काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले उज्वेकिस्तानमा आयोजना हुने ४६औँ चेस ओलम्पियाडमा सहभागी हुने नेपाली राष्ट्रिय टोलीलाई शुभकामनासहित बिदाइ गर्नुभएको छ । काठमाडौंको दरबारमार्गस्थित होटल उडल्याण्डमा आयोजित कार्यक्रममा मुख्यमन्त्री थापामगरले नेपाली खुला तथा महिला राष्ट्रिय टोलीलाई खेल पोशाकसहित आवश्यक सामग्री हस्तान्तरण गर्दै सफलताको शुभकामना दिनुभएको हो ।
सो अवसरमा मुख्यमन्त्री थापामगरले नेपाली टोलीले ओलम्पियाडमा पदक हासिल गर्न सके बागमती प्रदेश सरकारले विशेष व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीको मनोबल उच्च राख्न राज्यका तर्फबाट आवश्यक सहयोग हुनुपर्ने बताउनुभयो ।
उज्वेकिस्तानमा हुने ओलम्पियाडमा खुलातर्फ २०८ तथा महिलातर्फ १९१ राष्ट्रको सहभागिता रहनेछ । प्रतियोगितामा नेपाल दुवै विधातर्फ समूह ‘डी’ मा प्रतिस्पर्धा गर्नेछ ।
नेपाल बुद्धिचाल महासंघले नेपाली खुला तथा महिला टोलीलाई पछिल्लो ४५ दिनदेखि विशेष बन्द प्रशिक्षणमा राखेर प्रतियोगिताका लागि तयारी गराएको जनाएको छ । टोलीले उच्च मनोबलका साथ तयारी पूरा गरेको महासंघले जनाएको छ ।
कजाकिस्तानका अन्तर्राष्ट्रिय मास्टर किरिल कुदेरिनोभको प्रशिक्षण तथा कप्तानीमा रहेको नेपाली पुरुष टोलीमा एफएम रूपेश जयसवाल, सीएम सुश्रुत दाहाल, पुरुषोत्तम सिलवाल, आशिष फुँयाल र राजन सुवेदी रहनुभएको छ ।
त्यस्तै, एफएम रिजेन्द्र राजभण्डारीको प्रशिक्षण तथा कप्तानीमा रहेको महिला टोलीमा कृतिसरा अधिकारी, पूजा भण्डारी, एन्जेल महर्जन, निहाना श्रेष्ठ र सिन्दिरा जोशी सहभागी हुनुहुन्छ ।
महासंघका कार्यवाहक कोषाध्यक्ष आईए निरञ्जन प्रजापति निर्णायकका रूपमा तथा प्रवक्ता राजु ताम्राकार र सल्लाहकार रघुनाथ महर्जन पनि टोलीसँगै उज्वेकिस्तान प्रस्थान गर्नुहुनेछ ।
फिडेको विशेष निमन्त्रणामा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामा भने फरक क्षमताका खेलाडीको ओलम्पियाडको उद्घाटन समारोहमा सहभागी हुन यसअघि नै उज्वेकिस्तान पुगिसकेको महासंघले जनाएको छ ।
महासंघका उपाध्यक्ष श्याम ब्यञ्जनकारको अध्यक्षतामा सम्पन्न बिदाइ कार्यक्रममा बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकार, सांसद रघुनाथ महर्जन, ललितपुर महानगरपालिका-१६ का अध्यक्ष निर्मलरत्न शाक्य, रामगोपाल घिमिरेलगायतको उपस्थिति थियो ।







बाँदरले दुःख दिएपछि भोजपुरका किसान
१० खेलाडीमा सीमित सिटीको शानदार
नरमायाको जीवनमा पीडाको पुनरावृत्ति :
हरितालिका पर्व : पशुपति क्षेत्रमा
‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’
एक सय ८४ हप्तादेखि निरन्तर