काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारीले १४औँ महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्यलाई आयोजक समितिमा समेटेर १५औँ महाधिवेशन सम्पन्न गरिने बताउनुभएको छ ।
कांग्रेसभित्र पछिल्लो समय देखिएको विवाद अन्त्य गर्दै अन्तिमसम्म सबैलाई मिलाएर महाधिवेशन सम्पन्न गर्ने प्रयास भइरहेको उहाँले बताउनुभयो । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका क्रममा उहाँले आयोजक समिति गठन गर्दा कुनै नेता वा समूहको पक्षधरतालाई आधार नबनाई १४औँ महाधिवेशनका सबै केन्द्रीय सदस्यलाई समेटिने स्पष्ट पार्नुभयो ।
नेता भण्डारीले कांग्रेस कुनै व्यक्तिको नभई विचार, इतिहास र संगठनमा आधारित पार्टी भएको बताउनुभयो । पार्टीभित्र समय–समयमा असन्तुष्टि र विवाद देखिए पनि अन्ततः सबै एक ठाउँमा आउने उहाँको दाबी थियो ।
उहाँले नेतृत्व हस्तान्तरण स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै पार्टीका कार्यकर्ताले विश्वास गरे वर्तमान सभापति गगनकुमार थापाले पार्टी सञ्चालन गर्ने बताउनुभयो । यद्यपि, नेताहरू लामो समयसम्म एउटै पदमा रहिरहने प्रवृत्तिमाथि भने उहाँले प्रश्न उठाउनुभयो ।
भण्डारीले राजनीतिक नेतृत्वले आफूले पाएका पद र अवसरलाई जनताको जीवन परिवर्तनमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । पटक–पटक प्रधानमन्त्री, सभापति वा मन्त्री बने पनि नेपाली नागरिकका छोराछोरी रोजगारीका लागि विदेश जानुपर्ने अवस्था कायमै रहे राजनीतिक नेतृत्वको भूमिकामाथि प्रश्न उठाउनुपर्ने उहाँको भनाइ थियो ।
उहाँले पछिल्लो राजनीतिक पुस्ताले विगत ३५ वर्षमा केही नभएको भन्ने दाबी गरे पनि यस अवधिमा सडक, विद्युत्, जलविद्युत्, खानेपानी, बजार तथा सुरुङमार्गलगायतका क्षेत्रमा पूर्वाधार विकास भएको बताउनुभयो । रसुवामा आएको बाढीबाट भएको क्षतिको प्रसङ्ग उल्लेख गर्दै उहाँले बाढीबाट क्षति पुगेका धेरै जलविद्युत् आयोजना तथा पूर्वाधार पछिल्ला दशकमा निर्माण भएका बताउनुभयो ।
नेता भण्डारीले अब राजनीतिक दल र नेतृत्वले आफूकेन्द्रित सोच त्यागेर ‘मबाट हामी र हामीबाट हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नुपर्ने बताउनुभयो । विगतका राजनीतिक आन्दोलनले लोकतन्त्रका लागि ठूलो त्याग गरे पनि सत्तामा पुगेपछि राजनीति व्यक्ति र परिवारकेन्द्रित भएको उहाँको टिप्पणी थियो ।
उहाँले २१औँ शताब्दीका नागरिकका बदलिँदा अपेक्षा बुझेर राजनीतिक दलहरूले आफूलाई सुधार, कार्यसम्पादन र रूपान्तरण गर्नुपर्ने बताउनुभयो । नयाँ पुस्ताको असन्तुष्टि र पछिल्ला विद्रोहले राजनीतिक दलहरूलाई परिवर्तनसँगै सम्भावित थप अराजकता नियन्त्रण गर्ने जिम्मेवारीसमेत दिएको उहाँको भनाइ थियो ।







प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै
उत्तरगयाका १६५ बाढीपीडित परिवारलाई पोखराबाट
आज ऋषिपञ्चमी : ऋषेश्वर मन्दिरमा
बाढीले क्षति पुर्याएका झोलुङ्गे पुल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रु
कन्काइ पुल १४ वर्ष अलपत्र