर लामो यस महत्त्वपूर्ण खण्डको निर्माण कार्य सम्पन्न गर्न सफल भएकोमा हामीलाई गर्व लागेको छ । नेपाल सरकारले यस निर्माण कार्यलाई तीव्रता दिन गरेको आग्रहअनुसार एमसिए–नेपालले छोटो समयसीमाभित्रै निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोतसाधन, निर्माण व्यवसायी तथा साझेदारलाई एकीकृत गरी निर्माण कार्य अगाडि बढाएको थियो ।’ एमसिसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले प्रसारण लाइनको नेपालतर्फको खण्ड सफलतापूर्वक सम्पन्न गर्न योगदान दिनुहुनेहरूप्रति आभार व्यक्त गर्दै भन्नुभयो, ‘यस निर्माण कार्य सम्पन्न भएको खुसियाली मनाउँदै गर्दा म नेपाल सरकार, विद्युत् प्राधिकरण, एमसिए-नेपालको सञ्चालक समिति तथा टोली, निर्माण व्यवसायी तथा परामर्शदाताहरू, स्थानीय सरकारहरू र सबैभन्दा महत्त्वपूर्ण समूहका रूपमा आयोजना कार्यान्वयन अवधिभर सहयोग गर्नुका साथै सहभागिता जनाउने स्थानीय समुदायहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु । साझा लक्ष्य प्राप्तिका लागि एकजुट भएर काम गर्दा कस्तो परिणाम हासिल गर्न सकिन्छ भन्ने कुराको यो उपलब्धि एक ज्वलन्त उदाहरण हो ।’
नेपालतर्फको १८ किलोमिटर प्रसारण लाइन खण्ड पूरा भएसँगै सीमापार प्रसारण लाइनअन्तर्गत एमसिए-नेपालबाट हुनुपर्ने निर्माण कार्य सम्पन्न भएकाले अब उक्त प्रसारण लाइनमा विद्युत् प्रवाह गरी सञ्चालनमा ल्याउनुपूर्व नेपाल-भारत सीमापार विद्युत् प्रवाह गर्न आवश्यक कार्य एवं स्वीकृति प्राप्तिलगायतका काम अगाडि बढाइने एमसिए नेपालले जनाएको छ । एमसिए नेपालका अनुसार उक्त आयोजनाअन्तर्गत तीन सय १५ किलोमिटर लामो उच्च-भोल्टेजयुक्त प्रसारण लाइन र तीनवटा सबस्टेसन निर्माणका साथै विद्युत् नियमन आयोग र विद्युत् प्राधिकरणलाई प्राविधिक सहयोग प्रदान गर्ने कार्यहरू भइरहेका छन् ।
त्यसो त उक्त लाइनलाई चार सय केभीमा पूर्ण क्षमतामा सञ्चालन गर्न न्यु बुटवलमा निर्माण भइरहेको चार सय केभी सबस्टेसनको निर्माण पूरा हुनुपर्छ । नेपाल-भारतबीचको पछिल्लो ऊर्जा सचिवस्तरीय बैठकमा न्यु बुटवल चार सय केभी सबस्टेसन सन् २०२७ डिसेम्बरसम्म निर्माण सम्पन्न हुने अपेक्षा गरिएको छ । नेपाल र भारतबीच उक्त अन्तरदेशीय प्रसारण मार्गलाई प्रारम्भिक चरणमा दुर्ई सय २० केभीमा सञ्चालन गर्ने सहमति भएको छ । सहमतिअनुसार डिसेम्बर २०२६ देखि मार्च २०२७ सम्म नेपालले सोही मार्गबाट बढीमा एक सय ३० मेगावाट विद्युत् आयात गर्न सक्नेछ भने अप्रिलदेखि नोभेम्बर २०२७ सम्म बढीमा दुई सय मेगावाट विद्युत् भारततर्फ निर्यात गर्न सकिनेछ । १८ किलोमिटर प्रसारण लाइन पूर्णरूपमा उपयोगमा नआए पनि सबस्टेसन तयार नहुँदासम्म त्यसको केही हिस्सा उपयोग गर्न सकिनेछ । न्यु बुटवल चार सय केभी सबस्टेसन निर्माणका लागि एमसिए-नेपालले भारतीय कम्पनी लिन्क्सन इण्डिया प्रालिसँग २०२४ मे ९ मा ठेक्का सम्झौता गरेको थियो । करिब तीन करोड ५५ लाख अमेरिकी डलरको ठेक्काको निर्माण अवधि ३९ महिना तोकिएको छ ।







न्याय परिषद्को निर्णय : तीन
आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल
आइतबारको बिदा कटौती गर्न राप्रपा