काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनबाट सिक्दै नेपालले आफ्नै इतिहास, संस्कृति र सामाजिक विशेषतामा आधारित विकास तथा समाजवादको मोडल निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
काठमाडौँमा आयोजित तेस्रो संस्करणको ‘काष्ठमण्डप संवाद’को आइतबार समापन गर्दै उहाँले सन् १९४९ को क्रान्तिपछि चीनले हासिल गरेको राजनीतिक स्थिरता, आर्थिक विकास र सामाजिक रूपान्तरणबाट नेपालले महत्वपूर्ण शिक्षा लिनुपर्ने बताउनुभएको हो ।
नेता खनालले चीनले स्थिरतालाई विकासको पहिलो र प्राथमिक सर्तका रूपमा लिएको उल्लेख गर्दै नेपालमा पनि दिगो राजनीतिक स्थिरताको आधार निर्माण गर्नु ठूलो चुनौती रहेको बताउनुभयो । स्थिरताबिना दिगो विकास सम्भव नहुने उहाँको भनाइ थियो ।
उहाँले चीनले राजनीतिक, आर्थिक तथा सामाजिक विकासका क्रममा अन्य देशको मोडलको हुबहु नक्कल नगरी आफ्नै देशको विशेषताअनुसार विकासको बाटो तय गरेको बताउनुभयो । नेपालले पनि परिवर्तन र रूपान्तरणको प्रक्रियामा आफ्नै विशेषताअनुसारको राजनीतिक तथा विकासको मोडल निर्माण गर्नुपर्ने उहाँको धारणा थियो ।
“चीनले क्रान्तिका क्रममा अन्य देशका मोडल जस्ताको तस्तै अनुकरण गरेन । आफ्नै देशको विशेषताअनुसार आफ्नै मोडल विकास गर्यो । अब हाम्रो देशमा पनि परिवर्तन र रूपान्तरणका प्रक्रिया अघि बढाउँदा नेपाली विशेषताकै बाटो पत्ता लगाउन सक्नुपर्छ,” उहाँले भन्नुभयो ।
समाजवाद निर्माणका क्रममा पनि चीनले सोभियत सङ्घ तथा पूर्वी युरोपका मुलुकको मोडलको हुबहु अनुकरण नगरेको उहाँले उल्लेख गर्नुभयो । चीनले विकास गरेको ‘चिनियाँ विशेषताको समाजवाद’बाट नेपालले सिक्नुपर्ने भए पनि त्यसको प्रत्यक्ष नक्कल गर्न नहुने उहाँको भनाइ थियो ।
नेता खनालले नेपालले पश्चिमा लोकतन्त्रको करिब–करिब ठाडो नक्कल गरेको टिप्पणी गर्दै आफ्नै ऐतिहासिक तथा सांस्कृतिक विकासक्रमसँग जोडिएको राजनीतिक प्रणाली निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
“चीनको मोडल हामीले पछ्याउने कुरा होइन । चीनले त नपछ्याऊ भन्छ । हामीले पनि पछ्याउनु हुँदैन । हामीले आफ्नै मोडल विकास गर्ने हो,” उहाँले भन्नुभयो ।
नेपालको लामो ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक विकासक्रमलाई वर्तमान परिवर्तनका आकाङ्क्षा र राजनीतिक विचारसँग जोड्नुपर्ने उहाँको भनाइ थियो । वैदिक, किरात, बुद्धकालीन, लिच्छवि तथा खस राज्यलगायत विभिन्न कालखण्डमा विकसित नेपाली समाजका आफ्नै विशेषता रहेको उल्लेख गर्दै उहाँले ती विशेषतालाई आधार बनाएर रूपान्तरणको बाटो तय गर्नुपर्ने बताउनुभयो ।
नेता खनालले पार्टी निर्माण र सुशासनका क्षेत्रमा समेत चीनको अनुभवबाट नेपालले सिक्नुपर्ने बताउनुभयो । नेपालको आफ्नै ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक विशेषतालाई आधार बनाएर राजनीतिक रूपान्तरणको प्रक्रिया अघि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।







बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रु
कन्काइ पुल १४ वर्ष अलपत्र
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु
खर्क व्यवस्थापनमा नेपालले भुटानबाट सिक्नुपर्छ
सुनचाँदीको मूल्य घट्यो, आज प्रतिताेला