काठमाडौं । लेखक तथा पत्रकार कमल रिजालको २१औं कृति ‘दर्शनागार : दर्शनको वैश्विक रूपरेखा’ लोकार्पण गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको हो । शिखा बुक्सले प्रकाशन गरेको ३२० पृष्ठको पुस्तकमा दर्शनसँग सम्बन्धित विभिन्न प्रामाणिक विषय समेटिएका छन् । पुस्तकमा पौरस्त्य, पाश्चात्य र इस्लामिक दर्शनसँगै अन्तरसंयोजन दर्शन तथा प्रयोगात्मक प्रश्नवादी दर्शनलगायत विषय समावेश छन् ।
लेखक रिजालले करिब दश वर्षको अध्ययन, चिन्तन र अनुसन्धानपछि पुस्तक तयार पारेको बताउनुभयो । उहाँका अनुसार पुस्तकका पूर्वार्धका तीन खण्ड सम्बन्धित दर्शनका मूल ग्रन्थबाट उद्धृत सामग्रीमा आधारित छन् । अन्तरसंयोजन र प्रयोगात्मक प्रश्नवादी दर्शन भने पौरस्त्य, पाश्चात्य तथा इस्लामिक दर्शनको समन्वय गर्दै समीक्षा र विश्लेषणका आधारमा तयार पारिएको उहाँले बताउनुभयो ।
साहित्यकार डा.नवराज लम्सालले पौरस्त्य दर्शन निर्माणको प्रमुख आधार वेद रहेको उल्लेख गर्दै ‘दर्शनागार’ले मानिसलाई आफ्नै कर्ममाथि प्रश्न गर्न प्रेरित गर्ने बताउनुभयो । पुस्तकमा अध्यात्म र भौतिकवादी दर्शनको तुलनात्मक अध्ययन गरिएको उल्लेख गर्दै उहाँले दुवै धारालाई समन्वय गरिएकाले कृतिलाई समन्वयवादी दर्शनको दृष्टिले पनि अध्ययन गर्न सकिने बताउनुभयो ।
पुस्तकमाथि समीक्षा गर्दै प्राडा.भागवत ढकालले पौरस्त्य दर्शनको सुरुवात नै जिज्ञासाबाट भएको बताउनुभयो । पूर्वको आध्यात्मिकता, पश्चिमको वैज्ञानिकता र नेपालको बहुसांस्कृतिकतालाई संयोजन गरेर नयाँ दर्शनको विकास गर्न सकिने उहाँले धारणा राख्नुभयो । पौरस्त्य र पाश्चात्य दर्शनको तुलनात्मक अध्ययनका लागि पनि ‘दर्शनागार’ महत्त्वपूर्ण कृति भएको उहाँको भनाइ थियो ।
नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले ‘दर्शनागार’ दर्शन विधामा फरक ढंगले लेखिएको पुस्तक भएको बताउनुभयो । समीक्षक शैलेन्द्र अधिकारीले पुस्तकले आममानिसमा दर्शनप्रति जिज्ञासा बढाउने र दर्शनका विषय बुझ्न सहज बनाउने धारणा राख्नुभयो ।
शिखा बुक्सका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले रिजालका धर्म, दर्शन र अध्यात्मसम्बन्धी पुस्तक प्रकाशन गर्दै आएको बताउनुभयो । आगामी दिनमा पनि यस्ता कृति प्रकाशनलाई निरन्तरता दिने उहाँले बताउनुभयो । ‘दर्शनागार’को मूल्य ७९५ रुपैयाँ तोकिएको छ ।







आईसीयूभित्रै अन्तर्वार्ता प्रकरण संसदमा प्रवेशः
पुर्चौडीमा पहिरोले एक घर पूर्ण
पहिचान भइसकेका शव तत्काल परिवारलाई
सम्पत्ति शुद्धीकरण विभागका डिजीलाई पेस्तोल
आइतबारको बिदा कटौती गर्न राप्रपा
दाङमा आठ नाल भरुवा बन्दुक